नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा नेपालले नेता तथा कार्यकर्ताहरूलाई अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।
उनले आफ्नो शक्ति बलियो भए मात्र अरूसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको वेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको व्यक्तिलाई मात्रै उम्मेदवार उठाउनुपर्ने बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए ।
नेपालले केपी ओलीका अपराधहरूको सूची तयार पारेर जनतामाझ लैजानेसमेत बताए । उनले भने, ‘केपी ओलीका अपराध के–के हुन् ? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनविरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिस्टहरूको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने विषयको सूची नै तयार पार्नुपर्छ । एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन् । उनले जे पनि भनिदिन सक्छन् ।’
नेपालले एमाले अध्यक्ष ओलीले नै एमसिसी परियोजनामार्फत नेपाललाई इन्डाेप्यासिफिकको अंग बनाउन खोजेको आरोप पनि लगाए । आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इन्डाेप्यासिफिकको अंग बन्ने कुरा हटाएको नेपालको दाबी छ । ओली दक्षिणपन्थी अवसरवादी भासमा फसेको नेपालको आरोप छ ।
नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए । उनले केपी ओली १४ वर्षसम्म जेल बसेको र त्यसपछि केन्द्रीय कमिटीमा आएको भन्दै फुर्ती नदेखाउन चेतावनी दिए ।
फरक प्रसंगमा नेपालले शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए । उनले जनतालाई रोजगारी, सीप प्रदान गर्नेलगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि बताए ।