हिमाली भेगका महिला : घरको नेतृत्व मात्रै होइन, आर्थिक उपार्जन हुने व्यवसायसमेत आफैँ गर्छन्

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेकी देकी तामाङको सातजनाको परिवार छ । उनी विवाह गरेर श्रीमान्को घर आएको तीन दशक बितिसकेको छ । विवाह गरेर आउनुअघिसम्म उनकी सासूले घरव्यवहार चलाउने, खर्च कहाँ कति गर्ने भन्ने निर्णय गर्थिन् । जब उनी विवाह गरेर आइन्, त्यसपछि जिम्मेवारी उनको काँधमा थपियो । घरव्यवहार चलाउन तथा हरेक कुराको निर्णय गर्ने घरमूली उनी बनिन् । 

देकीका श्रीमान् छोवाङ तामाङ त्यतिवेला सरकारी कर्मचारी थिए । श्रीमान्ले कमाएको रकमसमेत उनलाई दिन्थे । घरव्यवहार चलाउने, कहाँ खर्च गर्ने, के गर्ने भन्ने निर्णय गर्ने अधिकार श्रीमतीलाई नै दिएका थिए । छोवाङले सरकारी जागिरबाट अवकाश पाएको तीन वर्ष भयो । देकीले घरव्यवहार चलाउन सञ्चालन गरेको किराना पसलमा हिजोआज छोवाङले सघाइरहेका छन् । 

घरमुलीको जिम्मेवारी वहन गर्दा गौरवको अनुभूति भएको देकी बताउँछिन् । ‘विवाह गरेर आएदेखि घरव्यवहार चलाउने, खर्च कहाँ कति गर्ने सबै निर्णय मैले गरेकी छु । घर खर्च चलाउन किराना पसल सञ्चालन गरेका छौँ, श्रीमान्ले पनि केही न केही गरिरहनुभएको छ,’ उनले भनिन्, ‘पाँचजना छोरी छन्, हुर्काउने, पढाउने, समाजमा गर्नुपर्ने सबै ठाउँमा मैले गर्छु ।’ 

देकी जस्तै कर्मो तामाङ पनि घरव्यवहारसँगै खर्च गर्ने निर्णय आफैँले गर्छिन् । उनका श्रीमान् फर्निचरमा काम गर्छन् । कमाएको पैसा श्रीमतीलाई नै राख्न दिन्छन् । कर्मो भने सिजनअनुसारको तरकारीखेतीको व्यवसाय गर्छिन् । पाँचजनाको परिवार रहेको उनको श्रीमान्सँग सल्लाह त हुन्छ, तर कति खर्च गर्ने, कति बचत गर्ने, कहाँ लगानी गर्ने भन्ने निर्णय आफैँले गर्ने गरेको बताउँछिन् । ‘श्रीमान्सँग पनि सल्लाह त लिन्छु, तर तरकारी खेती गर्दा कति किन्ने, गाउँ समाजमा हुने कार्यमा के गर्ने कसरी गर्ने भन्ने निर्णय म आफैँले लिने गर्छु,’ उनले भनिन्, । 

देजेन छोमो घले टोपी, मोजा, स्विटर, झोला बुनेर त्यसबाट आएको आम्दानीले घरव्यवहार चलाउँछिन् । सँगै उनले किराना पसल पनि सञ्चालन गरेकी छन् । ‘अरूको भरमा पर्नुभन्दा आफैँले केही गर्नुपर्छ, महिलाहरूले चाहे भने घरव्यवहार चलाउन तथा हरेक कुराको निर्णय र नेतृत्व लिन सक्छन्,’ उनले भनिन् ।

रसुवाको माथिल्लो भेगमा मातृसत्तात्मक प्रणालीको झल्को 
देकी, कर्मो र देजेन उदाहरणीय पात्र मात्र हुन् । महिला घरभित्र मात्र सीमित हुनुपर्छ, कमाएर ल्याउने, घर चलाउने, कहाँ खर्च गर्ने भन्ने विषयमा पुरुषले नै निर्णय गर्छन् भन्ने मान्यता छ । तर, हिमाली जिल्ला रसुवाको माथिल्लो भेगका तामाङ समुदायका महिलाले भने यो निर्णय आफैँले गर्ने गरेका छन् । सामाजिक पाटोमा होस् या आर्थिक पाटोमा महिलाहरूले नै निर्णय गर्छन् । आवश्यक सामग्री खरिद गर्न कति खर्च गर्ने, रकम केमा लगानी गर्ने महिलाको हातमै हुन्छ । आर्थिक रूपमा महिला पुरुष नै सक्षम हुन्छन् । दुवैले केही न केही काम गरिरहेका हुन्छन् । सामान्यदेखि जोखिम मोल्ने काममा पनि महिलाहरू पछि हट्दैनन् । 

तामाङ समुदायका महिलाहरू स्यामा, पाङ्गाप, बख्खु, टोपी, झोला, पटुका बुन्ने, सिजनअनुसारको तरकारी खेती, घरेलु मदिरा बनाई बिक्री गर्ने, आवास निर्माणको क्रममा हुने कार्यमा समेत सहभागी हुने गरेका छन् । यस्ता गतिविधिबाट महिलाहरूले आर्थिक लाभ लिइरहेका हुन्छन् । पारिवारिक सल्लाह गरेरै कहाँँ खर्च गर्ने, के किन्ने, कहाँ लगानी गर्ने भन्ने विषयमा महिलाहरूले नै निर्णय गर्ने गर्दछन् । यसले मातृसत्तात्मक प्रणाली झल्कने गरेको पाइन्छ । महिलाले अनावश्यक खर्च नगर्ने हुनाले उनीहरूसँग मागेर पैसा चलाउँदा फजुल खर्चसमेत जोगिने गरेको देकी तामाङका श्रीमान् छोवाङ तामाङ बताउँछन् । ‘कमाएको पैसा राख्न दिने र चाहिएका वेला मागेर खर्च गर्ने गरेको छु, यसले फजुल खर्च हुनबाट जोगाएको छ,’ उनले भने । 

See More On

सुझावित समाचार