निर्णय गर्दै, समय टार्दै कांग्रेस : डेडलाइनभित्र बनेनन् भ्रातृ संस्थाका तदर्थ समिति

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस डेडलाइनभित्र भ्रातृ संस्थामा तदर्थ समिति गठन गर्न चुकेको छ। फागुन मसान्तभित्र १० भ्रातृ संस्थाको तदर्थ समिति हुनुपर्नेमा समिति गठन हुन नसकेको हो।

फागुन ३ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको थियो। बैठकले म्याद सकिएका भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेर ३० फागुनभित्र तदर्थ समिति बनाउने निर्णय गर्दैै यसको जिम्मेवारी बैठकले सभापति शेरबहादुर देउवालाई दिएकोे थियो। तर, संगठनमा आकांक्षी धेरै भएपछि देउवाले समयभित्रै तदर्थ समिति गठन गर्न सकेनन्।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर एमसिसी र चुनावी अभियानका कारण समयमै तदर्थ समिति बन्न नसकेको बताउँछन्। उनी यसबारेमा सभापति देउवाले सामान्य गृहकार्य गरिरहेको बताउँछन्। ‘कार्यसम्पादन समितिले यसबारे निर्णय गरेको हो। निर्णय गर्ने, कार्यान्वयन नगर्ने भन्ने हुँदैन। छिटो कार्यान्वयनमा आउनुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘पछिल्लो समय एमसिसी, चुनावी अभियानलगायतका कारणले ढिलाइ भएको हुन सक्छ। उहाँ (सभापति)ले यसमा सामान्य गृहकार्य गरिरहनुभएको छ। फाइनलाइज्ड भइसकेको छैन। कतिपय विषयमा अन्याेलकै अवस्था छ।’ उनी निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका सबै भ्रातृ संस्थामा सबैलाई जिम्मेवारी हुने गरी तदर्थ समिति बन्नुपर्ने तर्क गर्छन्।

कार्यसम्पादन समितिले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको थियो। बैठकले नयाँ गठन हुने भ्रातृ संस्थाहरूलाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने र यस अवधिमा महाधिवेशन गर्न नसक्ने कार्यसमिति स्वतः विघटन हुने निर्णय गरेको थियो।

त्यस्तै, बैठकले नेपाल दलित संघको अधिवेशन सम्पन्न भई केन्द्रीय महाधिवेशनको तयारीमा रहेकाले  चैत ७ देखि ९ सम्म महाधिवेशन गर्न निर्देशन दिएको थियो। दलित संघको अधिवेशनको तयारी भइरहेको छ। बैठकले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विधानमा उमेरहदको व्यवस्थाअनुरूप गठन गर्ने निर्णयसमेत गरेको थियो। तर, तदर्थ समितिमा उमेरहद लागू गर्ने विषयलाई लिएरसमेत अन्याेल रहँदै आएको छ।
 
कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानको समेत टुंगो लगाएको छ। कांग्रेसले नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ तथा शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको प्रस्तावित विधान टुंगो लगाएको हो। उपसभापति धनराज गुरुङका अनुसार विधान अध्ययन गरी एकरूपता दिएर पारित गरिएको छ। विधानमा सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनको समयावधि तीन वर्ष राखिएको छ भने महाधिवेशन प्रक्रिया एकै हुने र प्रतिनिधित्व समान हुने गरी अन्तिम रूप दिइएको छ। कांग्रेसले तीनै तहको निर्वाचन भएको तीन महिनाभित्र १० भ्रातृ संस्थाको महाधिवेशन गर्ने निर्णय गरेको छ। दलित संघको महाधिवेशन भने प्रक्रियामा छ।

सुझावित समाचार