मन्थली नगरपालिका– १ मा आइतबार दिउँसो ज १ त ८३१८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरचालकको घटनास्थलमा नै ज्यान गएको छ भने सहचालक घाइते भएका छन्। दुर्घटनामा परी मन्थली नगरपालिका– २ करम्बाेटका वर्ष २२ का ट्याक्टरचालक सरोज माझीको ज्यान गएको छ भने खाँडादेवी गाउँपालिका– ४ रजगाउँका सहचालक रमेश माझी घाइते भएका छन्।
घाइते माझीको हाल मन्थली अस्पतालमा उपचार भइरहेको छ। मन्थली नगरपालिका– १ बाट मन्थली– ७ भटौलीतर्फ बालुवा लिन जाँदै गरेको ट्याक्टर बडीमुहान सडकमा दुर्घटना भएको हो। तीव्र गतिका कारण ट्याक्टर सडकबाट करिब ३० मिटर तल तामाकोसी नदीमा खसेको थियो।
घटनापछि सशस्त्र प्रहरी र स्थानीहरूले सहचालकको तत्काल नै उद्धार गरेर उपचारको लागि मन्थली अस्पताल लगेका थिए। उद्धारमा खटिएका टोलीले चालक माझीलाई नभेटेपछि करिब ३ घन्टा नदीमा खोजी गर्दा उनलाई नदीभित्रै मृत अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। मृतक माझीको पोस्टमार्टमका लागि शव मन्थली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।