सरकारले बढाएको दूधको मूल्य किसानले पाएनन्, बिचौलियाको मनपरी

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

सरकारी स्वामित्व रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले हालै दूधको मूल्य बढाएपछि रौतहटको चन्द्रनिगाहपुर बजारमा उपभोक्ताको मूल्य आकासिएको छ  । मन्त्रिपरिषद्को निणर्यबाट दूधको मूल्य बढेलगत्तै निजी दुग्ध व्यवसायीले आफूखुसी मूल्य बढाएपछि स्थानीय उपभोक्ताहरू मारमा परेका छन् । सरकारले किसानको नाममा दूधको मूल्य बढाउँदा त्यसको असर आमउपभोक्तालाई पर्न गएको हो । चन्द्रनिगाहपुरका निजी डेरी व्यवसायीले फरक–फरक मूल्य लगाएर दूध बेच्ने गरेको चन्द्रपुर– ४ का स्थानीय शंकर बोलखेले बताए । 

चन्द्रपुर नगरपालिका– ४ मा सञ्चाचालित निर्मल डेरीले ८० रुपैयाँ प्रतिलिटरका दरले दूध बिक्री गर्ने गरेको सञ्चालक निर्मल भट्टराई  बताउँछन् ।  सोही क्षेत्रमा रहेको प्रणामी डेरी, बाँस्तोला डेरी र आके डेरीले भने  ९०  रुपैयाँ प्रतिलिटरका दरले दूध बिक्री गरिरहेको उपभोक्ताहरू बताउँछन् । बढी मूल्यमा दूध बेच्दै आएका व्यवसायीले आफूहरूले शुद्ध दूध बेच्ने गरेको दाबी गर्दै आएका छन् । जतिसुकै मूल्य तिरे पनि निजी डेरीहरूमा शुद्ध दूध नपाइने  स्थानीय उपभोक्ता बताउँछन् । ‘पानी मिसाइएको दूध बाध्यतावश लिनैपर्छ, घरमा स–साना बालबच्चा छन् । स्वस्थ रहनका लागि बालबालिकालाई दूध आवश्यक भएकै कारण जस्तोसुकै भए पनि लिनैपर्ने बाध्यता छ,’ स्थानीय नितु कोइरालाले बताइन् ।  

चन्द्रपुर नगरपालिका– ९ का किसान चेतनाथ सापकोटाले सहकारीले सञ्चालन गरेको दुग्ध संकलन केन्द्रमा दुग्ध बेच्ने गरेका छन् । उनले संकलन केन्द्रमा शुद्ध दुग्ध बिक्री गर्दा प्रतिलिटर ५५ रुपैयाँका दरले भुक्तानी पाउँछन् । तर, त्यही दूध बिचौलियाहरूले कमाउँदै ९० रुपैयाँमा बेच्ने गरेको सापकोटा बताउँछन् । सापकोटा एक प्रतिनिधि पात्र मात्रै हुन्, उनीजस्तै सबै किसानहरू बिचौलियाहरूबाट ठगिने गरेका छन् । सरकारले माघ २८ गतेदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाए पनि उक्त रकम किसानले पाउँदैनन् ।
 

See More On

सुझावित समाचार