बालुवाटारमा सत्तागठबन्धनको बैठक

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण
बालुवाटारमा सत्तागठबन्धनको बैठक

फाइल तस्बिर

बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी छ । स्थानीय तहको निर्वाचनमा तालमेलमा जाने नीतिगत निर्णय लिएको पाँचदलीय गठबन्धन मंगलबारबाट तालमेलको मापदण्डबारे छलफलमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आइतबार सकिएलगत्तै मंगलबार गठबन्धनको बैठक बसेको हो । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनको बैठकमा स्थानीयबाट आएका रिपोर्टिङमाथि प्रारम्भिक छलफल हुने बताइन् । ‘मापदण्ड बनाउन स्थानीय संयन्त्रमार्फत मगाइएका रिपोर्टको मंगलबारको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुन्छ र यसको विश्लेषणका आधारमा गठबन्धनको मोडालिटीलगायतका विषयमा छलफल हुन्छ,’ पौडेलले भनिन् । 

१७ चैतमा बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको थियो । तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्ति–सन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन दिने सहमति गरेका थिए । संयन्त्रलाई २२ चैत (मंगलबार)भित्र प्रतिवेदन दिन भनिएको थियो । 

दलहरूका प्रदेशस्तरीय प्रमुख रहेको प्रदेशस्तरीय समिति, जिल्लास्तरमा जिल्लाका प्रमुखहरूको समिति र गाउँपालिकास्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्रले काम गरिरहेका छन् । ती संयन्त्रलाई सम्बन्धित प्रदेश, जिल्ला र गाउँपालिकामा पाँँच दलको अवस्था कस्तो छ, त्यसबारे केन्द्रलाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । ती प्रतिवेदनका आधारमा केन्द्रीय नेतृत्वले समग्र परिस्थितिको विश्लेषण गर्ने र थप निष्कर्षमा पुग्ने तयारी गरेको छ ।

गठबन्धनको आजकाे बैठकमा संयन्त्रमार्फत आएका रिपोर्टमाथि अध्ययन–विश्लेषण हुने नेताहरूले बताएका छन् । ‘जिल्लाहरूबाट सकारात्मक रिपोर्टिङ भएको छ, तालमेलको विश्वासिलो आधार बनेको छ । केन्द्रले आवश्यक समन्वय गर्छ,’ जनमोर्चा उपाध्यक्ष पौडेलले भनिन् । 

See More On

सुझावित समाचार