कैलालीमा ठूला राजनीतिक दलहरूले अधिकांश तहको प्रमुखमा पुरुषलाई उम्मेदवार बनाएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएपछि गठबन्धनका तर्फबाट उपप्रमुखमा पनि पुरुषलाई नै प्राथमिकता दिएर उम्मेदवार बनाइएको छ।
गठबन्धन र एमालेबाट गरी यहाँका १३ पालिकामध्ये दुई पालिकाको प्रमुखमा मात्रै महिलाको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट कांग्रेसले लम्की–चुहा नगरपालिकाको मेयरमा सुशीला शाहीलाई उम्मेदवार बनाएको छ। लम्कीमा कांग्रेसबाट शाही र भक्तबहादुर थापाको उम्मेदवारी दर्ता भएको थियो, तर पार्टीले शाहीलाई आधिकारिक उम्मेदवारको मान्यता दिएको छ। गठबन्धनको सहमतिअनुसार सात तहको नेतृत्व पाएको कांग्रेसले लम्की–चुहाबाहेक ६ वटै तहका प्रमुखमा पुरुषलाई उम्मेदवार बनाएको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि आफ्नो भागबन्डामा परेको तहमा प्रमुखमा महिलालाई स्थान दिएका छैनन्। माओवादीले चार र समाजवादीले दुई तहको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन्। १३ वटै तहमा एकल उम्मेदवारी दिएको एमालेले एउटा तहमा मात्रै महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ। एमालेबाट कैलारी गाउँपालिकाको अध्यक्षमा झुमादेवी चौधरीले उम्मेदवारी दिएकी छन्।
एउटै पार्टीबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एउटामा महिला अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्था संविधानमा छ। तर, गठबन्धन भएपछि उपप्रमुखमा पनि महिला उम्मेदवारले प्राथमिकता पाएनन्। गठबन्धनका तर्फबाट कैलालीमा ६–६ तहको उपप्रमुखमा उम्मेदवारी दिएका कांग्रेस र माओवादीले क्रमशः तीन र दुई तहमा मात्रै महिलालाई उपप्रमुखको उम्मेदवार बनाएका छन्। समाजवादीले एक तहमा महिलालाई उपप्रमुखको उम्मेदवार बनाएको छ। केही साना दलहरूबाट भने प्रमुखमा पनि उम्मेदवारी दर्ता भएको छ।
०७४ सालको स्थानीय तह निर्वाचनबाट कैलालीका सबै पालिकामा महिला उपप्रमुखका रूपमा नेतृत्वमा रहेका थिए। त्यतिवेलाको निर्वाचनमा हरेक दलले उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए। गठबन्धन हुँदा एक तहमा एक पार्टीबाट प्रमुख र उपप्रमुखमध्ये एउटा मात्रै उम्मेदवार भएपछि दलहरूको प्राथमिकतामा महिला नपरेका हुन्।