एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन्। बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताए।
उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताए। ‘खल्तीमा कसैको पैसा हुँदैन। बैंक त्यसैकारण खोलेका हुन्। कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ। नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन,’ उनले भने, ‘बैंक पैसा दिन सक्ने अवस्थामा छैनन्। यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’
अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरे। उनले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पारे। एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको ओलीले बताए।
‘यो कुहिसकेको छ, तर कुहिएको फल पनि कुहियो भन्नेबित्तिकै खत्रक्क झर्दैन। त्यो झर्नलाई मज्जाले कुहिसक्नुपर्छ। यो सरकार कुहिँदै छ। यो झर्ने वेलातिर जाँदै छ। यो झर्छ। झर्ने समय हामीले पर्खिनुपर्छ,’ उनले भने।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।