थरीथरी उम्मेदवार, रोचक प्रतिस्पर्धा

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण

जसपाबाट श्रीमान्–श्रीमती नै मेयर–उपमेयरका उम्मेदवार

चितवनको रत्ननगर नगरपालिकामा जसपाबाट मेयर र उपमेयरमा श्रीमान्–श्रीमतीको उम्मेदवारी परेको छ । ६३ वर्षीय यदुकृष्ण भट्टले मेयर र उनकी श्रीमती ५१ वर्षीया गोमादेवी देवकोटाले उपमेयरमा मनोनयन दर्ता गराएकी हुन् ।

गोमा रत्ननगर नगरपालिकाको पूर्व नगरपरिषद् कार्यकारी सदस्य हुन् । गठबन्धनअनुसार रत्ननगर नगरपालिकामा कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयरमा उम्मेदवारी दिएका थिए ।

गठबन्धनभित्रका दलहरूको बेवास्ताका कारण आफूहरूले उम्मेदवारी दिएको भट्टले बताए । गठबन्धनको छलफलबाट सकारात्मक परिणाम आए मेयर छाड्न तयार रहेको भट्टले बताए । भट्टदम्पतीले मनोनयन दर्ताको पहिलो दिनमै उम्मेदवारी दर्ता गरेका थिए ।

सम्झना र राममणि उपाध्याय

त्यस्तै, बर्दियाको राजापुर नगरपालिकामा त श्रीमान्–श्रीमती नै उम्मेदवार छन्, त्यो पनि मेयर र उपमेयरको । राप्रपाका तर्फबाट मेयरमा राममणि उपाध्याय उम्मेदवार बनेका छन् । उनकी पत्नी सम्झना उपाध्याय उपमेयरको उम्मेदवार छिन् । सम्झनालाई पनि राप्रपाले नै उम्मेदवार बनाएको हो । 

बुहारी गाउँपालिका उपाध्यक्ष, ससुरा वडाध्यक्षका उम्मेदवार

स्थानीय निर्वाचनमा ससुरा–बुहारी फरक–फरक दलबाट उम्मेदवार बनेका छन् । बर्दियाको गेरुवा गाउँपालिका– ३ का बलबहादुर थारू माओवादीबाट वडाध्यक्षको उम्मेदवार छन् । उनकी बुहारी लक्ष्मीकुमारी चौधरी कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षकी उम्मेदवार छिन् । ०७४ को निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार रहेका बलबहादुर दुई मतले पराजित भएका थिए ।

बाँकेमा सहोदर दाजुभाइ वडाध्यक्षका प्रतिस्पर्धी

नेपालगन्ज उपमहानगरपालिका– १ को वडाध्यक्षमा सहोदर दाजुभाइले एमाले र कांग्रेसबाट उम्मेदवारी दिएका छन् । एमालेबाट भाइ प्रमोद रिजाल र कांग्रेसबाट दाइ विनोद रिजालले उम्मेदवारी दर्ता गराएका छन् । दुई छोराले फरक राजनीतिक दलबाट एउटै पदमा उम्मेदवारी दिएपछि आमा लक्ष्मी दोधारमा परेकी छिन् । सोच–विचार गरेर मतदान गर्ने उनले बताइन् ।

‘एउटै पदमा दुईजनालाई मत दिन मिल्दैन । एउटा छोरालाई मत दिने र अर्कोलाई नदिने हुने नै भयो,’ लक्ष्मीले भनिन्, ‘गम्भीर भएर सोच–विचार गरी मुटुमाथि ढुंगा राखेर मतदान गर्छु ।’ वडाध्यक्षमा उम्मेदवार दुवै छोराले आमालाई मतदान गर्ने स्वतन्त्र र नैसर्गिक अधिकार भएको बताए । जसलाई मत दिए पनि आफ्नो गुनासो नहुने उनीहरू बताउँछन् । ‘आफूलाई मन पर्ने उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार सबै नागरिकलाई छ । गोप्य मतदान भएकाले मलाई मत दिनुभएन भनेर गुनासो गर्ने ठाउँ रहँदैन,’ प्रमोदले भने । 

त्यस्तै, कोहलपुर नगरपालिका– ३ मा पनि सहोदर दाजुभाइ वडाध्यक्षको प्रतिस्पर्धा गर्दै छन् । माधव रिजाल एमालेबाट र दाइ ताराकेशव रिजाल माओवादीबाट चुनावी मैदानमा उत्रिएका छन् । यसअघि पनि माधव र ताराकेशवबीच प्रतिस्पर्धा भएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्षका प्रत्याशी माधवले माओवादीका उम्मेदवार ताराकेशवलाई एक सय ८७ मतले पराजित गरेका थिए ।

‘फरक राजनीतिक दलमा लागेपछि दाजुभाइ, बाबुछोरा, पतिपत्नीबीच हुने प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्छ,’ माधवले भने, ‘एउटै पदमा दाजुभाइको उम्मेदवारी पर्नु राजनीतिमा कुनै नौलो कुरा होइन ।’ दाजुभाइको प्रतिस्पर्धामा आमा रञ्जता रिजाललाई पनि नौलो लाग्न छाडेको छ । उनले फरक पार्टीमा लागेका दुई छोराबीच प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताइन् । ‘अघिल्लो चुनावमा भोट हाल्ने वेला असजिलो भएको थियो । यसपालिको निर्वाचनमा त मैले पनि पचाइसकेँ,’ उनले भनिन् ।

रूपन्देहीको कोटहीमाईमा वृद्ध र युवा अध्यक्ष प्रतिस्पर्धी
रूपन्देहीको कोटहीमाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा र ७० माथिका वृद्ध उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुँदै छ । अध्यक्षमा कांग्रेसबाट ७४ वर्षीय बलिराम यादव, जसपाबाट ७१ वर्षीय चन्द्रभूषण यादव र लोसपाबाट ७१ वर्षीय बालकृष्ण त्रिपाठी उम्मेदवार छन् । एमालेबाट २१ वर्षीय श्यामसुन्दर यादव पनि अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन् । 

०२९ देखि लगातार वडाध्यक्ष, अहिले फेरि उम्मेदवार

ललितपुर महानगरपालिका– १० को अध्यक्षका लागि नरसिंह व्यञ्जनकारले यसपटक पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ८२ वर्षीय उनी यसअघि पनि १० पटक वडाध्यक्ष भइसकेका छन् । उनी पहिलोपटक ०२९ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

रूपन्देहीमा ८० वर्षमाथिका सात उम्मेदवार, ७० माथिका १०५ 
रूपन्देहीमा ८० वर्षमाथिका सातजना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । रूपन्देहीको मायादेवी गाउँपालिका– १ की ८६ वर्षीया कोइली चमार जनमत पार्टीको तर्फबाट, सम्मरीमाई गाउँपालिका– ५ की ८४ वर्षीया करमैता लोध माओवादीबाट र रोहिणी गाउँपालिका– २ की ८३ वर्षीया चिसियाउन कुर्मी लोसपाबाट महिला सदस्यको उम्मेदवार छन् । त्यस्तै, सम्मरीमाई गाउँपालिका– १ का ८२ वर्षीय झिनक यादव राप्रपाबाट र सिद्धार्थ नगरपालिका– १० का ८१ वर्षीय चन्द्रिकासिंह थापा एमालेबाट वडासदस्यका उम्मेदवार छन् । सम्मरीमाई– ३ का ८० वर्षीय शिवशंकर तिवारी एकीकृत समाजवादीबाट र सम्मरीमाई– ७ का श्रीनारायण यादव कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् । जिल्लाका १६ स्थानीय तहमा पाँच हजारभन्दा बढीले उम्मेदवारी दिएका छन्, जसमध्ये ७० वर्षमाथिका एक सय पाँचजना छन् ।

See More On

सुझावित समाचार