प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन्। स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गरे। बुधबार ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनी प्रश्न गरेका थिए।
सोही प्रश्नको जवाफ दिने क्रममा उनले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिएका हुन्। अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए।
यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो। ‘पोलिटिकल फिल्ड इज अल्वेज ओपन फर एभ्रिबडी। यो कसैको पनि ठेक्कापट्टाको विषय होइन। यो सबैका लागि खुला छ। मैदान खुला छ। यो चाहिँ ओपन म्याराथुन हो। तोकिएका खेलाडी छैनन् यसमा। सबैले यसमा भाग लिन पाउँछन्,’ उनले भने, ‘अनि एकजना भाइले सोध्नुभयो। एकजना मेहनत गर्ने मान्छे र सात करोड लिएर आयो भने के गर्नुहुन्छ ? एमालेले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन। र, यस्ता कुराहरूलाई छेउमा पनि पर्न दिँदैन। सात करोड होइन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरिद गर्न सम्भव छैन।’
अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत् खरिद गर्नेहरूको फोटोलाई लिएर भोट माग्न हिँड्ने पार्टीहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गरे। अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरूसँग अन्तर्क्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे।