युद्धका समयमा युद्धविरोधी मतलाई देशद्रोही करार गर्नु नौलो विषय होइन । यो महिना डेमोक्रेटिक पार्टीकी पूर्व–प्रतिनिधि तुलसी गबार्ड फक्स न्युजको टकर कार्लसनको कार्यक्रममा देखा परिन्, जहाँ दुवैले युक्रेनका घातक जैविक अनुसन्धान प्रयोगशालामा अमेरिकाले गोप्य ढंगले लगानी गरिरहेको आरोप लगाएका थिए । राजनीतिज्ञ एवं टिप्पणीकारहरूले दुवैलाई देशद्रोही करार गरेका थिए र कारबाही गरिनुपर्ने माग गरेका थिए ।
वास्तवमा सन् १९१८ मा अमेरिकाले पहिलो विश्वयुद्धमा सामेल हुनुहुन्न भनेका कारण समाजवादी नेता युजिन डेब्सलाई १० वर्षको जेल सजाय दिइएको थियो । दोस्रो विश्वयुद्ध दौरान न्याय विभागले हिटलरबाट परिचालित नभए पनि २६ जना अमेरिकी नाजी समर्थकलाई अभियोग लगाएको थियो । अमेरिकी विदेशनीतिको विरोध गर्ने महान् छन् वा घृणायोग्य छन् । जेसुकै होस्, तर यी विरोधीलाई देशद्रोही करार गरिन्छ भने त्यो गलत नै हुनेछ । यसो गर्नु नैतिक रूपमा गलत हो किनभने भाष्यजनित धम्की सजिलै कानुनी प्रताडना बन्न सक्छ । र, यो अवधारणागत रूपमा पनि किन गलत छ भने घरेलु असन्तुष्टि बिरलै विदेशी शत्रुबाट परिचालित हुन्छ । गबार्ड र कार्लसनको अलगाववादी, लोकरिझ्याइँवादी र षड्यन्त्रवादी विदेशनीतिका विचार मूलतः अमेरिकी विचार नै हुन् ।
रुस र युक्रेनबारे गबार्ड र कार्लसनले व्यक्त गरेको विचार क्रेमलिनबाट उत्पत्ति भएको होइन । यसको उत्पत्ति इराक युद्धबाट सुरु भएको हो । गबार्डले सन् २००४ मा इराकमा कार्यरत हुँदा आफ्नो व्यक्तिगत जीवन र वैश्विक दृष्टिकोण नै परिवर्तन भएको बताएकी थिइन् । त्यसयता अमेरिकी सैन्य हस्तक्षेपविरुद्ध बोल्नु उनको जीवनकै वैचारिकी बन्न पुग्यो । कहिलेकाहीँ यसले उनलाई अमेरिकाका शत्रुका अत्याचारलाई बेवास्ता गर्नसमेत प्रेरित गरेको छ । उदाहरण, उनले सिरियाको सरकारलाई युद्ध अपराधको आरोप लगाउने प्रस्तावविरुद्ध सन् २०१६ मा मतदान गरेकी थिइन् । उनका हस्तक्षेपविरोधी प्रवृत्ति जायज पनि ठहरिएका छन् । यदि ओबामा प्रशासनले सन् २०११ मा अफगानिस्तानबाट सेनाको पूर्ण फिर्तीको गबार्डको आह्वानलाई मानेका भए जित्न नसकिने युद्धमा थप अर्बौं डलर खेर जाने थिएन ।
कार्लसनको भोगाइ पनि गबार्डको भन्दा फरक छैन । इराक अतिक्रमणलाई आक्रामकतासाथ प्रोत्साहन गरेको द विक्ली स्ट्यान्डर्डमा आफ्नो व्यावसायिक जीवन सुरु गरेका उनले वासिंगटनका युद्ध उन्मादबाट धोका पाएको महसुस गरेका थिए । मेरो समर्थन ‘एक भयावह सपना जस्तै थियो र म आफ्नै विवेकविरुद्ध गएकोमा लज्जित छु’ भनेर अन्तर्वार्तामा बताएका थिए । सो अन्तर्वार्तामा युद्धविरोधी पुरातनपन्थी प्याट बुकाननलाई सार्वजनिक रूपमा आलोचना गरेकोमा माफीसमेत मागेका थिए । हुँदाहुँदा सन् २००८ को राष्ट्रपतीय चुनावमा उनले अहस्तक्षेपकारी नीति बोकेका उम्मेदवार रोन पललाई खुलेर समर्थन गरेका थिए । उनको यो विचार निर्माणमा भ्लादिमिर पुटिन जिम्मेवार छैनन् ।
दुर्भाग्य, कार्लसनले बुकाननलाई इराक मामिलामा मात्रै सही ठहर्याएनन्, उनी बुकाननको बृहत् विश्वदृष्टिकोणको एक मुखर समर्थक पनि भए, जसले गैरश्वेत आप्रवासीप्रतिको घृणालाई अमेरिकी सैन्य हस्तक्षेपसँग जोड्यो । र, डोनाल्ड ट्रम्प निर्वाचित भएपछि कार्लसन टेलिभिजनमा नश्लभेद फैलाउने सबैभन्दा प्रभावशाली व्यक्ति बन्न पुगे । उनले हंगेरीका अधिनायकवादी एवं जातिवादी प्रधानमन्त्री भिक्टर ओर्बनको प्रशंसा गरेका छन् र सर्वोच्च अदालतमा न्यायाधीश केटन्जी ब्राउन ज्याक्सनको मनोनयनले अमेरिकालाई ‘रुवान्डा’मा परिणत गरेको दाबी गरेका थिए । गत महिना उनले गोरा मानिसलाई नश्लभेदी नभन्ने गरेकाले पुटिन त्यति खराब मानिस होइनन् पनि भनेका थिए ।
कार्लसन र गबार्ड यस्ता अमेरिकी राजनीतिज्ञ र टिप्पणीकार हुन्, जसको अमेरिकाका च्याउसरी उम्रेका दुर्भाग्यपूर्ण युद्धप्रतिका भ्रमात्मक अनुभवले विदेशनीति तय गर्ने सम्भ्रान्त वर्गको हस्तक्षेपवादी झुकावविरुद्ध हठी ढंगले उभ्याइदिएको छ । कार्लसनले ‘बाइडेन प्रशासनले खोजेको युद्ध अन्ततः पाएको छ’ भनेका छन् भने गबार्डले ‘वास्तवमा बाइडेन प्रशासन रुसले युक्रेनमाथि आक्रमण गरोस् भन्ने चाहन्थ्यो किनभने आक्रमणले अमेरिकी सैन्य–हतियार उद्योगलाई फाइदा पुर्याइरहेको छ’ भन्ने आरोप लगाएकी थिइन् ।
कार्लसन र गबार्डका यी विचार वासिंगटनका लागि खासै महत्वको नहुन सक्छ । तर, ट्रम्पको चुनावमा देखिएझैँ अमेरिकी जनतालाई आफ्नै मुलुकका वैश्विक युद्धउन्मादी सम्भ्रान्तबाट धोका भएको छ भन्ने भाष्य फैलिएको छ । र, यसको जवाफका लागि अमेरिकाको विदेश नीति संस्थापनले कसरी लोकरिझ्याइँवादी अविश्वासलाई बढावा दिइरहेको छ भन्ने पहिचान गर्न जरुरी छ । वासिंगटनको सैन्य–हतियार उद्योगले युक्रेनमा रुसको आक्रमण गराएका होइनन्, तर बाइडेनका विदेश नीतिसम्बन्धी परामर्शदाता अधिकारी कुनै न कुनै ढंगले हतियार ठेकेदारसँग जोडिएका छन् । यो परिस्थिति अनैतिक छ भनेर स्विकार्ने थोरै मात्र नेता छन् । ठीकविपरीत वासिंगटनका रिपब्लिकन एवं डेमोक्य्राट्स सैन्य–हतियार उद्योगका कब्जामा छन् भनेर अभिव्यक्ति दिएकी गबार्डले यसअघि सैन्य–हतियार उद्योगको प्रभाव राजनीतिमा छ भन्नु मिथ्या हो भनेकी थिइन् । धेरै अमेरिकी जो कार्लसनको नश्लभेदी विचार मान्दैनन् र ती मानिस अफगानिस्तान, इराक, लिबियालगायत विनाशकारी अमेरिकी युद्धलाई समर्थन गर्नेसँग क्रुद्ध पनि रहन्छन् । र, कार्लसन यस तप्कालाई हस्तक्षेपकारी युद्धको विनाशलाई विद्वेषपूर्ण ढंगले स्मरण गराउँछन् ।
गबार्ड र कार्लसनले अमेरिकी विदेशनीतिमा व्याप्त भ्रष्टाचार एवं गैरजवाफदेहिताको वास्तविक समस्यालाई उजागर गरिदिएका छन् । यो समस्याको निवारण गरिनुपर्छ । यी दुवैलाई राष्ट्रद्रोही करार गर्नुले समस्या झन् बढ्नेछ । न्युयोर्क टाइम्सबाट