नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन्। रामेछापबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादी प्रवेश गर्नेहरूलाई सोमबार काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन्।
आगामी चुनावमा केन्द्रित भएर पार्टी टोलटोलमा संगठन विस्तार र परिचालनमा लागेको उनले बताए। अध्यक्ष नेपालले भने, ‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दुमा राखेर त्यसको निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरूको विस्तार गर्दै चुनावसम्बन्धी परिचालन कमिटी पनि बनाउँदै जानेछौँ। र, जो–जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ।’