एआइजीमा बढुवाविरुद्धको रिटमा सर्वोच्चले माग्यो सरकारको जवाफ

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्धको तीन रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलमा बोलाएको हो।

एआइजीमा बढुवाविरुद्ध डिआइजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। यसविरुद्ध कार्कीले चैत १७ मा तथा अर्याल र प्रकाशजंग कार्कीले चैत २० मा सर्वोच्चमा रिट दर्ता गराएका थिए।

गत चैत १७ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा हुनेमा धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुक रहेका छन्। सोही विषयलाई लिएर डिआइजी कार्कीसहित तीनजनाले सर्वोच्चमा रिट हालेका थिए। यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो। आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको थियो।

सुझावित समाचार