नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई रूपान्तरण गर्न सकिएला भनेर पार्टी एकता गरेको बताएका छन्। गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले भने, ‘ओलीलाई रूपान्तरण गर्न सकिएला भनेर एकता गर्यौँ तर त्यो सकिएन।’
उनले निर्वाचनमा अरूको भर नपर्न कार्यकर्तालाई आग्रह गरे। उनले आफ्नै शक्ति र ताकतमा भर परेर निर्वाचन लड्न आग्रह गरे।
उनले क्रान्ति एउटा निश्चित बिन्दुमा पुगेपछि पार्टीभित्र नै क्रान्तिको आवश्यकता पर्ने बताए। प्रचण्डले चिनियाँ कम्युनिस्ट आन्दोलनमा पनि माओले पार्टीभित्र एउटा ठूलो फड्कोको रूपमा सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गरेको बताए। ‘हामी थाहै नपाई विचलित भएको जस्तो, यसबाट कसरी उम्कने हो भन्ने मेसो नपाएको जस्तो देखिएको छ। पार्टीभित्रै एउटा क्रान्ति जरी छ,’ उनले भने।
जनयुद्ध सुरु गर्नुभन्दा पहिला पनि पार्टीभित्र यस्तै समस्याहरू आएको उनले बताए। जनयुद्ध सुरु गरेपछि भने त्याग, तपस्या र बलिदानको बाटो सुरु भएको प्रचण्डले स्पष्ट पारे।
‘हामीसँग न हतियार थियो न फौज थियो न त अरू कुनै शक्तिको सहयोग थियो। हामी जनताको बलमा, सही विचारको आलोकमा यहाँसम्म आइपुगेका छौँ,’ उनले भने।
शान्ति प्रक्रियासँगै पार्टीमा विभाजन सुरु भएको बताउँदै अहिले फेरि एकताको अभियान सुरु भएको बताए। ‘हामी शान्ति प्रक्रियामा आएसँगै पार्टी विभाजनको शृंखला सुरु भयो। एउटा, दुईवटा, तीनवटा कति हो कति। अहिले फेरि एकताको अभियान सुरु भएको छ। अहिले १४,१५ समूह लाइनमा छन्,‘ उनले भने।
संसद् विघटनको विरुद्धमा माइतीघर मण्डलामा पलेटी कस्दा कतिले प्रचण्ड सकियो भन्ने गरेको उनले सुनाए। तर त्यो विशाल आन्दोलन बनेर प्रतिगमन परास्त भएको उनको भनाइ छ।
‘यो पार्टी क्रान्तिकारी पार्टीकै रूपमा रूपान्तरण गर्ने वा त्यतिकै छोडिदिने?’ भन्दै उनले प्रश्न गरे। उनले पार्टीलाई क्रान्तिकारी बनाउन सम्भव भएको उल्लेख गरे। ‘पार्टीलाई क्रान्तिकारी बनाउन सम्भव छ भन्ने प्रतिगमनविरुद्धको आन्दोलनले देखायो। फलाम तातेको वेला हान्नुपर्छ, यही हो वेला भनेर हामी पार्टी निर्माणतिर लागेका हौँ,‘ प्रचण्डले भने।