सर्लाहीमा जारी छैटाैँ राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलमा पिप्ले युवा क्लब हेटौँडा र मच्छिन्द्र फुटबल क्लब काठमाडौं भिड्ने भएका छन्। बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति फुटबल मैदानमा हुने खेल आज दिउँसो ३ बजे सुरु हुनेछ।
दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा मैदान उत्रनेछन्। खेलअघि आयोजित प्रि–म्याच कन्फरेन्समार्फत दुवै टालीले आफूहरू पूरा तयारीका साथ मैदान उत्रिन लागेको बताए।
आजको फाइनल यात्राका लागि डिफेन्डिङ च्याम्पियन पिप्लेले क्वार्टरफाइनलमा हिमालयन शेर्पा र सेमिफाइनलमा आयोजक बागमती युवा क्लबलाई पराजित गरेको थियो। ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले क्वार्टरफाइनलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र सेमिफाइनलमा सुदूरपश्चिम– ११ धनगढीलाई पाखा लगाएको थियो। दुवै टोलीले प्रि–क्वार्टरफाइनलको एक खेल वाई पाएका थिए।
आजको खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब उपाधि दोहोर्याउने दाउमा हुनेछ भने पिप्लेलाई पराजित गर्दै राजर्षि जनक कपमा नयाँ इतिहास रच्ने मच्छिन्द्रको तयारी छ। सेटका खेलाडि रहेकाले ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र केही बढी मनोबलका साथ मैदानमा देखिने अनुमान छ। मच्छिन्द्रमा विमल घर्ती मगर, सुजल श्रेष्ठ, गोलरक्षक विशाल श्रेष्ठलगायत राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीको समेत साथ रहनेछ।
यता, पिप्ले युवा क्लबले पनि आफूहरू पूरा तयारीमा रहेको बताएको छ। पिप्लेले आफूलाई कुनै पनि अवस्थामा कमजोर सावित हुन नदिने योजनामा छ। मोफसलको टिम भएकाले खेलाडीको सेट भने केही कमजोर छ। तैपनि उनीहरू सेट भइसकेको क्लबले जनाएको छ।
यस प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड १० लाख एक हजार तथा उपविजेताले पाँच लाख पाँच सय प्राप्त गर्ने आयोजक बागमती युवा क्लबले जनाएको छ। प्रतियोगितामा विभागीय ‘ए’ डिभिजन, विदेशी पाहुना र आयोजक टोलीसमेत गरी १२ टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिता बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा गत चैत २ गतेबाट सुरु भएको हो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई जनही २५–२५ हजार तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिकाभित्रका एक खेलाडीलाई बागमती राईजिङ अफ दि इयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाइकल प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।