एमसिसीको विपक्षमा उभिन सांसदहरूलाई वैद्य माओवादीको अपिल

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले एमसिसी सम्झौता निर्णायक मोडका पुगको भन्दै यसको खारेजीका लागि संघर्ष बढाउन अपिल गरेको छ । पार्टीले शनिबार एक अपिल गर्दै एमसिसी राष्ट्रघाती रहेको र यसलाई खारेज गर्न आन्दोलन अनिवार्य भएको बताएको छ । क्रान्तिकारी माओवादीले सम्झौता खारेज गर्न दृढतापूर्वक उभिन पनि सांसदहरूसँग आग्रह गरेको छ । 

‘सम्झौतालाई संसदबाट अनुमोदन गराउन अत्यन्तै ठूला षड्यन्त्र र कसरत हुँदै आएका छन् । सम्झौताविरुद्ध संघर्ष पनि निरन्तर चल्दै आएको छ । अब स्थिति निर्णायक मोडमा पुगेको छ,’ अपिलमा छ, ‘यो वेला राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न अत्यन्तै गम्भीर र संवेदनशील बन्न गएको छ । यस स्थितिमा हाम्रो पार्टी सडक संघर्षमा उत्रिएका सम्पूर्ण देशभक्त जनता तथा वामपन्थी पार्टीहरूलाई संघर्षलाई नयाँ उचाइ प्रदान गर्न हार्दिक अपिल गर्दछ । साथै, देशभक्त सांसदहरूलाई समेत राष्ट्रघाती सम्झौता खारेज गर्नका लागि दृढतापूर्वक उभिन विशेष अनुरोध गर्दछ ।’ 

क्रान्तिकारी माओवादीले सम्झौता नेपालको समृद्धि र गरिबी निवारणका लागि ल्याइएको नभई नेपाललाई नवउपनिवेशवादको महाजालमा फसाइ नेपालको राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने र नेपालको राष्ट्रिय सम्पदा लुट्ने उद्देश्यमा आधारित रहेको ठहर गरेको छ । एमसिसी विशुद्ध आर्थिक अनुदानमा आधारित सम्झौता नभई अमेरिकाको रक्षा मन्त्रालय र सुरक्षा छातासित सम्बन्धित हिन्द–प्रशान्त रणनीतिको एक अभिन्न अंग रहेको तथा सम्झौताको मूल उद्देश्य चीनलाई घेराबन्दीमा पार्न नेपाली भूमिको दुरुपयोग गर्नु र नेपाललाई सैन्य अखडा बनाउनु रहेको क्रान्तिकारी माओवादीको अपिलमा उल्लेख छ ।

सम्झौता नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविरुद्ध रहेको र यसलाई संसदबाट अनुमोदन गरिएमा नेपाल अमेरिकाको सुरक्षा छाताभित्र रहनुपर्ने गम्भीर खतरा पैदा हुन सक्ने सो पार्टीको दाबी छ । सम्झौता जनविरोधी तथा राष्ट्रघाती भएको भन्दै विरोध गर्नेलाई दमन तथा धरपकड गर्ने काम सरकारले गरेको क्रान्तिकारी माओवादीको आरोप छ ।

सुझावित समाचार