नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तागठबन्धनले नेपाल र अमेरिकाबीचको एमसिसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको बताएका छन्। देशले यसको गम्भीर मूल्य चुकाउनुपर्ने उनको भनाइ छ। उनले सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको बताए। ज्ञवालीले संसद् अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभई दलीय व्यवस्था प्रणालीका लागि लडिरहेको दाबी गरे।
‘छलफलहरू सकारात्मक ढंगले नै अघि बढेका छन्। हामीले देशका प्रमुख राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा मुलुकको राजनीतिक स्थायित्वका लागि, मुलुकमा बाह्य शक्ति–सम्बन्धहरूको सन्तुलनहरूका लागि अर्थतन्त्रमा देखापरेका संकटहरूको निवारणका लागि र यो सिस्टम जोगाउनका लागि मिनिमम अण्डरस्ट्यान्डिङ हुनुपर्छ भन्दै आएका हौँ,’ उनले भने, ‘हामीले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस हुनुपर्छ र यसो नगर्ने सभामुखज्यू हुनुहुन्छ, उहाँले स्टेप डाउन गर्नुपर्छ भन्ने कुरा छ। त्यसो भयो भने संसदमा हामी जान पाउँछौँ, छलफलमा सहभागी हुन पाउँछौँ। अघि बढ्न सकिन्छ भन्ने हाम्रो भनाइ यथावत् छ।’