रामेछापमा शृंखलाबद्ध चोरी, स्थानीय चिन्तित

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

रामेछापको मन्थली नगरपालिका– ४ सालु र गोकुलगंगा गाउँपालिका–४ बेतालीमा दुई दिनमा १३ घरमा शृंखलाबद्ध चोरीका घटना भएका छन् । मन्थली नगरपालिका–४ सालुमा घर र पसल गरी आठवटामा चोरी भएको हो । स्थानीय हरिबहादुर थापा, कृष्णबहादुर पाण्डे, हरिकृष्ण काफ्ले, चित्रबहादुर पाण्डेलगायतको घरबाट चार लाख ६५ हजार नगद र सुन गरी करिब १४ लाखबराबरको सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

गोकुलगंगा गाउँपालिका–४ बेतालीमा सहकारी संस्था गरी पाँच स्थानमा चोरी भएको छ । चोरले बेताली बचत तथा ऋण सहकारी संस्था, कृष्ण बस्नेत, विकास बुढाथोकी र राज बुढाथोकीलगायतको घरबाट करिब ६३ हजार नगद, गरगहना र पसलबाट रिचार्ज कार्डसमेत लगेको छ । रातिको समयमा घर तथा पसलमा चोरी भएपछि स्थानीयले प्रहरीमा खबर गरेका छन् ।

घटनापछि प्रहरीले चोरी भएको आसपासको क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । प्रहरीले विशेष गरी रातिको समयमा गाउँका बजारक्षेत्रमा बढी मात्रामा निगरानी राख्दै आएको छ । केही दिनअघि मन्थली नगरपालिका–४ सालुमा रहेको वडा कार्यालय र नेपाल विद्युत् प्राधिकरणको युनिट कार्यालयमा समेत तोडफोड भएको थियो । कार्यालय तोडफोडका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

गाउँमा एकपछि अर्को गर्दै चोरीका घटनामा वृद्धि भएसँगै स्थानीय रातभरि जागै बस्न थालेका छन् । दिनभर काम गरेर थकाइ लागेपछि रातिको समयमा फेरि घर चोरी हुने हो कि भन्ने चिन्ताले रातभरि जागै बसेर गस्ती गर्न थालिएको मन्थली नगरपालिका– ४ सालुका कृष्णहरि खत्रीले जानकारी दिए ।

चोरहरूले १३ वटै स्थानमा कुनै पनि सबुत–प्रमाण नछाडेकाले प्रहरीलाई चोर पत्ता लगाउन समस्या भएको छ । गोकुलगंगाको बेतालीको सहकारी संस्थामा सिसिक्यामेरा जडान गरे पनि सिसिक्यामेराको फुटेज हेर्दा चोरहरूले टाउकोमा टोपी, रातिको समयमा पनि आँखामा चस्मा, हातमा पन्जा र त्यहीअनुसारको कपडा लगाएको देखिएको प्रहरीले जनाएको छ । । सिसिक्यामेराको फुटेज हेर्दा पेसेवर चोरहरू नै रहेको पुष्टि भएकाले त्यहीअनुसार प्रहरी खोजीकार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

सुझावित समाचार