- धारा ५ अनुसार नेटोका कुनै सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई सबै ३२ सदस्य राष्ट्रमाथि भएको आक्रमण मानिन्छ । तर, यो स्वतः सक्रिय हुने संयन्त्र होइन । धारा ५ लाई सक्रिय गर्ने वा नगर्ने भन्ने निर्णय एक राजनीतिक प्रक्रिया हो, जसमा सबै सदस्यहरूको सहमति आवश्यक पर्छ ।
नोभेम्बर २० मा रुसले युक्रेनमा व्यापक बमबारी गर्दा पोलिस भूमिमा भएको शंकास्पद रुसी क्षेप्यास्त्र प्रहारको क्षण सुरक्षा क्यामेराहरूमा कैद भयो । आक्रमणमा कुनै चोटपटक वा क्षति भएन तर यसले ठुलो विवाद निम्त्यायो । पोल्यान्डका रक्षामन्त्री ब्लादिस्लाव कोसिनियाक–कामिस्जले तत्कालै घटनाको विरोध गरे । नोभेम्बर २० को रातभर रुसले युक्रेनमा गरेको आक्रमणका क्रममा दुईवटा क्षेप्यास्त्रहरू नोवी लिपोविक र रुडनिक नाद सानेम नामक क्षेत्रमा खसेका थिए । जबकि जेट सञ्चालित एउटा ड्रोन पोल्यान्डको दक्षिणपूर्वमा रहेको मोलोडिक्जमा खसे । घटनापछि रुसी आक्रमण जानाजानी गरिएको थियो कि थिएन भन्ने बहस सुरु भएको छ ।
पोलिस भूमिमा दुई मिसाइल र एक ड्रोन खसेको रात, रूसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठुलोमध्ये एक बमबारी गरेको थियो । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार त्यस रात रुसले चार सयभन्दा बढी ड्रोन र कम्तीमा ११० क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये २७ ब्यालिस्टिक क्षेप्यास्त्र रहेको र केही क्लस्टर ‘वारहेड’युक्त भएको बताइएको छ । युक्रेनमा भने आक्रमणबाट कम्तीमा आठ जना सर्वसाधारण मारिए भने दुई दर्जनभन्दा बढी घाइते भए ।
पहिलो होइन पोल्यान्डको हवाई क्षेत्रमा रुसी क्षेप्यास्त्र प्रवेश
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले ‘रुसले अन्तर्राष्ट्रिय उत्तेजना फैलाउने कार्य गरेको’ आलोचना गरे । रुसी आक्रमण पोल्यान्डमा युरोपेली देशहरूको संयुक्त सैन्य अभ्यास भइरहेको समयमा हुनुलाई महत्वपूर्ण मानिएको छ । नोभेम्बर ९ देखि पोल्यान्डको दक्षिणपूर्वी क्षेत्रमा ११ युरोपेली देशका सेनाहरूले अभ्यास गरिरहेका छन् । खसेका रुसी मिसाइलमध्ये एउटा त युद्धअभ्यास क्षेत्रबाट करिब ३५ किमि पर मात्र खसेको थियो ।
अभूतपूर्व दुई हप्ता लामो युरोपेली सैन्य अभ्यास खासमा युक्रेनलक्षित भएको बताइएको छ । यस अभ्यासमा सरिक फौजपछि युक्रेनमा युद्ध सकिएपछि सो देशलाई स्थिर बनाउन र यसको सेना पुनर्निर्माणका लागि तैनाथ गरिने बताइएको छ । पोल्यान्डभित्र रुसी क्षेप्यास्त्र तथा ड्रोन पसेको यो पहिलो पटक होइन । यसअघि आफ्नो हवाई क्षेत्रमा छिटपुट रुसी ड्रोन पसेपछि पोल्यान्डको वायुसेनाले सेप्टेम्बर १७ मा पोल्यान्डको हवाई क्षेत्रको पूर्वी भाग सुरक्षित गर्ने उद्देश्यले हवाई गस्ती सुरु गरेको थियो । तथापि, केहीले यसलाई रुसले नेटोको धैर्यको परीक्षण गरेको विश्लेषण गरेका छन् । पोल्यान्डका अतिरिक्त रोमानियाको हवाई क्षेत्र पनि रुसी वाहन देखिएको थियो । सम्भवतः मस्कोले नेटो देशमाथि क्षेप्यास्त्र तथा ड्रोन पठाएर ती देशले ‘धारा ५’ सक्रिय गर्ने/नगर्ने अवस्था जाँचिरहेको हुनसक्छ । नेटो गठबन्धनको धारा ५ अनुसार यदि कुनै सदस्य–राष्ट्र सशस्त्र आक्रमणमा पर्यो भने गठबन्धनका अन्य सबै सदस्यले यस कार्यलाई आफैँविरुद्धको सशस्त्र आक्रमणका रूपमा लिनेछन् ।
रुसले पोल्यान्डमा आक्रमण गर्नु एक दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत जेर्ड कुसनरले युद्धपछिको युक्रेनका लागि नेटोसरहको सुरक्षा प्रत्याभूति दिने विषयमा रुस ‘सहज’ हुनसक्ने विश्वास व्यक्त गरेका थिए । कुसनर र ट्रम्पका अर्का विशेष दूत स्टिभ विट्कफले हालैका दिनहरूमा युक्रेन र रुससँग युद्ध अन्त्य गर्नेसम्बन्धमा वार्ता गरिरहेका छन् । शान्ति स्थापनाका लागि गरिएको यो प्रयासलाई युक्रेनका युरोपेली सहयोगीहरूलाई पाखा लगाउने कदमका रूपमा हेरिएको छ ।
कुसनरको भनाइपछि बर्लिन बैठकमा भाग लिएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनको नेटो सदस्यताका विषयमा पुनः विचार गरिनुपर्ने प्रतिक्रिया दिए । लगत्तै रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले कडा प्रतिवाद गरे । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, र्याबकोभले पश्चिमी सैन्य गठबन्धनमा युक्रेनका लागि कुनै पनि प्रकारको ‘आंशिक सदस्यता’ पनि मस्कोका लागि पूर्णतः अस्वीकार्य हुने प्रतिक्रिया दिए ।
नेटोका महासचिव मार्क रुटेले आफ्नो सदस्य राष्ट्रमा भएको क्षेप्यास्त्र हमलालाई पोल्यान्डको हवाई क्षेत्रको ‘गम्भीर उल्लंघन’ बताए । बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले घटनाको विरोध गरे । त्यस्तै, जर्मनीको विदेश मन्त्रालयले पनि घटनालाई ‘रुसको निरन्तर उक्साहटको अर्को उदाहरण’ भनेको छ । अमेरिकाले कुनै प्रतिक्रिया नजनाएको भए पनि विगतमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यस्ता घुसपैठका घटना’ सामान्य भएको प्रतिक्रिया दिएका थिए ।
‘रसमुस्सेन ग्लोबल’का वरिष्ठा निर्देशक ह्यारी नेडेल्सुले घटनाप्रति पोल्यान्डले गम्भीर प्रतिक्रिया जनाएको भए पनि आक्रमणले नेटोको धारा ४ को प्रयोगको कुरा नउठाएको कुरालाई ध्यान दिनुपर्ने बताए । उता ‘क्लिन्टन इन्स्टिच्युट’का अन्तर्राष्ट्रिय राजनीतिसम्बन्धी प्राध्यापक स्कट लुकासले युरोपेली नेताहरूले सार्वजनिक रूपमा गरेको रुसको निन्दा आफैँमा मस्कोका लागि एउटा सन्देश भएको बताए । ‘युरोपेली नेताहरूले अहिले रुसका लागि एउटा सन्देश दिएका छन् ः तिम्रा हर्कत हामीबाट लुकेको छैन । तिम्रा केही क्षेप्यास्त्रले हामीलाई पूर्ण सैन्य भिडन्तमा तान्न सक्दैन,’ नेडेल्सुको विश्लेषण गरे । उनका अनुसार युरोपेलीहरूले आफ्ना स्थलसेना, वायुसेना, नौसेना र साइबर रक्षाको ‘तयारी’मार्फत ‘रक्षात्मक’ प्रतिक्रिया दिन्छन् । ‘युरोपको तयारी सन् १९८० को दशकयता अझ त्योभन्दा धेरै अघिदेखि यताकै सबैभन्दा गहन हुनेछ,’ नेडेल्सुले भने ।
अब के हुन्छ ?
पोल्यान्डमा रुसी क्षेप्यास्त्र खसेपछि एक थरीले नेटोको धारा ५ सक्रिय हुन सक्ने सम्भावनाबारे चर्चा गरे । तथापि अहिलेका लागि यसको सम्भावना देखिँदैन । धारा ५ अनुसार नेटोका कुनै सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई सबै ३२ सदस्य राष्ट्रमाथि भएको आक्रमण मानिन्छ । तर, यो स्वतः सक्रिय हुने संयन्त्र होइन । धारा ५ लाई सक्रिय गर्ने वा नगर्ने भन्ने निर्णय एक राजनीतिक प्रक्रिया हो, जसमा सबै सदस्यहरूको सहमति आवश्यक पर्छ । धारा ५ सक्रिय गर्नुअघि आक्रमण भोगेको देशले धारा ४ प्रयोग गर्न सक्छ । यसले आपत्कालीन परामर्शका लागि बैठकको व्यवस्था गर्छ । रुसी ड्रोनहरू आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि सन् २०२५ को सेप्टेम्बरमा पनि पोल्यान्डले यस्तै कदम चालेको थियो । लुकासका अनुसार, नेटो सदस्य राष्ट्रहरू युक्रेनमा रुसलाई सफल हुनबाट रोक्न चाहन्छन् भन्ने कुरा लुकेको छैन । साथसाथै उनीहरू रुससँग प्रत्यक्ष द्वन्द्व होस् भन्ने पनि चाहँदैनन् ।
नेटो अहिले एक संवेदनशील कूटनीतिक मोडमा छ । अमेरिकी दूतहरू जेर्ड कुसनर र स्टिभ विट्कफ वार्तामार्फत युक्रेन युद्धको समाधान खोज्न जोड दिइरहेका छन् । र, यस्तो बेला ‘नेटो आफू युक्रेन–रुसबिचको वार्ता बिथोल्ने पक्षका रूपमा देखिन’ चाहँदैन । विश्लेषकहरूका अनुसार, तत्कालका लागि रुस र नेटोबिच प्रत्यक्ष भिडन्त हुने सम्भावना कम छ । लुकास पनि रुस–नेटोबिचमा प्रत्यक्ष आक्रमणभन्दा पनि ‘हाइब्रिड’ युद्ध बढ्ने सम्भावना रहेको बताउँछन् । यस अन्तर्गत साइबर आक्रमण र गलत सूचनाको व्यापक विस्तारलगायका कदम समावेश हुन्छन्, जुन थप खतरनाक हुन सक्छ ।
- (स्विडेनका स्वतन्त्र पत्रकार हबिब फिल्म निर्माता र पोस्टकास्टर पनि हुन् )
- अल जजिराबाट