कार्यकर्ता आश्वस्त पार्न संयुक्त अपिल

डिजिटल संस्करण

आपसी अविश्वास मेटाउन सत्तागठबन्धनका शीर्ष नेताहरूले संयुक्त अपिलमार्फत चुनावमा तालमेल गर्दै परस्पर सहयोगको भावनासहित जाने प्रतिबद्धता गरे पनि मापदण्ड बनाउन भने सकस 

गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको छ, मंगलबार मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ : ज्ञानेन्द्रबहादुर कार्की, समिति सदस्य तथा कांग्रेस नेता

स्थानीय चुनावमा तालमेल गर्दै परस्पर सहयोगको भावनासहित जाने प्रतिबद्धता गरेका सत्तागठबन्धनका दलहरूलाई तालमेलको मापदण्ड बनाउन भने हम्मे परेको छ । आपसी अविश्वास मेटाउन शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरे पनि तालमेलको मापदण्डबारे केही बोलेका छैनन् । 

‘देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ,’ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको अपिलमा भनिएको छ । उनीहरूले आपसी मतभेद पन्छाउँदै निर्वाचनमा होमिने उल्लेख गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन समितिको आइतबार सम्पन्न बैठकले पाँचदलीय गठबन्धनले संयुक्त अपिल जारी गर्न शीर्ष नेतालाई सुझाव दिएको थियो । अपिलले तल्लो तहसम्म कार्यकर्तालाई गठबन्धनप्रति प्रतिबद्ध गराउन सहयोग पुग्ने विश्वास नेताहरूको छ । 

एकीकृत समाजवादीका सम्मानित नेता खनालले तलैसम्म संयन्त्रमार्फत मापदण्डबारे निर्णय लिइने बताए । ‘संयुक्त आह्वानको साथसाथै तलतल कसरी सहमति कायम गर्ने त्यसका लागि तीनदेखि चार तहसम्मको संयन्त्र बनाउने विषय छलफलमा भएको छ । त्यही संयन्त्रबाट सहमति गराउने विषयमा हामी छलफलमा छौँ । उम्मेदवारको मापदण्डको विषयमा आ–आफ्नो पार्टीको आफ्नै मापदण्ड छन्,’ खनालले भने, ‘एक–आपसमा छलफल गरेर टुंगो लगाउँछौँ । उम्मेदवारहरूको मापदण्ड तय गर्ने र कुन तहबाट कसरी एक–आपसमा एकता गर्ने भन्नेबारे मंगलबार बैठक बसेर टुंगो लगाउँछौँ ।’ 

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पाँचदलीय उच्चस्तरीय संयन्त्रको बैठकमा स्थानीय तह निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र स्थानीय निर्वाचनमा पाँच दलको गठबन्धनद्वारा समर्थित उम्मेदवारलाई कसरी विजयी गराउनेबारे बृहत् रूपमा छलफल भएको बताए । उनले मंगलबार दिउँसो ४ बजे फेरि बैठक बस्ने र त्यसपछि मापदण्डबारे निष्कर्षमा पुगिने बताए । 

गठबन्धनमा रहेका दलहरूले १७ चैतमा सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँको शक्तिसन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे २२ चैतभित्र प्रतिवेदन मगाउने सहमति गरेका थिए । तर, समयमै नआएपछि २६ चैतभित्र गठबन्धनको शक्ति र अवस्थाबारे प्रतिवेदन पेस गर्न स्थानीय संयन्त्रलाई निर्देशन दिएको थियो । 

थपिएको समयमा पनि सबै जिल्लाबाट प्रतिवेदन आउन नसकेपछि ३० चैतसम्मका लागि म्याद थप गरिएको छ । यी सबै प्रतिवेदन आएपछि गठबन्धनको मापदण्डबारे ठोस निर्णय लिने नेताहरूको तयारी छ । 

चुनावी एजेन्डाबारे छलफलका लागि बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक 
कांग्रेसले चुनावी एजेन्डाबारे छलफलका लागि बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले चैत ३० गते बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी रणनीतिको विषयका एजेन्डा तय भएका छन् । 

तालमेलका लागि गठबन्धनका चार सन्देश

१. राजनीतिक परिवर्तन उल्टाउनेविरुद्ध लड्न 
पाँचदलीय गठबन्धनले नयाँ संविधान जारी भएसँगै नयाँ युगमा प्रवेश गरेको मुलुकमा समावेशिता, गणतन्त्र र स्थायित्व आए पनि त्यसलाई उल्टाउने कदम चालिएको दाबी गरेको छ । ‘परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू यो परिवर्तनविरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालतउपर खेलबाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो,’ शीर्ष नेताहरूले संयुक्त रूपमा जारी गरेको अपिलमा छ । 

२. राष्ट्रको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि 
शीर्ष नेताको अपिलमा परिवर्तनविरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको भन्दै लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षाका लागि चुनावी तालमेलको जरुरी भएको उल्लेख छ । अपिलमा भनिएको छ, ‘पाँच दलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता, उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौँ ।’

३. चुनावमा एक–अर्कालाई सहयोग गर्ने प्रण 
शीर्ष नेताहरूले अपिलमार्फत चुनावमा एक–अर्कालाई सहयोग गर्ने प्रण गरेका छन् । ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वांगीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एक–अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौँ,’ अपिलमा छ । 

४. विगत भुल्ने र भविष्य खोज्ने
पाँच दलका शीर्ष नेताले अपिलमार्फत विगत भुल्ने र भविष्य खोज्ने गरी अघि बढ्न स्थानीय नेता–कार्यकर्तालाई आह्वान गरेका छन् भने गठबन्धनका उम्मेदवार जिताउन मतदातालाई अनुरोध गरेका छन् । ‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ,’ अपिलमा छ, ‘आदरणीय जनसमुदाय व्यापक सहभागितासहित आगामी स्थानीय तहको निर्वाचन सफल पार्न पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौँ ।’

See More On

सुझावित समाचार