शिवपुरी निकुञ्जको धाप तालको पानी आगामी हिउँदबाट बागमतीमा

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

नागमतीको शिरमा १२ हेक्टर क्षेत्रफलको ताल बन्दै, वार्षिक आठ लाख ५० हजार घनमिटर पानी सञ्चय हुने

गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माणाधीन ‘धाप बाँध’को काम अन्तिम चरणमा पुगेको छ । नागमतीको शिरमा निर्माणाधीन १२ हेक्टर क्षेत्रको तालको पानी आगामी हिउँदबाट बागमतीमा मिसाइने भएको छ ।

‘बाँधसहित अन्य संरचनाको काम ९५ प्रतिशत सकिएको छ, जेठसम्म काम सकिने जानकारी आएको छ,’ अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको धाप ड्याम आयोजना प्रमुख, सिनियर डिभिजनल इन्जिनियर कृष्णप्रसाद रिजालले नयाँ पत्रिकासँग भने, ‘बर्खाको पानी तालमा संकलन हुनेछ । त्यसबोहक पानीका मुहान पनि छन् । संकलन भएको पानी हिउँद र गर्मीयाममा बागमतीमा छोडिनेछ ।’ 

सिन्धुपाल्चोक र नुवाकोटको सिमाना जोडिएको काठमाडौंको उत्तरपूर्वी भागमा ताल बनिरहेको हो । यो नागमती नदीको मुहान पनि हो । नागमती सुन्दरीजलमा आएर बागमती नदीमा मिसिन्छ । आयोजनाले धाप क्षेत्रमा निर्माण गरेको मौसम स्टेसनबाट प्राप्त तथ्यांकअनुसार यो क्षेत्रमा वार्षिक सरदर तीन हजार मिलिमिटर वर्षा हुन्छ । ८० हेक्टर क्षेत्रफलमा पैmलिएको वर्षासँगै मुहानबाट प्राप्त पानी यो तालमा सञ्चय हुनेछ । तालमा वार्षिक आठ लाख ५० हजार घनमिटर पानी सञ्चय हुने आकलन गरिएको छ, जुन पानी बागमतीमा मिसाइनेछ । 

कृष्णप्रसाद रिजाल, प्रमुख, धाप ड्याम आयोजना

बाँधसहित अन्य संरचनाको काम ९५ प्रतिशत सकिएको छ, जेठसम्म काम सकिने जानकारी आएको छ । वर्षाको पानी तालमा संकलन हुनेछ । त्यसबोहक पानीका मुहान पनि छन् । संकलन भएको पानी हिउँद र गर्मीयाममा बागमतीमा छोडिनेछ ।

यो तालको मुख्य बाँध २४ मिटर उचाइ र १७५ मिटर लम्बाइको छ, जुन बाँधबाट पानी नागमतीमा जानेछ । तर, बाँकी तीनवटा सहायक बाँधले इन्द्रावती जलाधार क्षेत्रमा पानी जानबाट रोक्नेछ । धाप रहेको यो क्षेत्र बागमती जलाधार र इन्द्रावती जलाधार क्षेत्रको पानीको प्रमुख स्रोत हो । यहाँ निकुञ्जका वन्यजन्तुलाई पानी खान मानवनिर्मित ताल पनि थियो । तर, बागमती नदी हिउँदमा सुक्खा हुने र वैशाख–जेठमा लेदो मात्र हुने भएपछि सरकारले २२ असोज ०७२ मा ५१ करोड लागतमा बाँध निर्माणका लागि ग्वाङ्जाउ–लामा–रमन जेभीसँग ठेक्का सम्झौता गरेको थियो । तर, १२ वैशाख ०७२ को भूकम्पका कारण त्यसअघिको डिजाइन नै हेरफेर गरिएपछि दुई वर्षपछि निर्माणको काम सुरु भएको थियो ।

‘यो परियोजना हाम्रा लागि सिकाइ पनि हो, कंक्रिट फेस रक फिल बाँध (सिएफआरडी) प्रविधि नेपालमा यसअघि प्रयोग भएको थिएन, त्यही भएर पनि निर्माणमा केही ढिलाइ भएको हो,’ रिजालले भने, ‘काठमाडौंको सिरानमा बन्दै गरेको ड्यामका कारण तटीय क्षेत्रमा आशंका पनि हुन सक्छ । तर, यो भूकम्प प्रतिरोधी ड्याम हो ।’

सुरुमा एउटा मात्र ताल निर्माणको योजना थियो । भूकम्पपछि डिजाइन हेरफेर गरेर दुईवटा सहायक र मझौला पोखरी निर्माण गर्ने गरी संरचना थप भएको छ । त्यसबाहेक धापमा वर्षा मापन केन्द्र, सुन्दरीजल (नागमती)मा जलमापन केन्द्र, नेपाली सेनाको ब्यारेक, चेकपोस्ट संरचना निर्माणको काम पनि परियोजनाभित्रै समेटिएका छन् । निकुञ्ज क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई रहेकाले यो तालको सुरक्षा पनि सेनाले नै लिनेछ । जलमापन केन्द्र निर्माणको काम बाँकी छ । ‘ताल र बाँध निर्माणको लागत बढेको होइन । संरचना थप गर्दा लागत बढेको हो,’ रिजालले भने ।

यसको सुरुको लागत ५१ करोड रहे पनि संरचना थप हुँदा ९० करोड पुग्ने आकलन गरिएको छ । यसअघि आयोजना निर्माणका लागि थप गरिएको म्याद गत असोजमा सकिएपछि फेरि एक वर्षका लागि थप गरिएको छ । तर, ठेकेदार कम्पनीले जेठसम्म बाँध क्षेत्रमा निर्माणको सबै काम सकिने र आगामी मनसुनको पानी सञ्चय हुने बताएको छ । आयोजनामा एसियाली विकास बैंकको ५१ करोड ऋण सहयोग छ ।

धाप तालले हिउँद र गर्मीयाममा आठ महिना थेग्ला ?


बाँध निर्माण गरी बनाइएको तालमा बर्खाका चार महिना पानी संकलन हुने र बाँकी आठ महिना बागमतीमा मिसाइने भनिएको थियो । तालमा वार्षिक आठ लाख ५० हजार घनमिटर पानी सञ्चय हुने र आठ महिना प्रतिसेकेन्ड ४० लिटर पानी बागमती नदीमा खसाल्ने योजना रहे पनि आयोजनाले रणनीति फेरबदल गरेको छ । ‘हामीले आकलन गरेभन्दा बढी पानी सञ्चय हुने देखिन्छ । तर, आठ महिना प्रतिसेकेन्ड ४० लिटरका दरले पानी खसाल्दा बागमतीलाई खासै अर्थ रहने देखिएन,’ रिजालले भने, ‘बागमती र सहायक खोलामा ढल मिसिएका छन् । माथि (मुहान क्षेत्र)को पानीले मात्र सफा पानी बग्न सक्दैन । त्यसका लागि ढल बन्द गर्नुपर्छ । अहिलेको अवस्थामा बागमतीमा धेरै पानी चाहिन्छ । हामीसँग लिमिटेसन छ ।’

ड्यामबाट प्रतिसेकेन्ड पाँच सय लिटरसम्म पानी छाड्न सकिने उपकरण जडान भएकाले हिउँद र गर्मीयामका खासखास चाडपर्वमा बढी खसाल्ने र अरू वेला आवश्यकताअनुसार पानी छाड्ने तयारी आयोजनाको छ । जलाशय क्षेत्रमा पानीको सञ्चिति घट्न नदिन यो क्षेत्रमा ९० हजार बोटबिरुवा रोप्ने लक्ष्य पनि छ ।

८० लाख घनमिटर पानी सञ्चय गर्ने नागमती ड्यामको इआइए पेस गरिँदै

सरकारले नागमतीको तल्लो क्षेत्र अर्काे ठूलो बाँध बनाएर बागमतीमा हिउँद–गर्मीयाममा पानी छाड्ने योजना बनाएको छ । यो धाप ड्यामभन्दा पाँच सय मिटर तल्लो तटमा हुनेछ, जसको उचाइ ९४.५ मिटर रहनेछ । यो तालमा ८५ लाख घनमिटर पानी सञ्चय हुने आकलन गरिएको छ ।

नागमतीको शिरमा बन्दै गरेको धाप बाँधबाट छोडिएको पानी नागमती ड्याममा जम्मा हुनेछ, त्यसबाट प्रतिसेकेन्ड चार सय लिटर पानी बागमती नदीमा खसाल्न सकिने अध्ययनबाट देखिएको छ । साथै, दुई मेगावाट जलविद्युत् आयोजनासमेत निर्माण गर्न सकिने  भनिएको छ । विद्युत् आयोजनाबाट निस्किएको पानीलाई सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन प्लान्टमा पुर्‍याउने र त्यसपछि प्रशोधन गरी खानेपानीमा प्रयोग गर्न सकिने विकल्प रहेको छ ।

तर, बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए)को काम भइरहेको आयोजना प्रमुख रिजालले बताए । ‘अघिल्लो इआइए रिप्लेस गर्नुपर्ने भएपछि काम अगाडि बढिरहेको छ, चाँडै वन तथा वातावरण मन्त्रालयमा पेस हुन्छ,’ उनले भने, ‘इआइए स्वीकृत भएपछि ठेक्काको चरणमा जान्छ ।’ तर, नागमती बाँध बन्न अझै केही वर्ष लाग्ने भएकाले त्यसअघि धाप ड्यामको पानी आगामी हिउँदबाट बागमतीमा छोडिने उनले बताए । सरकारले चालू आर्थिक वर्ष ०७८/७९ मा उपत्यकाभित्रका बागमती, विष्णुमती, इच्छुमती, कर्मनाशा, हनुमन्तेलगायत नदीको सफाइ र सुन्दरताका लागि तीन अर्ब बजेट विनियोजन गरेको छ । 

सुझावित समाचार