छिमेकीको सहयोग लिएर बुहारीले सासूको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका–१९ खानीगाउँकी २३ वर्षीया बसन्ती घर्तीले ५५ वर्षीया इन्द्रकुमारी घर्तीको हत्या गरेकी हुन् ।
बसन्तीले छिमेकी २२ वर्षीया दुर्गा घर्तीको सहयोगमा सासूको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सासू र बुहारीबीच घरायसी विवाद रहेको रिसिइबीमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
बसन्ती र दुर्गाले काठको मुंग्राले हिर्काएर अचेत अवस्था भएपछि इन्द्रकुमारीलाई बारीको ढिस्कोबाट खोल्सामा खसालेर हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ । इन्द्रकुमारी बुधबार छिमेकीको घरमा न्वारनमा गएको र रातिसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव फेला पारिएको हो । शव फेला परेपछि प्रहरीले शंका लागी दुवैजनालाई पक्राउ गरेको थियो । बसन्ती र दुर्गाले आफूहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
बुधबार मात्रै दाङका एक व्यक्तिले आफ्नै बुबाको घाँटी रेटी हत्या गरेका थिए । दिउँसो पौने १ बजेतिर शान्तिनगर गाउँपालिका–३ बेलडाँडानिवासी २० वर्षीय गोपाल पुनमगरले आफ्ना ६३ वर्षीय बुबा कर्णबहादुरलाई धारिलो हतियारले रेटेर हत्या गरेका हुन् । तरकारी काट्ने चक्कुले घाँटी र मुखमा रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । नजिकैको धाराबाट पानी बोकेर ल्याउने क्रममा आँगनमा पुगेको वेला घाँटी रेटेको प्रहरीको भनाइ छ ।