आफू इतर पक्षमै रहेको नेता पौडेलको स्पष्टोक्ति

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण
आफू इतर पक्षमै रहेको नेता पौडेलको स्पष्टोक्ति

फाइल फाेटाे ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टी सभापति शेरबहादुर देउवाइतर पक्षमा नै रहेको बताएका छन्। शुक्रबार आफ्नो निवास बोहराटारमा आफूपक्षीय नेताहरूसँगको भेला तथा छलफलका क्रममा नेता पौडेलले आफूलाई र नेता शशांक कोइरालालाई पार्टीभित्र बाइपास गरिएको बताउँदै आफूले इतर समूहको नेतृत्व गर्ने चाहना राखेको बैठकमा सहभागी नेता बलबहादुर केसीले नयाँ पत्रिकालाई जानकारी दिए।

‘म पार्टीभित्रको इतर समूहमा नै छु। मलाई र शशांक कोइरालालाई बाइपास गरियो। इतर पक्षको नेतृत्व मैले नै गर्ने हो,’ पाैडेललाई उद्धृत गर्दै केसीले भने। इतर पक्षको नेतृत्व लिनेबारे नेता शेखर कोइरालासँग संवाद गरेर अगाडि बढ्न पौडेललाई सहभागी नेताहरूले सुझाव दिएकाे केसीले बताए।

बैठकमा अगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर अगाडि बढ्ने वा गठबन्धन नगर्ने भन्ने विषयमा पनि छलफल भएको उनले बताए। केसीका अनुसार बैठकमा सहभागी अधिकांशले गठबन्धनको उद्देश्य प्रस्ट पारेर स्थानीय तहसँग छलफल गरी पार्टीको विधान नमिचिने हिसाबले गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए। नेता पौडेलले गठबन्धनको सूत्रधार आफू भएको र केपी ओलीको ज्यादतीबाट देशलाई मुक्त बनाउन आफ्नै पहलमा गठबन्धन बनेको बताएका थिए।

सुझावित समाचार