- सञ्चारमाध्यमसँग समाचार सामग्री, पत्रकारका गोप्य स्रोत, अनुसन्धानका दस्ताबेज, कर्मचारीका व्यक्तिगत विवरण र पाठकको सूचना सुरक्षित राख्ने भरपर्दो प्रणाली हुनुपर्छ
डिजिटल प्रविधिको विस्तारले पत्रकारिताको स्वरूप र कार्यशैली बदलिदिएको यो समयमा समाचार संकलन, लेखन, सम्पादन, प्रकाशन र अभिलेखीकरणदेखि पाठकसँगको सम्बन्धसम्मका अधिकांश काम डिजिटल प्रणालीमा निर्भर हुनु समयको माग वा भनौँ स्वाभाविक विकास हो । प्रविधि विकाससँगै सञ्चारमाध्यमका लागि वेबसाइट, अनलाइन सर्भर, सामाजिक सञ्जाल र डिजिटल अभिलेख अनिवार्य पूर्वाधार बनेका छन् ।
तर, प्रविधिमा बढ्दो निर्भरतासँगै एउटा गम्भीर प्रश्न पनि खडा भएको छ । नेपाली मिडियाको डिजिटल सम्पत्ति साँच्चै सुरक्षित छ त ? समाचार सामग्री, पत्रकारका गोप्य स्रोत, अनुसन्धानका दस्ताबेज, कर्मचारीका व्यक्तिगत विवरण र पाठकको सूचना सुरक्षित राख्ने पर्याप्त व्यवस्था सञ्चारमाध्यमसँग छ कि छैन ? या लामो समयसम्म यसलाई थेग्न सक्ने क्षमता यसका सञ्चालकसँग छ त ? यसमा बहस छेड्नुपर्ने समय गुज्रिसकेको छ । यो अब सञ्चारमाध्यमको प्राविधिक विषय मात्र नभई पत्रकारिताको स्वतन्त्रता, विश्वसनीयता र संस्थागत अस्तित्वसँग जोडिएको चुनौती पनि हो ।
परम्परागत पत्रकारितामा समाचार कक्षमा रहेका कागजात, फोटो, भिडियो र समाचार स्रोतको सुरक्षालाई महत्व दिइन्थ्यो । तर, डिजिटल युगमा एउटा इमेल अकाउन्ट, कम्प्युटर, मोबाइल फोन वा सर्भरमाथिको अनधिकृत पहुँचले वर्षौंको अनुसन्धान, संस्थाको लगानी र संस्थागत अभिलेख जोखिममा पर्न सक्ने देखिन्छ । आजको समयमा पत्रकारले भ्रष्टाचार, अनियमितता वा शक्तिको दुरुपयोगबारे अनुसन्धान गर्दा प्राप्त गरेका गोप्य दस्ताबेज र स्रोतसँगको संवाद डिजिटल माध्यममै सुरक्षित राखेका हुन्छन् । ती विवरण ह्याकरको हातमा पुगेमा वा सरकारी निकायको हस्तक्षेपले स्रोतको पहिचान सार्वजनिक हुन सक्छ । त्यसले स्रोतलाई व्यक्तिगत, व्यावसायिक वा राजनीतिक जोखिममा पार्नुका साथै भविष्यमा सूचनादाता पत्रकारसँग सम्पर्क गर्न डराउने अवस्था सिर्जना हुन सक्छ । यसले खोज पत्रकारिताको आधार कमजोर मात्र होइन, समाचारमा नयाँ खोजी नै बन्द हुने जोखिम रहन्छ ।
विश्वका प्रतिष्ठित सञ्चारमाध्यमसमेत साइबर आक्रमणबाट सुरक्षित छैनन् भन्ने उदाहरण प्रशस्त छन् । सन् २०२२ को डिसेम्बरमा बेलायतको प्रतिष्ठित अखबार ‘द गार्जियन’माथि ‘र्यान्समवेयर’ आक्रमण भयो । आक्रमणका कारण संस्थाको प्रविधि प्रणाली प्रभावित भयो । पछि अखबारले बेलायतस्थित कर्मचारीका केही व्यक्तिगत विवरणमा अनधिकृत पहुँच पुगेको पुष्टिसमेत गरेको थियो । यो घटनाबाट साइबर आक्रमणले सञ्चारमाध्यमको दैनिक कार्य सञ्चालनमै अवरोध पुर्याउन सक्ने र वैकल्पिक व्यवस्था हुनु कति आवश्यक छ भन्ने देखायो ।
सन् २०२२ मै अमेरिकाको ‘न्युज कर्प’माथि भएको साइबर आक्रमणले अर्को जोखिम विश्व समुदायलाई देखायो । त्यसवेला वालस्ट्रिट जर्नल, न्युयोर्क पोस्टलगायत प्रकाशनसँग सम्बन्धित केही कर्मचारीका व्यावसायिक इमेल र कागजातमा साइबर आक्रमणकारीको अनधिकृत पहुँच पुगेको थियो । यसले सञ्चारमाध्यमका व्यावसायिक दस्ताबेज मात्र होइन, पत्रकारका इमेल र उनीहरूले गर्ने संवाद पनि जासुसीको निसानामा पर्न सक्ने देखाइदियो ।
यस्तै, सन् २०२४ मा बेलायती सार्वजनिक प्रसारण संस्था बिबिसीको पेन्सन योजनासँग सम्बन्धित करिब २५ हजार २९० कर्मचारी तथा पूर्वकर्मचारीका व्यक्तिगत विवरण चुहावट भएको घटना सार्वजनिक भयो । यसमा नाम, जन्ममिति, ठेगाना र राष्ट्रिय बिमा नम्बरजस्ता विवरण सार्वजनिक भएका थिए । यो घटना समाचार सामग्रीको चोरी नभए पनि सञ्चारमाध्यमसँग सम्बन्धित प्रशासनिक र व्यक्तिगत डाटा कति संवेदनशील हुन्छन् भन्ने बुझ्न पर्याप्त छ । त्यस्तै, सन् २०२१ मा सार्वजनिक भएको ‘पेगासस’ प्रकरणले पत्रकारको मोबाइल फोनसमेत जासुसीको माध्यम बन्न सक्ने देखायो । पेगासस प्रोजेक्टअन्तर्गत १० देशका १७ सञ्चार संस्थाका ८० भन्दा बढी पत्रकारले सहकार्य गरेर गरेको अनुसन्धानले पत्रकार, अधिकारकर्मी र राजनीतिक व्यक्ति निगरानीको सम्भावित निसानामा रहेको खुलासा गरेको थियो । कतिपय फोनमा गरिएको प्राविधिक परीक्षणले ‘स्पाइवेयर’ संक्रमणसमेत पुष्टि गरेको थियो ।
यी त अन्तर्राष्ट्रिय घटना भए नेपालमै पनि सञ्चारगृहका अगाडि सवारी साधन तेर्स्याएर सञ्चारमाध्यमलाई तर्साउन खोज्नु र त्यसको केही समयपछि समाचार स्रोत पहिचानका नाममा सञ्चारमाध्यममा धरपकड हुनुले पनि साइबर सुरक्षा मात्र नभई सुरक्षा दिनुपर्ने राज्यले समेत सञ्चारमाध्यमका डाटा जोखिममा पार्न सक्छन् भन्ने देखाउँछ ।
साइबर आक्रमणका उद्देश्य एउटै हुँदैनन्, कतिपय आक्रमण आर्थिक लाभका लागि हुन्छन् । कतिपय आक्रमण जासुसी, सूचना चोरी, प्रतिस्पर्धीलाई कमजोर बनाउने वा राजनीतिक तथा व्यावसायिक स्वार्थ पूरा गर्ने उद्देश्यले गरिन्छन् । पछिल्लो समय एआईको प्रयोगबाट नक्कली इमेल, आवाज र सन्देश तयार पारेर झुक्याउने प्रवृत्तिले पनि जोखिम थप जटिल बनाएको छ । सामान्य कर्मचारीबाट पठाइएको इमेल वास्तविक हो वा नक्कली भन्ने छुट्याउन नसक्दा संस्थाको सम्पूर्ण प्रणालीमा प्रवेश गर्ने बाटो खुल्न सक्छ मात्र एउटा ‘क्लिक’ले ।
नेपालमा पछिल्ला वर्ष अनलाइन पत्रकारिताको विस्तार भएजस्तो त देखिन्छ । साथै, सञ्चारमाध्यमले ठुलो मात्रामा डिजिटल सामग्री उत्पादन गरेको पनि देखिन्छ । तर, अधिकांश सञ्चारमाध्यमका वेबसाइट, सामाजिक सञ्जालका अकाउन्ट, इमेल र समाचार अभिलेख डिजिटल प्रणालीमा छन् र त्यहाँ भण्डारण गरिरहेका सामग्री विदेशी सर्भर तथा प्रणालीमा जोडिएकाले त्यसलाई लामो समय राख्न असम्भवजस्तो देखिन्छ, किनभने हरेक वर्षका पुराना सामग्री र नयाँ–नयाँ थपिएका सामग्रीले सीमित सर्भर राखेका र सीमित लगानीमा खुलेका सञ्चारमाध्यमले विदेशी सर्भरलाई पैसा तिरेर अर्काइभ गर्न सक्ने देखिँदैन । परिणामतः आजभन्दा करिब १५ वर्षअघि लेखिएका कतिपय डिजिटल सामग्री आज भेट्टाउन मुस्किल छ ।
फेरि अर्को कुरा, सञ्चारमाध्यममा वेबसाइट सञ्चालन गर्ने प्राविधिक कर्मचारी हुनु र साइबर सुरक्षा सुनिश्चित गर्ने दक्ष जनशक्ति हुनु एउटै पाटो होइन । वेबसाइट बनाउने वा सामान्य प्राविधिक समस्या समाधान गर्ने क्षमताले साइबर आक्रमण पहिचान, रोकथाम र नियन्त्रण गर्न सकिँदैन ।
नेपालका सञ्चार संस्थाले समाचार सामग्री, फोटो, भिडियो र कर्मचारीका विवरणको सुरक्षित ब्याकअप आफ्नै प्रणालीमा राखेका छन् त ? कति संस्थामा साइबर आक्रमण भएमा तत्काल प्रणाली पुनर्स्थापना गर्ने वैकल्पिक व्यवस्था छ ? पत्रकारका मोबाइल र ल्यापटपमा रहेका गोप्य स्रोत तथा अनुसन्धान सामग्री सुरक्षित राख्न संस्थागत नीति छ कि छैन ? यी प्रश्नको जवाफ खोज्ने हो भने नेपाली मिडियामा डाटा सुरक्षालाई प्राथमिकतामा राख्ने अभ्यास नभएको देखिन्छ ।
धेरै सञ्चारमाध्यमले प्रविधि लगानीलाई वेबसाइट निर्माण, सर्भर खरिद र सामाजिक सञ्जाल व्यवस्थापनमा सीमित राखेका छन् । तर, साइबर सुरक्षा त्यसभन्दा धेरै फराकिलो विषय हो । कमजोर पासवर्ड, एउटै पासवर्ड धेरै अकाउन्टमा प्रयोग गर्ने बानी, कर्मचारीले शंकास्पद लिंक खोल्नु, पुरानो सफ्टवेयर प्रयोग गर्नु र सबै कर्मचारीलाई एउटै तहको पहुँच दिनु पनि संस्थामाथि जोखिम बढ्नु हो । कुनै एक कर्मचारीको इमेल ‘ह्याक’ हुँदा संस्थाको सम्पूर्ण प्रणाली प्रभावित हुन सक्छ । सामाजिक सञ्जालको अकाउन्ट कब्जा गरेर गलत सूचना प्रकाशन गरियो भने त्यसको असर संस्थाको प्रतिष्ठामा पर्छ । समाचार वेबसाइटमा अनधिकृत सामग्री राखियो वा समाचार नै परिवर्तन गरियो भने पाठकको विश्वास गुम्न सक्छ ।
सञ्चारमाध्यमका सञ्चालक तथा उपल्लो तहका कर्मचारीले डाटा सुरक्षालाई संस्थागत व्यवस्थापनको अनिवार्य हिस्सा बनाउनुपर्छ । वेबसाइट, सर्भर, इमेल र सामाजिक सञ्जालका अकाउन्टमा दुई तहको प्रमाणीकरण अनिवार्य गर्नुपर्छ । समाचार सामग्री र महत्वपूर्ण दस्ताबेजको नियमित ब्याकअप राख्नुपर्छ । तर, ब्याकअप पनि मूल सर्भरमै राखियो भने आक्रमणका क्रममा दुवै नष्ट हुन सक्छन् । त्यसैले, अलग र सुरक्षित स्थानमा ब्याकअप राख्ने व्यवस्था गर्नुपर्छ । पत्रकार र सम्पादकीय टोलीले गोप्य स्रोतसँग संवाद गर्दा सुरक्षित तथा ‘इन्क्रिप्टेड’ माध्यम प्रयोग गर्नुपर्छ । कर्मचारीलाई फिसिङ, नक्कली इमेल, पासवर्ड चोरी र एआईबाट सिर्जित डिजिटल ठगीबारे नियमित तालिम दिनुपर्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको डाटा पहुँचको व्यवस्थापन हो । सञ्चारमाध्यमका सबै कर्मचारीलाई सबै सूचना र दस्ताबेजमा पहुँच दिनु आवश्यक छैन । जसलाई जुन कामका लागि जति सूचना आवश्यक छ, त्यति मात्र पहुँच दिने प्रणाली विकास गर्नुपर्छ । कर्मचारीले संस्था छाड्दा उसको डिजिटल पहुँच तत्काल बन्द गर्ने व्यवस्था मिलाउनुपर्छ । गोप्य अनुसन्धान सामग्री र संवेदनशील स्रोतसम्बन्धी विवरणलाई सामान्य समाचार अभिलेखभन्दा अलग र थप सुरक्षित राख्नुपर्छ । यसमा राज्यको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । सञ्चारमाध्यमले संकलन र प्रकाशन गर्ने सूचना सार्वजनिक महत्वका हुन्छन् । तिनको सुरक्षा नागरिकको सूचनाको अधिकारसँग पनि जोडिन्छ । सरकारले सञ्चारमाध्यमको डिजिटल पूर्वाधार संरक्षणका लागि स्पष्ट राष्ट्रिय नीति र कार्ययोजना तथा आफ्नै सर्भर सिस्टम बनाउनुपर्छ । साइबर आक्रमणमा परेका सञ्चारमाध्यमलाई तत्काल प्राविधिक सहयोग उपलब्ध गराउने संयन्त्रको विकास सरकारीस्तरबाटै हुनुपर्छ ।
नेपालमा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन, २०६३ लगायतका कानुनी व्यवस्था छन् । तर, व्यक्तिगत डाटा संरक्षण, संस्थागत जवाफदेहिता र साइबर सुरक्षा उल्लंघनपछि अपनाउनुपर्ने प्रक्रियालाई अझ प्रभावकारी बनाउन आवश्यक छ । सरकारले सञ्चारमाध्यमलाई साइबर सुरक्षा तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्नुपर्छ । तर, साइबर सुरक्षाको नाममा पत्रकारको निगरानी गर्ने, समाचार स्रोत पहिचान गर्न धम्की वा आलोचनात्मक पत्रकारितालाई नियन्त्रण गर्ने प्रयास सरकारबाटै हुनुपर्छ ।
मिडियाको डाटा सुरक्षाको बहसमा अर्को पक्ष पनि महत्वपूर्ण छ । सञ्चारमाध्यमले पाठक, ग्राहक र विज्ञापनदाताबाट संकलन गर्ने व्यक्तिगत विवरणको जिम्मेवारी लिनुपर्छ । वेबसाइटमा आउने पाठकको विवरण, इमेल सदस्यता, विज्ञापनसम्बन्धी सूचना र डिजिटल कारोबारका तथ्यांकको दुरुपयोग हुन दिनुहुँदैन । पाठकको अनुमति र स्पष्ट उद्देश्यविना व्यक्तिगत विवरण संकलन तथा प्रयोग गर्नु हुँदैन । डाटा सुरक्षा कमजोर हुँदा सञ्चारमाध्यम आफैँ अरूको गोपनीयता उल्लंघन गर्ने जोखिममा पनि पर्न सक्छन् । त्यसैले, पत्रकारिताको नैतिकता समाचारको सत्यतामा मात्र सीमित नभई सूचना र व्यक्तिगत विवरणको जिम्मेवार व्यवस्थापनसम्म विस्तार हुनुपर्छ ।
अन्ततः डाटा सुरक्षा सञ्चारमाध्यमको प्राविधिक सुविधा वा अतिरिक्त खर्चको विषय होइन, पत्रकारिताको आधारभूत पूर्वाधार हो । समाचारको विश्वसनीयता जोगाउन तथ्यको शुद्धता मात्र पर्याप्त छैन, समाचार उत्पादनदेखि प्रकाशनसम्म प्रयोग हुने डिजिटल प्रणाली पनि सुरक्षित हुनुपर्छ । पत्रकारको स्रोत सुरक्षित छैन भने पत्रकारिता सुरक्षित हुँदैन । समाचार अभिलेख सुरक्षित छैन भने संस्थाको इतिहास सुरक्षित हुँदैन । पाठकको विवरण सुरक्षित छैन भने सञ्चारमाध्यमप्रतिको विश्वास कायम रहँदैन ।
(ढुंगाना प्रविधि क्षेत्रमा कार्यरत छन्)