सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १३ वटा स्थानीय तह रहेको कैलालीमा सत्तारूढ गठबन्धनका तीन दलबीच पालिका नेतृत्व भागबन्डामा सहमति जुटेको छ। कैलालीका टुंगो लाग्न १२ तहमध्ये नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई तहको नेतृत्व गर्ने गरी आइतबार मध्यराति सहमति जुटेको हो।
धनगढी उपमहानगरपालिकामा भने केन्द्रबाटै सहमति भएको थियो। कांग्रेसले योसहित कैलालीका सातवटा तहमा प्रमुख र ६ तहमा उपप्रमुख, माओवादीले चार तहमा प्रमुख र ६ तहमा उपप्रमुख तथा एकीकृत समाजवादीले दुई तहमा प्रमुख र एक तहमा उपप्रमुखमा गठबन्धनका तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने छन्।
सुदूरपश्चिममा एउटा मात्रै उपमहानगरपालिका रहेको धनगढीको मेयरमा कांग्रेसले नृपबहादुर वडलाई दोहोर्याउँदै छ। उपमेयरमा माओवादीले शान्ति अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। गत निर्वाचनमा एमालेले जितेका २४ वटा वडामा पनि गठबन्धनले भागबन्डा गरेका छन्। आठ–आठ वडा लिने गरी सहमति भएको तीन दलले जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ।

