- हाइब्रिड जातका धानप्रति किसानको आकर्षण बढ्दै गएपछि उदयपुरको मौलिक बासमती खेती नै संकटमा
उदयपुर- कुनै समय उदयपुरको भित्री मधेशका खेतमा कात्तिक नलाग्दै फैलिने रैथाने बासमती धानको सुगन्ध अहिले हराउँदै गएको छ । बढी उत्पादन दिने उन्नत र हाइब्रिड जातका धानप्रति किसानको आकर्षण बढ्दै गएपछि स्वाद र सुगन्धका कारण पहिचान बनाएको उदयपुरको मौलिक बासमती खेती नै संकटमा परेको हो ।
त्रियुगा नगरपालिका– १३ का किसान शिव दाहाल पनि उत्पादन बढाउने उद्देश्यले हाइब्रिड धानतर्फ लागेको बताउँछन् । उनका अनुसार पुराना जातका धानको तुलनामा नयाँ हाइब्रिड जातले बढी उत्पादन दिने भएकाले किसानको रोजाइ फेरिएको हो । ‘पुराना विभिन्न जातका धानभन्दा नयाँ हाइब्रिड धानको उत्पादन बढी हुन्छ । त्यसकारण धेरै किसानले हाइब्रिड जातको धान खेती गर्न थालेका छन्,’ उनले भने ।
रैथाने धानको खेती घट्नुमा उत्पादनको अन्तरसँगै खेतीयोग्य जमिनको खण्डीकरण र व्यावसायिक कृषि प्रणालीको विस्तार पनि जोडिएको छ । पहिले ठुलो क्षेत्रफलमा खेती गर्दै आएका किसानले जमिन टुक्रिँदै जाँदा र उत्पादन कम हुने भएपछि बासमती खेतीको क्षेत्रफल घटाउँदै लगेका छन् ।
त्रियुगा नगरपालिका– ३, मोतीगडाका किसान जयप्रकाश चौधरी वर्षौँदेखि बासमती खेती गर्दै आएका छन् । तर, पहिले पाँचदेखि १० बिघासम्म खेतमा लगाइने बासमती अहिले एक बिघामा समेत मुस्किलले सीमित भएको उनको अनुभव छ । ‘पहिले पाँचदेखि १० बिघासम्म खेतमा बासमती लगाउँथ्यौँ । अहिले एक बिघामा पनि मुस्किलले खेती हुन्छ,’ उनले भने, ‘पहिलेजस्तो जग्गा पनि छैन । बासमती रोप्दा उत्पादन पनि कम हुने भएपछि खेती घटाउँदै लगेका हौँ ।’
रैथाने धानको खेती घट्नुको अर्को कारण मौलिक बिउको विस्थापन हो । बजारमा बासमती नामकै उन्नत जातका बिउ उपलब्ध हुन थाले पनि तिनमा पुरानो रैथाने बासमतीको जस्तो स्वाद र सुगन्ध नपाइने किसानको अनुभव छ । त्रियुगा नगरपालिका– ३ का पूर्ववडाध्यक्ष अवधेशप्रसाद चौधरीका अनुसार बासमती, करियाकामत र चनमचुरजस्ता स्थानीय जातका धानको उत्पादन कम हुने भएकाले किसानले खेती गर्न छाडेका हुन् । पहिले घरायसी उपभोगका लागि उत्पादन गरिने रैथाने धानको सट्टा अहिले बजारमा बिक्री गर्न र बढी उत्पादन लिन सकिने जातलाई प्राथमिकता दिन थालिएको उनको भनाइ छ । ‘अहिले उच्च गुणस्तरको भन्दा धेरै उत्पादन दिने उन्नत जातको धान लगाउने चलन बढेको छ,’ उनले भने, ‘बासमती, करियाकामत र चनमचुर धेरै क्षेत्रफलमा लगाउँदा पनि उत्पादन थोरै हुने भएकाले किसानले खेती गर्न छाडेका हुन् ।’
जिल्लामा धानखेती हुने कुल १३ हजार तीन सय ८० हेक्टरमध्ये चालू वर्ष १२ हजार आठ सय ७७ हेक्टरमा धानखेती गरिएको छ । तर, कुल धानखेतीको एक प्रतिशतभन्दा पनि कम क्षेत्रफलमा मात्रै रैथाने बासमती, चनमचुरलगायत स्थानीय जातका धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र उदयपुरका वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादव बताउँछन् । ‘पहाडी महाभारत क्षेत्रमा लगाइने पोखरेली, जर्नेली, मनसरा तथा भित्री मधेशका रैथाने धानका जात हराउँदै गएका छन्,’ उनले भने ।
उन्नत जातका धानको विस्तार, खेतीयोग्य जमिनको खण्डीकरण, कम उत्पादन तथा खेतीका लागि बढी समय र स्रोत आवश्यक पर्ने अवस्थाले रैथाने धान विस्थापित हुँदै गएको यादवको भनाइ छ । उनका अनुसार बासमती र चनमचुरजस्ता रैथाने धान अन्य उन्नत जातको तुलनामा ढिलो पाक्छन् । यस्ता धानलाई बढी सिँचाइ र मल आवश्यक पर्ने भए पनि उत्पादन भने तुलनात्मक रूपमा कम हुन्छ । नयाँ जातका धानले दोब्बरसम्म उत्पादन दिने भएकाले किसानको आकर्षण त्यतातर्फ बढेको उनले बताए ।
धान उत्पादक क्षेत्र मानिने त्रियुगा, बेलका, चौदण्डीगढी, उदयपुरगढी र कटारीमा व्यापक रूपमा खेती हुने बासमती अहिले घरायसी उपभोगका लागि सीमित क्षेत्रमा खुम्चिएको छ । स्वाद, सुगन्ध र स्थानीय पहिचान बोकेको बासमती धान संरक्षण गर्न किसानलाई पुरानै खेती गर्न आग्रह गरेर मात्रै नपुग्ने जानकारहरू बताउँछन् । उनीहरूका अनुसार यसको मौलिक बिउ संरक्षण, बिउ उत्पादन तथा वितरण, सिँचाइ सुविधा, प्रांगारिक मलको प्रयोग र उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था गर्न आवश्यक छ ।
उदयपुरका किसानले लगाउने गरेको धानका जातमा मन्सुली, रामधान, सावित्री, हर्दिनाथ–६, तरहरा–२, बहुगुणी–२, सुक्खा–२ लगायतका विभिन्न प्रकारका रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।