ताप्लेजुङको फुङलिङबजारस्थित कोप्चे गोसलाइनमा आगलागी हुँदा जलेर एकजनाको ज्यान गएको छ । स्थानीय रविन आङबुहाङको घरमा डेरा गरी बस्ने मैवाखोला– १ ढुंगेसाँघुकी ६७ वर्षीया जुलिमाया लिम्बूको आगोले जलेर ज्यान गएको जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणाले जानकारी दिए ।
आगोमा जलेर गम्भीर घाइते भएकी जुलिमायालाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याउनासाथ चिकित्सकले मृत्यु भएको बताएको प्रहरी प्रमुख राणाले जानकारी दिए । रविन लिम्बूको घरबाट आगलागी सुरु भएको थियो । आगोले जलेर सँगै रहेको संगिता मादेनको घरसमेत नष्ट भएको छ ।
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पहलमा अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट के-कति धनमालको क्षति भयो, त्यसको वास्तविक विवरण आइसकेको छैन ।