हिंसाको तुलना बन्द गरौँ

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

उत्तरी गोलार्धमा भएको युक्रेन त्रासदीको जिम्मेवारी कसले लिने भन्नेमा दक्षिणी गोलार्धमा मत विभाजित छ । धेरैले रुसलाई साम्राज्यवादी अतिक्रमण र किभलाई अधीनस्थ पार्ने प्रयासका लागि दोषी देखाउँछन् भने अरूले नेटोको आक्रामक विस्तार र युक्रेनलाई सशस्त्रीकरण गरेर रूसलाई उक्साएकोमा अमेरिका र युरोपेली साझेदारलाई दोष दिन्छन् । तर, यदि ऐतिहासिक अभिलेख हेर्ने हो भने दुवै शक्ति निर्दोष छैनन् । दुवैले युक्रेनलाई नयाँ शीतयुद्धका लागि बलिको बोको बनाएका छन् । मस्को र वासिंगटन शीतयुद्ध समाप्त भएको तीन दशकपछि पनि अन्तर्राष्ट्रिय समुदायलाई ध्रुवीकरण र नियमन जारी छ । चलिआएको शीतयुद्ध विकासोन्मुख विश्वका लागि विनाशकारी साबित हुन पुग्यो ।

वास्तवमा युरोपका पुराना शक्तिलाई विस्थापित गरेर सत्तामा आएदेखि नै वासिंगटन र मस्कोले बेलायती र फ्रान्सेली रणनीति प्रयोग गर्दै साम्राज्यवादी युद्धहरू लडिरहेका छन्, जसमा गोप्य युद्ध, छद्म युद्ध, वायु युद्धका साथै सूचना र साइबर युद्ध पर्छन् । यी युद्धमा आणविक युद्धको खतरा पनि रहेको छ । विडम्बना ! वासिंगटनका आलोचक इराक, अफगानिस्तान, भियतनाम, इत्यादि मुलुकमा अमेरिकाको युद्ध र मध्यपूर्वमा इजरायलको युद्ध एवं अतिक्रमणमा समर्थनका कारण रुसी हिंसालाई जायज ठह¥याइरहेका छन् । 

यता मस्कोका आलोचक अफगानिस्तान, चेचन्या, जर्जिया, सिरिया र अन्य मुलुकमा मस्कोका रक्तपातपूर्ण युद्धलाई देखाएर अमेरिकी अतिक्रमणलाई सजिलै पुष्टि गरिरहेका छन् । तर, खार्किभ र अलेप्पोको बम विस्फोट बगदाद वा हेनोईको बम विस्फोटभन्दा कसरी भिन्न छ ? र, यी प्रभुत्ववादी विस्तार १९औँ र २०औँ शताब्दीका साम्राज्यवादी रुसी, युरोपेली र अमेरिकी युद्ध, कू, आक्रमण र कब्जाभन्दा कसरी पृथक् हुन सक्छन् र ? 

वास्तवमा ‘सभ्य उत्तरी गोलार्ध’ लामो समयदेखि हिंसात्मक रहिआएको छ, अर्थात् आफ्नै मुलुकभित्र र बाहिर पनि हिंसात्मक छ । उसो त हिंसा सभ्यताको विपरीतार्थी हो, तैपनि जति धेरै ‘सभ्य’ त्यति धेरै हिंसात्मक हुने परिस्थिति निर्माण भएको छ । उत्तरी गोलार्ध शताब्दीयौँदेखि धार्मिक, राष्ट्रवादी र वैचारिक युद्धमा आघातग्रस्त थिए । त्यसकै नतिजा दुई भयानक विश्वयुद्धको सिर्जना भयो । रक्तपात र लाखौँको सामूहिक नरसंहारका अतिरिक्त उत्तरी गोलार्धका शक्तिले निजी औपनिवेशिक युद्ध पनि गर्न सफल भएका थिए । दक्षिणी गोलार्धमा लाखौँ मारिएका थिए, जहाँ प्राचीन सभ्यतामाथि परपीडक आनन्दका साथ हमला गरिएको थियो । र, त्यतिवेलाका ठूला साम्राज्यवादी शक्ति मात्रै पनि त्रास र आतंकको कारण बनेनन् । बेल्जियम, नेदरल्यान्ड र पोर्चुगलजस्ता साना उपनिवेशक पनि कम हिंस्रक थिएनन् । 

‘पश्चिमले संसारलाई आफ्नो विचार, मूल्य वा धर्मको श्रेष्ठताले नभई संगठित हिंसा लागू गर्ने श्रेष्ठताले जितेको हो । पश्चिमाले प्रायः यो यथार्थ बिर्सिन्छ, तर गैर–पश्चिमाले कहिल्यै बिर्सिन्नन् ।’ भन्दै अमेरिकी विद्वान् स्यामुएल हन्टिङटनले आफ्नो पुस्तक ‘द क्ल्यास अफ सिभिलाइजेसन’मा पश्चिमा हिंसाका बारेमा स्पष्ट पारेका थिए । मलाई लाग्छ, धेरैले यसलाई बिर्सिसकेका छन् । र, लामा सम्झना पनि इतिहासमा साँघुरिन्छन्, जब वर्तमान भू–राजनीतिक घटनाका आवश्यक सन्दर्भ र परिप्रेक्ष्यका लागि इतिहासका राजनीतिक प्रक्रिया र ढाँचा बुझ्नुपर्ने हुन्छ । 

नश्लवाद झैँ अज्ञानताले कुनै सिमाना चिन्दैन र कुनै पेसामा पनि सीमित छैन, अर्थात् हालका प्रभावशाली मिडिया पनि अज्ञानताबाट अछुतो छैनन् । तर, फेरि वास्तविक खतरा ती मिडियामा निहित छ, जसले धेरै विषयमा राम्रो ज्ञान राख्छन्, तर दम्भी बन्न खोज्छन्, कृपाधिकारी नश्लभेदी बन्छन्, किनभने जातिवाद र युद्धले यी मिडियालाई अर्थ दिन्छन् । यीमध्ये धेरैले जानीजानी रुडयार्ड किपलिङको कुख्यात कविता ‘द ह्वाइट मेन्स बर्डन’मा निहित नश्लभेदलाई अँगालेका छन् । ‘द ह्वाइट मेन्स बर्डन’मा एक बेलायती साम्राज्यवादीले अमेरिकालाई २०औँ शताब्दीको सुरुवातीताका फिलिपिन्सलाई ‘सभ्य बनाउने’ आफ्नो उपनिवेशी दायित्व पूरा गर्न सुझाएका थिए । तर, साम्राज्यवादी किप्लिङको प्रतिकार गरेका मार्क ट्वेनलाई यी मिडियाले बिर्सिने गरेका छन् ।

  यहाँ हामी एक शताब्दीपछि यी साम्राज्यवादी शक्ति (रुस र अमेरिका) ले विगतका दुई दशकमा बारम्बार आफ्नो शक्ति र हिंसाको प्रदर्शन गरिरहेको साक्षी बसेका छौँ । निश्चित रूपमा कुनै नश्ल, धर्म वा राष्ट्रियताले हिंसा नचिन्ला, तर सामूहिक संगठित हिंसालाई अन्यका तुलनामा केही मुठीभरकाले पोसेका छन् । प्रवृत्ति दोहोर्याउने तर फरक नतिजाको अपेक्षा गर्ने यो बहुलठ्ठीपन रोक्ने समय अहिले नै हो ।

यी आक्रमणका लागि दक्षिणी गोलार्धका धेरैजसो प्रतिक्रियालाई चित्रण गर्ने मूर्खतापूर्ण ‘ह्वाटएबाउटिजम’ अर्थात् एक अपराधलाई सामान्यीकरण गर्न अर्को अपराध देखाउने प्रवृत्ति अन्त्य गर्ने समय हो । जसरी इराक, अफगानिस्तान, सिरिया, भियतनाम, फिलिपिन्स, हंगेरी, चीन, भारत, अल्जेरिया, कंगो, चिलीलगायत मुलुकमा साम्राज्यवादी अपराधबाट केही सुखद नतिजा आएन, त्यसरी नै युक्रेनी त्रासदीबाट पनि केही राम्रो हुनेछैन । यो नतिजा न पीडित न पीडक र अँध्यारोमा बसेका हामी कसैका लागि सुखद हुनेछैन ।  समय अब सोच परिवर्तनको हो ।   
अल जजिराबाट

See More On

सुझावित समाचार