बेरुजु फर्स्याेटमा गम्भीर हुन सरकारी निकायहरूलाई गृहमन्त्रीको निर्देशन

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल हुने गरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् । मन्त्री खाणले बेरुजु फर्स्याेटमा गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न सम्बन्धित सबै निकायसँग आग्रह पनि गरेका छन् । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

‘नेपाल सरकारका समग्र विभागहरूलाई बेरुजु फर्स्याेटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हरहिसाब दुरुस्त राख्नका साथै बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु,’ गृहमन्त्री खाणले भने, ‘हामीकहाँ बजेट बनाउँदाखेरि पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौँ । चालू खर्चचाहिँ बढेर जान्छ । पुँजीगत खर्चचाहिँ हामीले गर्न सक्दैनौँ । अब त्यसमाथि झन् बेरुजु आएर अर्को वर्ष त्यसको निरन्तरतामा पनि कठिनाइ आउँछ । त्यसकारण पुँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ ।’

गृहमन्त्री खाणले पुँजीगत खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे ।  पुँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिने गरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको उनको भनाइ छ । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्याेट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसासमेत गरे । 

सुझावित समाचार