नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको वैठकले यस्तो निर्णय गरेको हो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको माघ १५ गतेका लागि तय गरिएको अधिवेशन कोरोनाको कारण देखाउँदै स्थगित गरिएको थियो।
बैठकले १६ जिल्ला अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन गर्न निर्देशन दिएको छ।
जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेका तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचनको तोकिएको मापदण्ड भित्र रही फागुन १० गतेभित्र सम्पन्न गर्नका लागि सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गर्न भनिएको छ।
यस्तै महोत्तरी क्षेत्र नं ३ को प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकोमा उक्त निर्वाचन फागुन १० गतेभित्र गर्न निर्देशन दिइएको छ।