एमाले उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् । पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।
उनले एमाले एक्लै निर्वाचन लड्ने र ६० प्रतिशत पालिकाहरूमा जित्ने बताए । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न माओवादी केन्द्रलाई चेतावनी दिए ।
उनले भने, ‘यो स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्छ । कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । ७० प्रतिशत पालिकाहरूमा हामी एक्लै जित्छौँ । प्रतिकूलता थपिएछ भने पनि हाम्रो विजयको ग्राफ ६० प्रतिशतभन्दा तल ओर्लिन्न । हामी त्यो तहको जित हासिलको तयारी गर्दै छौँ । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहन्छु, त्यसखालको सपना नदेखे हुन्छ ।’
उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनै पनि प्रकारको संवाद नभएको दाबी गरे ।