अनुमोदनपछि एमालेले भन्यो– एमसिसी अब कार्यान्वयन हुनुपर्छ

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

‘पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक’

अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता पास गर्ने संसदीय प्रक्रियामा सहभागी नभए पनि प्रमुख विपक्षी दल एमाले सम्झौता कार्यान्वयनको पक्षमा उभिएको छ । तर, संविधान, कानुन र संसद्को नियम मिचेर तीन वर्षअघिको मृत प्रस्ताव ब्युँताउँदै सभामुख अग्निप्रसाद सापकोटाले गैरकानुनी रूपमा पास गराएको आरोप लगाउँदै एमालेले प्रक्रियाप्रति भने आपत्ति जनाएको छ । एमसिसीमा मूकदर्शक बनेको भन्दै एमालेको आलोचना भएको थियो । 

‘एमसिसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ,’ एमसिसी अनुमोदनपछि मंगलबार पार्टीको औपचारिक धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’

सभामुखको राजीनामा पर्खिरहेका छौँ : ओली 
एमालेले सभामुख अग्निप्रसाद सापकोटा संसद् सञ्चालन गर्न असफल भएको आरोप लगाउँदै राजीनामा मागेको छ । ‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ, सभामुखको राजीनामा पर्खिरहेका छौँ, उहाँलाई संसद्बाट निष्कासन गर्नु नपरोस् भन्ने सोचिरहेका छौँ,’ अध्यक्ष ओलीले भने । सभामुखलाई हटाउन दुईतिहाइ चाहिन्छ, एमालेसँग ९८ सांसद मात्रै छन् । 

पार्टीको धारणा प्रस्ट्याउँदै अध्यक्ष केपी ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता तलमाथि नहुने गरी कार्यान्वयनमा लैजानुपर्ने पक्षमा एमाले रहेको बताए । व्याख्यात्मक घोषणासहित एमसिसी पास गर्ने सत्तागठबन्धनको कदमलाई भने ओलीले ‘फेस सेभिङ’का लागि लाज ढाक्न प्रयोग गरिएको टालोको संज्ञा दिँदै त्यसको कुनै राजनीतिक र कानुनी अर्थ नरहेको दाबी गरे । 

‘एमसिसी पारित भइसकेको छ, अब कार्यान्वयन हेर्नुपर्छ । राष्ट्रिय हित र विकासको पक्षमा, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा तलमाथि नहुने गरी कार्यान्वयन गर्नुपर्छ । त्यसमा तलमाथि भए एमालेले सहन सक्दैन,’ ओलीले भने, ‘तर, एमसिसी पास गर्न गठबन्धनले ‘फेस सेभिङ’का लागि अगाडि सारेको तथाकथित व्याख्यात्मक घोषणा लाज छोप्ने पातलो धरो मात्रै हो । नेपाली जनतालाई धोका दिने ठगी धन्दा मात्रै हो, जुन निरर्थक छ ।’

व्याख्यात्मक घोषणा जनता ढाँट्ने प्रयास
व्याख्यात्मक घोषणामार्फत सत्तापक्षले जनतालाई ढाँट्ने प्रयास गरेको भन्दै एमालेले एमसिसी स्वयंले त्यसको कुनै अर्थ नरहेको प्रस्ट्याइसकेको दाबी गरेको छ । ‘प्रतिनिधिसभाको बैठकमा प्रस्तुत ‘व्याख्यात्मक घोषणा’ शाकाहारीले ‘किताबको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि !’ भनेजस्तै हो । गठबन्धनका नेताहरू त्यस घोषणालाई लाली–पाउडर घसीघसी अझै भ्रमको खेती गर्न सक्रिय छन् । दुई सरकारबीच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फी व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हास्यास्पद कुरा हो,’ एमालेले भनेको छ, ‘यो तथ्य प्रतिनिधिसभाको बैठकमा सत्तापक्षीय केही माननीयहरूद्वारा समेत अभिव्यक्त भएको छ । यस सम्बन्धमा एमसिसी आफैँले वक्तव्य दिएर यस्ता कथित घोषणाले सम्झौतामा कुनै फरक नपार्ने कुरा स्पष्ट पारिसकेको छ । तर, अझै पनि केही नेताहरू ‘व्याख्यात्मक घोषणा’ हिजो आपूmले गलत थियो भनिएको एमसिसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रूपमा प्रचार गर्न खोज्दै छन् । यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो । हामी केही नेताहरूका ‘लत्रिएका जुँगा’लाई ‘ठाडो पार्ने हतियार’का रूपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुःखित छौँ ।’

एमाले अध्यक्ष ओलीले एउटा अधिवेशनमा पेस गर्न दर्ता गरिएको प्रस्ताव पास नभए अर्को अधिवेशनमा मृत भइसक्ने भएकाले नयाँ प्रस्ताव दर्ता गर्नुपर्ने संसदीय नियम रहे पनि त्यसविपरीत सभामुखले प्रस्ताव पास गराएको दाबी गरे । ‘जुन अधिवेशनमा प्रस्ताव पेस भएको छ, त्यो अधिवेशनमा प्रस्ताव प्रक्रियामा अगाडि नबढाइए अस्तित्व समाप्त हुन्छ, तर तीन वर्षअघिको ६ वटा अधिवेशन पहिलेको अस्तित्वमै नरहेको प्रस्ताव सभामुखले पास गराउने गरी अगाडि बढाउनुभयो,’ ओलीले भने, ‘हामीले यसो किन भनिरहेका छौँ भने एमालेलाई संविधान, कानुन, संसदीय प्रक्रिया र लोकतन्त्रसँग मतलब छ, हामी त्यसमा विश्वास गर्ने एउटा जिम्मेवार पार्टी हौँ ।’

ओलीले एमालेले १५ फागुनअघि नै एमसिसीका सम्बन्धमा संसद् बैठकको छलफलमा भाग लिन चाहे पनि सभामुख सापकोटाले पूर्वाग्रहपूर्ण, गैरकानुनी र ज्यादतीपूर्ण व्यवहार देखाएको आरोप पनि लगाए । ‘हामीले १५ फागुनअघि नै संसद्मा छलफलमा भाग लिन चाहेका हौँ, तर वातावरण नै बनाइएन । हामीमाथि ज्यादतीपूर्ण, गैरकानुनी र असंसदीय क्रियाकलाप गरियो,’ ओलीले भने । 

सभामुखको व्यवहारप्रति आपत्ति
एमालेले विज्ञप्तिमार्फत सभामुखको पछिल्लो व्यवहारप्रति आपत्ति जनाएको छ । ‘संसद्मा माननीय सदस्यहरूको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसिसीसम्बन्धी प्रस्ताव टेबुल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो,’ एमालेले भनेको छ, ‘षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनुभयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दलविशेषको आज्ञापालन गर्ने देखिन्छ ।’ 

चुच्चे नक्सा पारित गर्ने मुद्दामा आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सहमति जुटाउन सफल भएको स्मरण गर्दै एमालेले अहिलेको सत्तागठबन्धन भने एमसिसीजस्तो राष्ट्रिय मुद्दामा समेत प्रमुख प्रतिपक्षीको सहमति जुटाउन असफल भएको आरोप लगाएको छ । राष्ट्रिय महत्वको मुद्दामा सबै दललाई एक ठाउँमा उभ्याउने दायित्वबाट प्रधानमन्त्रीसमेत विमुख भएको एमालेको भनाइ छ । 

एमालेले माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका इमानदार कार्यकर्तालाई बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि पार्टीमा प्रवेश गर्न आह्वान पनि गरेको छ । ‘एमसिसी प्रकरणमा आफ्नो पार्टीलाई बदनाम गराउने षड्यन्त्र भए पनि गठबन्धनको चरित्र उदांगो भएको एमालेको दाबी छ ।' ‘गठबन्धनका केही दलहरूले एमसिसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्योल सिर्जना गर्ने कार्य गर्दै आए, विषाक्त प्रचारबाजी गरे । द्विपक्षीय विषयलाई भूराजनीतिक विषयजस्तो बनाइयो । २४ घन्टाअघि उनीहरूले सत्ता छोड्ने, तर सहमति नगर्ने पनि भन्न भ्याए । २४ घन्टापछि उनीहरूमा ‘दिव्यज्ञान’ पलायो र सुरु भयो अर्को स्पष्टीकरणको सिलसिला– पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति ! गठबन्धन ढले आफू ढल्ने, आफ्ना हितैषीहरूको पनि पद जाने भएकोले समर्थन गर्नुको विकल्प नरहेको बयानबाजी गरे,’ एमालेले भनेको छ ।

साढे दुई वर्षससम्म एमालेविरुद्ध एमसिसीलाई हतियार बनाएर षड्यन्त्र हुँदै आए पनि त्यो सफल नभएको उसको दाबी छ । एमालेले राष्ट्रिय हित र स्वाभिमानविपरीत कुनै पनि अनुचित सर्तसहित आउने लगानी, सहायता केही पनि नस्विकार्ने, तर देशको आवश्यकता र प्राथमिकता एवं उचित आधारमा आउने बाह्य ऋण, लगानी वा सहायता स्विकार्ने पार्टीको नीति रहेको प्रस्ट्याएको छ । 

See More On

सुझावित समाचार