चारदेशीय टी–२० क्रिकेट सिरिजमा ब्याटिङ फेरि एकपटक कमजोर भएपछि नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । टेस्ट मान्यता प्राप्त आयरल्यान्डविरुद्ध नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो । त्यही अनुपातमा नेपालको ब्याटिङ लक्ष्य पछ्याउँदा निकै फितलो देखियो । ओमानको अल मैदानमा पहिलो ब्याटिङ गरेको आयरल्यान्ड बलियो राष्ट्र २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटियो ।
प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन मात्र जोड्यो । नेपाललाई अन्तिम १२ बलमा २४ रन जितका लागि चाहिएको थियो । आयरल्यान्डका सिमी सिंहले इनिङ्सको १८औँ ओभरमा कुशल मल्ललाई तेस्रो र कमल सिंह ऐरीलाई चौथो बलमा क्याच गराए । कुशल र कमल लगातार बलमा आउट भएपछि नेपालले आयरल्यान्डमाथि टी–२० खेलमा ऐतिहासिक जित हात पार्ने सम्भावना पनि सकियो ।
दीपेन्द्रसिंहको अलराउन्ड प्रदर्शन
आयरल्यान्डसँगको प्रतिस्पर्धामा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले बलिङ, फिल्डिङ र ब्याटिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले जित निकाल्न सकेन । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच घोषित भए । यसअघि ओमानसँगको प्रतिस्पर्धामा दीपेन्द्रसिंहले म्यान अफ दी म्याचको ट्रफी जितेका थिए ।आयरल्यान्डविरुद्ध उनले २१ रन खर्चेर चार विकेट लिएका थिए । ब्याटिङ क्रममा उनले ३० बलमा २८ रन जोडे भने फिल्डिङ गर्दा दुई क्याच लिए ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि दीपेन्द्रसिंहले १०औँ ओभरमा आफ्नो पहिलो स्पेल फ्याँके । आफ्नो पहिलो ओभरको दोस्रो बलमा उनले सेल गेटकेटलाई १४ रनमा जितेन्द्र मुखियाको हातबाट क्याच आउट गराए । त्यसपछि १२औँ ओभरको पहिलो बलमै कर्टिस च्याम्परलाई शरद भेषवाकरबाट क्याच आउट गराए । यसै ओभरको चौथो बलमा उनले चौथो बलमा सिमी सिंहलाई विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट गराए । १५.६ ओभरमा उनले टर्केरलाई कट एन्ड बोल्ड पार्दै टी–२० अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरे ।
सन्दीपको ५० विकेट पूरा
नेपालका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । टी–२० खेलमा छिटो ५० विकेट लिने उनी विश्वकै तेस्रो बलर हुन् । अन्तर्राष्ट्रिय टी–२० खेलमा छिटो ५० विकेट पूरा गर्ने कीर्तिमान श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसको नाममा छ । उनले २६ खेलमा ५० विकेट लिएका थिए । दोस्रो स्थानमा आयरल्यान्ड मार्क आदिर छन् । उनले २८ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
आयरल्यान्डसँगको खेलमा सन्दीपले १८औँ ओभरमा एक विकेट लिएका थिए । जर्गे डकेललाई कुशलबाट क्याच आउटका रूपमा सन्दीपले आउट गर्दै टी–२० अन्तर्राष्ट्रिय खेलमा ५० विकेट पूरा गरेका हुन् । सन्दीपले विकेट लिएको उनको यो चौथो ओभर थियो ।सन्दीपले यो सफलता केवल ३० खेलमा हात पारेका हुन् । यससँगै सन्दीपले अफगानिस्तानका लेग स्पिनर रासिद खान र दक्षिण अफ्रिकाका इमरान ताहिरका कीर्तिमान पनि तोडेका छन् । खान र ताहिरले समान ३१ खेलमा ५० विकेट पूरा गरेका थिए । सन्दीपले सन् २०१८ मा आइसिसी विश्व ११ बाट वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका थिए ।
ओपनिङ दमदार, तर मध्यक्रम फितलो
एक सय २८ लक्ष्य पछ्याएको नेपालको ओपनिङ निकै उत्कृष्ट रह्यो । कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ४.१ ओभरमा २६ रनको साझेदारी गरेका थिए । कुशलले ११ बलमा समान एक चौका र छक्का प्रहार गरी १५ रन जोडे । नेपालका युवा ब्याट्सम्यान लोकेश बमले दोस्रो विकेटका रूपमा अवसर पाउँदा ६ रनमा बनाए । आसिफले आफ्नो विकेट ७.२ ओभरमा गुमाए । उनले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरी २३ रन जोडे । आसिफ क्रिजमा रहँदा नेपालले प्रतिओभर ७.२ रनरेटमा ब्याटिङ चलिरहेको थियो ।
मध्यक्रममा उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रसिंहलाई अन्य नाम चलेका अनुभवी ब्याट्सम्यानले गतिलो सहयोग गरेनन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १२ बलमा पाँच रन, सदर भेषवाकरले तीन बलमा एक रन तथा कुशल मल्लले १६ बलमा नौ रन बटुले । कुशल आउट हुँदा नेपाल १०६–७ को अवस्थामा थियो । शरदले ओमानविरुद्ध चार बलमा चार र युएईसँग आठ बलमा १० रन जोडेका थिए । ज्ञानेन्द्रले युएईसँग १९ बलमा २२ र ओमानसँग १६ बलमा १३ रनमा बनाएका थिए ।
आयरल्यान्डमाथि ऐतिहासिक जित निकाल्ने योजनामा रहेका दीपेन्द्रसिंह १७औँ ओभरमा ब्यारी म्याकर्थीबाट आउट भए । दीपेन्द्रसिंह क्याच भएपछि जितको सम्भावना टाढिएको थियो । दीपेन्द्रले समान एक चौका र छक्का प्रहार गरे । आयरल्यान्डका लागि बलिङमा सिमी सिंह, एन्डी म्याकर्थी, मार्क आदिर र ब्यारी म्याकर्थीले समान दुई विकेट लिए ।