स्थानीय तहको निर्वाचनका लागि सत्तासीन दलहरूले सुदूरपश्चिममा जिल्लास्तरमै तालमेलको गृहकार्य थालेका छन् । केही जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय भएको छ भने केही जिल्लामा तालमेलबारे छलफल सुरु भएको छ ।
कञ्चनपुर र अछाममा गठबन्धनले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको छ । डोटीमा पनि गठबन्धन गर्ने निर्णय भएको छ । औपचारिक निर्णय गर्न बाँकी रहे पनि कैलाली, डडेल्धुरा, बझाङमा पनि गठबन्धन गरेर जान दलहरू सहमत छन् । अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तीनै दलका जिल्ला अध्यक्षले गत सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न स्थानीय तहका कमिटीहरूलाई पनि आग्रह गरेका छन् ।
कञ्चनपुरमा कांग्रेस, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको छ । ‘गठबन्धन गरेर जाने केन्द्रको निर्णयको स्वागत गर्ने र जिल्लामा पनि वडासम्मै तालमेल गर्ने निर्णय गरेका छौँ,’ माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेयले भने, ‘कुन तहमा कुन पार्टीले लिने भन्नेबारे अर्को बैठकमा छलफल हुनेछ ।’ स्थानीय तहमा राजनीतिक दलहरूको शक्तिका आधारमा सिट बाँडफाँट गर्ने दलहरूबीच सहमति छ ।
कैलालीमा गठबन्धनका दलहरू वडासम्मै गठबन्धन गरेर जान सहमत भएका छन् । बुधबार बसेको गठबन्धनको बैठकमा वडा तहसम्मै गठबन्धन गर्ने सहमति भएको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीका १३ तहमध्ये अहिले एमालेका सात, कांग्रेसका चार र माओवादीले दुई तहको नेतृत्व गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पाँच दलको बैठकले केन्द्रमा भएको चुनावी तालमेलको निर्णयको स्वागत गर्दै गठबन्धनलाई प्रभाव पार्ने अभिव्यक्ति कसैले नदिने सहमति गरेको छ । गत आइतबार बसेको गठबन्धनको बैठकको अध्यक्षता गरेका कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीले चुनावमा तालमेल गरेर जान गठबन्धनका दलहरू सहमत रहेका बताए । डोटीमा गठबन्धनका दलहरूले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । बझाङमा गठबन्धनका दलहरूबीच चुनावी तालमेलबारे छलफल सुरु भएको छ । तर, त्यहाँ भागबन्डामा विवाद देखिएकाले तालमेलको औपचारिक निर्णय भएको छैन । एकीकृत समाजवादीका जिल्ला इन्चार्ज दिलबहादुर सिंहले केन्द्रमा मापदण्ड बनेपछि जिल्लामा नेतृत्व भागबन्डा गर्न सजिलो हुने बताए । ‘गठबन्धन गरेर जान सबै सकारात्मक छौँ । कसले कहाँ, कति लिने भन्नेमा छलफल गर्दै छौँ,’ उनले भने, ‘केन्द्रमा मापदण्ड बन्दै छ, त्योअनुसार जिल्लामा अगाडि बढ्छौँ ।’
बैतडी, दार्चुला र बाजुरामा पनि तालमेलका लागि अनौपचारिक छलफल भइरहेको गठबन्धनका नेताहरूले बताएका छन् । जिल्लाहरूमा गठबन्धनबीच तालमेलको सहमति भए पनि नेतृत्व भागबन्डामा भने समस्या हुने देखिएको छ । तालमेलको निर्णय गरेका दलहरू भागबन्डाको मापदण्डबारे केन्द्रको निर्णय कुरेर बसेका छन् ।
राप्रपा र नेकपाको साथ खोज्दै एमाले
सुदूरपश्चिममा नेकपा एमालेले पनि निर्वाचनमा तालमेलका लागि राप्रपा र नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग संवाद अगाडि बढाएको छ । एमाले नेताहरूले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई भेटेर निर्वाचनमा मिलेर जाने प्रस्ताव गरेका छन् । एमाले सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत नेताहरूबीच धनगढीमा सोमबार भएको छलफलमा चुनावी तालमेलका विषयमा छलफल भएको छ । एमाले प्रदेश सचिव धर्मराज पाठकले भने, ‘सकारात्मक छलफल भयो । ठोस निर्णय भएको छैन । राप्रपासँग पनि तालमेलबारे छलफल भइरहेको छ ।’ आवश्यकता हेरेर तालमेल गरिने उनले बताए । केन्द्रीय सदस्य पुनले एमाले नेताहरूको आग्रहअनुसार चुनावमा कसरी जाने भन्नेबारे छलफल भएको बताए । ‘उहाँहरूले चुनावमा सहयोग गर्न आग्रह गर्नुभयो । छलफल ग¥यौँ, तर त्यस्तो ठोस सहमति भइसकेको छैन,’ पुनले भने । सुदूरपश्चिममा तालमेलका लागि समन्वय गर्न एमालेले प्रदेश अध्यक्ष भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।