नेकपा (एकीकृत समाजवादी)ले झापामा गठबन्धन दलले आफूमाथि अपमान गरेको आरोप लगाएको छ । सिट बाँडफाँटमा अपमान भएको भन्दै नेकपा (एस) झापाका अध्यक्ष बेदराज रेग्मीले गठबन्धनबाट बाहिरने अवस्था आउन सक्ने बताए । गठबन्धनले जिल्लाका १५ स्थानीय तहमा सिट बाँडफाँटमा नेकपा (एस)लाई कम सिट दिन खोजेको उनको आरोप छ । सुरुमा नेकपा (एस)ले एमालेले जितेका स्थानीय तहमा आफूहरूको अडान रहेको जनाएको थियो । तर, गठबन्धनका दलले त्यो सम्भव नहुने बताएपछि नेकपा (एस) पनि केही लचिलो भएको थियो । तर, पछिल्लो समय दुईवटा उपप्रमुख, उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष दिने भनेपछि नेकपा (एस)ले गठबन्धन छाड्ने चेतावनी दिएको हो ।
‘प्रतिगमनविरुद्धको शक्ति एक भएर जाने भन्ने थियो । तर, झापाको सिट बाँडफाँटमा समस्या भयो । समस्यालाई हल गर्ने गरी अघि बढ्दै थियौँ । विगतमा भएको सहमति पनि उल्ट्याउने गरी बिहीबार कांग्रेस सचिव कृष्ण हुमागाईंले एक उपप्रमख, एक अध्यक्ष र पाँच वडाध्यक्ष मात्र दिन सकिने भन्नुभयो,’अध्यक्ष रेग्मीले भने, ‘यो त अघिल्लो सहमतिविपरीत भयो भन्ने हाम्रो मान्यता हो । पाँचवटा वडा जित्नलाई गठबन्धन गर्नुपर्दैन । त्यतिका लागि त हामी आफैँ सक्षम छौँ, यसमा सहमति छैन ।’
उनले झापामा नेकपा (एस) ठूलो शक्ति नभए पनि आफ्नो मत संकलन गर्न भए पनि एक्लै चुनाव लड्न सक्ने बताए । उनले गठबन्धन तोडेको नभए पनि फेरि सहमति नभए स्थानीय रूपमा पार्टी संगठनलाई आवश्यकताअनुसार गठबन्धन गरेर अघि बढ्ने सहमति दिने उनले बताए । ‘सिंगो पाँचदलीय गठबन्धन लिएर चुनावमा जान झापामा गाह्रो भएको छ,’ उनले भने, ‘स्थानीय आवश्यकताअनुसार कतै कांग्रेस, कतै माओवादी र अन्य दलसँग पनि गठबन्धन गरेर अघि बढ्न सक्छौँ ।’गठबन्धनमा खटपट भएपछि नेकपा (एस)ले झापाका १५ वटा स्थानीय तहमा पार्टीको स्थानीय तहबाट सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिकसमेत गरेको छ ।
नेपाली कांग्रेसले भने नेकपा (एस)लाई अपमान नगरिएको दाबी गरेको छ । सुरुमा नेकपा (एसल)ले झापामा विगतमा एमालेले जितेका स्थानीय तहमा दाबी गरेको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताए । तर, नेकपा (एस)को धरातल र कांग्रेस स्थानीयस्तरका कार्यकर्ताको रिपोर्टका आधारमा त्यो नदेखिएको उनले बताए । ‘कांग्रेसका कार्यकर्ताले माओवादीसँग जाँदा केही ठीक हुन्छ भन्नुभयो । माओवादीको संगठन तलसम्म छ भन्ने जोड तलबाटै आयो,’ उनले भने, ‘स्थानीय नेताहरूले एसलाई दिँदा क्षति हुन्छ फेरि एमालेले जित्छ भन्ने आयो । प्रतिगामीलाई हराउन तलबाट अलिक दह्रो शक्तिलाई दिनुपर्छ भन्ने आयो ।’
सचिव हुमागाईंले तल्लो तहमा काम गर्ने नेता तथा कार्यकर्ताले कमजोर शक्तिलाई दिँदा भोट नहाल्ने र बदर गर्ने चेतावनी दिएको बताए । ‘उहाँहरूलाई सम्मान नै गरेको हो नि ! अर्जुनधाराको उपमेयर र कमलको उपाध्यक्ष दिएको हो । पाँचवटा वडाको वडाध्यक्ष पनि दिएको हो,’ उनले भने, ‘पाँचवटामा पनि एउटा चाहिँ जित्छन् चारवटा क्षति हुन्छ भन्ने हाम्रा कार्यकर्ताको रिपोर्ट थियो ।’
यद्यपि गठबन्धन भने नटुटेको सचिव हुमागाईंले बताए । ‘अनौपचारिक छलफलमा हामीले प्रस्ताव राख्दा गठबन्धनबाट बाहिरियौँ । हाम्रो मत हेर्न एक्लै लड्न पनि सक्छौँ। एमालेसँग मिलेर लड्छौँ भन्नुभयो । तर, गठबन्धन त टुटेको छैन । गठबन्धन टुट्न कार्यदल र गठबन्धनको दलबाट बाहिरनुपर्छ । कतै वक्तव्य पनि आएको छैन । राजनीतिमा बार्गेनिङ पनि हुन्छ,’ उनले भने ।
नेकपा माओवादी केन्द्र झापाका संयोजक अग्नि आचार्यले आत्मगत अवस्थालाई ध्यान दिएर अधिकतम सिटमा भागबन्डा गर्न खोजिएको बताए । ‘हामीले हाम्रो आत्मगत अवस्थाको खास मूल्यांकन गर्न सक्नुपर्छ । त्यसले मात्र हामीलाई जितमा पुर्याउँछ । उहाँहरू र हाम्रो जनमतले मात्र नयाँ परिवर्तनको अनुभूति गराउँछ । उहाँहरूले आत्मगत अवस्थाको मूल्यांकन गर्न नसक्नुभएको अनुभूति भएको छ,’ उनले भने, ‘उहाँहरूलाई गठबन्धनमा सहभागी भएर अघि बढ्न माओवादी केन्द्रको पनि आग्रह छ । गठबन्धनले बाहिर नजानु समेटेर लिएर जानुपर्छ भन्ने छ । आफ्नो जे धरातलीय यथार्थ हो त्यसलाई सबैले आत्मसाथ गर्नुपर्छ । अनावश्यक आकांक्षा राख्ने काममा हामी गठबन्धनको कोही लाग्नु हुँदैन ।’
जिल्लाका गठबन्धन दलले जिल्लाका १५ वटा स्थानीय तहमा सिट बाँडफाँटका लागि अध्ययन र प्रतिवेदन तयार पार्ने कांग्रेस सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा चारसदस्यीय कार्यदल बनाएको छ । कार्यादलमा माओवादी जिल्ला समन्वय सचिव मोहन टुडु, नेकपा (एस)बाट मीनमणि बराल र जनता समाजवादी पार्टीबाट गौरीमान राई छन् । कार्यदलले सिट बाँडफाँटका लागि अन्तिम तयारी गरिरहेको संयोजक हुमागाईंले बताए । यो कार्यदलमा अन्तिम टुंगो लागेपछि गठबन्धनको बैठकमा पेस गरिने उनले बताए ।उनले सिट बाँडफाँट नमिलेका वडा र स्थानीय तहमा गठबन्धनका दलबीच मित्रवत् प्रतिस्पर्धा पनि हुन सक्ने बताए ।