माधव नेपालको व्यंग्य–एमसिसीमा एमाले न भाले न पोथी

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

एमसिसीजस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय लिन नसकेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेप्रति व्यंग्य गरेका छन् । एमसिसीमा एमाले न भाले न पोथीको अवस्थामा पुगेको भन्दै उनले व्यंग्य गरे ।

‘हामी अप्ठ्यारो अवस्थामा पुगेका छौँ, एकातिर एमसिसी छ । अर्कोतर्फ बामाले छ । एमाले होइन, त्यो बामाले भइसकेको छ । त्यो अवसरवादी नीति लिएर बसिरहेको छ । समर्थन गर्छु पनि भन्दैन विरोध गर्छु पनि भन्दैन ।’ युवा संघ नेपालको सुदूरपश्चिमस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै नेपालले भने, ‘न समर्थन न विरोध अनि अरूलाई भन्छ न भाले न पोथी । न भाले न पोथी आफैँ बन्न पुगेको छ । यो बामाले भाले हो कि पोथी हो पहिचानै हुन सकेको छैन । यस्ता दाउपेचले  सिद्धान्तहीन जमातमा परिवर्तन हुँदै गएको छ ।’ 

नेपालले एमसिसीका कारण मुलुकमा राजनीतिक संकट आउने जोखिम रहेको बताए । संकटबारे थप व्याख्या नगरेका नेपालले एमसिसीका सन्दर्भमा उत्पन्न समस्या वार्ताबाटै समाधान हुनुपर्नेमा जोड दिए । यथास्थितिमा एमसिसी सम्झौता पारित गर्न नसकिने पनि उनले प्रस्ट पारे । एमसिसीको विपक्षमा उभिँदा सरकारबाट बाहिरिन आफ्नो पार्टी तयार रहेकोतर्फ संकेत गर्दै नेपालले सरकार ठूलो विषय नभएको बताए । 

नेपालले एमसिसीका प्रत्येक धाराको आफूहरूले विश्लेषण गरेको उल्लेख गर्दै यथास्थितिमा यसलाई  पारित गर्न नसक्ने सातवटा कारण खुलाए । पहिलो कारण नेपाल कुनै पनि हालतमा इन्डाे-प्यासेफिक रणनीतिको अंग बन्न नचाहेको उनले बताए । ‘नेपाल कुनै पनि सैनिक गठबन्धन र कसैको सुरक्षा रणनीतिको अंग बन्न चाहँदैन ।’ उनले भने, ‘नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिने कुरालाई नेपाल कहिले पनि स्वीकार गर्न सक्दैन । नेपाल स्वतन्त्र र असंलग्न परराष्ट नीति अवलम्बन गर्दै कुनै पनि फोरममा सामेल नभएर अगाडि बढ्न चाहन्छ ।’

नेपालको भूमिमा अरूको स्वामित्व स्वीकार गर्न नसकिने पनि उनले बताए । नेपालको परियोजनामा नेपालीले रोजगारी पाउनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको उनले प्रस्ट पारे । ‘हामी नेपालले लगानी गरेका परियोजनाहरूमा नेपालको लेखा परीक्षण गर्ने अधिकारलाई सुरक्षित गर्न चाहन्छौँ । नेपालको कानुनलाई मिचेर अरू कुनै देशको कानुन नेपालको संविधानमाथि रहने कुरालाई स्वीकार गर्न सक्दैनौँ,’ उनले भने, ‘निर्माण भइसकेपछि त्यसमा उत्पन्न हुने बौद्धिक सम्पत्तिमाथि नेपालले लगानी गरेअनुरूपको अधिकारलाई साबित गर्न चाहन्छौँ, त्यसलाई छोड्न हामी तयार छैनौँ ।’

एसिसी परियोजनाविरुद्ध आर्थिक सहयोगमा केन्द्रित हुनुपर्ने र त्यसमा कुनै सुरक्षा गन्ध आउन नहुने उनको भनाइ छ । ‘अनुदानमा पनि सर्त हुन्छन् तर सर्त उचित छन् कि अनुचित हेर्नुपर्छ,’ नेपालले भने, ‘आँखा चिम्लेर समर्थन र आँखा चिम्लेर विरोध गर्न चाहँदैनौँ र विदेशीको दासतालाई पनि स्वीकार गर्दैनौँ ।’
    
 अझै केही समय लिएर एमसिसी सम्झौताबारे बुँदाबुँदामा छलफल हुनुपर्ने धारणा उनले राखे । हतारहतारमा अगाडि बढाउनुभन्दा समय लिएर टुंग्याउनु राम्रो हुने उनको भनाइ छ । ‘एमसिसीबारे अझै विचार मन्थन होस्, त्रुटिहरू सुधार गर्नका लागि नेपालले समय पाओस् ।’ उनले भने, ‘हिजो राम्ररी छलफल भएन । केपी ओलीले छलफल गर्न चाहेनन्, हामी बुँदाबुँदामा छलफल गर्न चाहन्छाैँ । नेपालको हित सुनिश्चित होस् भन्ने चाहन्छौँ ।’

सुझावित समाचार