कार्यपालिका समावेशी भए पनि महिला मन्त्री सधैँ कम

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

०७२ मा संविधान जारी भएपश्चात् अहिलेसम्म पाँचवटा सरकार बनेका छन्, जसमा ३९ जना महिला मन्त्री तथा राज्यमन्त्री बनेका छन् । हरेक सरकारले पटक–पटक मन्त्रिपरिषद् हेरफेर गर्दै आएका छन् । संविधान जारी भएयता एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुई–दुईपटक र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकपटक प्रधानमन्त्री बनेका छन् । संविधानअनुसार २५ सदस्यीय संघीय मन्त्रिपरिषद् रहन्छ । हाल प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्मा पम्फा भुसाल, रेनुकुमारी यादव, उमा रेग्मी, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मन्त्री छन् । बोधमायाकुमारी यादव राज्यमन्त्री छिन् । देउवाले ६ जना महिलासहित २३ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरेका छन् ।

देउवाभन्दा अगाडि ओली प्रधानमन्त्री थिए । ओलीले ३ फागुन ०७४ देखि २८ असार ०७८ सम्म सरकारकोे नेतृत्व सम्हालेका थिए । ओलीले झन्डै डेढ दर्जनपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । उनको कार्यकालमा थममाया थापा, विना मगर, पद्माकुमारी अर्याल, रामकुमारी चौधरी, शिवमाया तुम्बाहाङ्फे, जुलीकुमारी महतो, विमला विक, चन्दा चौधरी, रेणुका गुरुङ, नैनकला थापा, ज्वालाकुमारी साह र आशाकुमारी विक मन्त्री बनेका थिए ।

ओलीभन्दा अगाडि देउवा प्रधानमन्त्री थिए । २४ जेठ ०७४ मा प्रधानमन्त्री बनेका देउवाले पनि पटक–पटक मन्त्रिपरिषद् हेरफेर गरे, महिला मन्त्री पनि आउने–जाने क्रम चलिरह्यो । ३ फागुन ०७४ मा उनी प्रधानमन्त्रीबाट बिदा भएका थिए । आठमहिने कार्यकालमा उनले पटक–पटक गरेर ६४ जनालाई मन्त्री बनाए । जसमध्ये ११ जना मन्त्री महिला थिए । मन्त्री बन्नेमा अम्बिका बस्नेत, आशा कोइराला, मिथिला चौधरी, कुन्तिकुमारी शाही, सीता गुरुङ, सरिता प्रसाईं, चम्पादेवी खड्का, सुमित्रा थरुनी, यशोदाकुमारी लामा, कमलादेवी शर्मा, कान्ता भट्टराई थिए ।

देउवाभन्दा अगाडि प्रधानमन्त्री थिए प्रचण्ड । प्रचण्डको मन्त्रिपरिषद्मा पाँचजना महिला मन्त्री थिए । उनले पनि विभिन्न समयमा गरिएका मन्त्रिपरिषद् फेरबदलमा सीतादेवी यादव, राधिका तामाङ, धनमाया तामाङ, सूवर्ण ज्वारचन, मिठु मल्ल मन्त्री बनेका थिए । संविधान जारी भएलगत्तै प्रधानमन्त्री बनेका ओलीले नौ महिना २५ दिनको कार्यकालमा पाँचपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनको नेतृत्वमा शान्ता मानवी, रेखा शर्मा, कुन्तिकुमारी शाही, मञ्जुकुमारी चौधरी, नरदेवी पुन मगर मन्त्री बनेका थिए ।

कार्यपालिकामा महिलाहरूको सहभागिता सन्तोषजनक भइनसकेको पूर्वमन्त्री तथा माओवादी सांसद रेखा शर्मा बताउँछिन् । ‘क्याबिनेटलाई समावेशी त बनाइयो । तर, पुरुषको तुलनामा महिला मन्त्रीहरूको संख्या कम भयो । बाध्यात्मक स्थिति भयो भने महिलाहरूको उपस्थिति ठिकठाकै देखिने भयो । विवेक प्रयोग गर्न छुट दिँदा कम भएको देखियो,’ उनले भनिन् । हरेक मन्त्रिपरिषद्मा महिलालाई अन्याय हुने गरेको कांग्रेस नेतृ एवं पूर्वमन्त्री सरिता प्रसार्इं बताउँछिन् । ‘क्याबिनेटमा महिलालाई जहिले पनि अन्याय भइरहेको छ । संविधानले समावेशिता अपनाउने त भनेको छ, तर हरेक मन्त्रिपरिषद्मा महिलाको उपस्थिति न्यून रहन्छ,’ उनले भनिन्, ‘मन्त्री पार्टीले दिने हो । त्यसकारण, दलहरू जिम्मेवार हुनुपर्छ । निर्णायक ठाउँमा महिला पुग्ने हो भने अहिलेको स्थितिमा सुधार आउला ।’

See More On

सुझावित समाचार