कमल थापाले छाडे पनि राप्रपाको जीवनमा केही फरक पर्दैन : राजेन्द्र लिङ्देन

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै लिङ्देनले थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् । 

राप्रपा अझै दृढ, संगठित र सशक्त रूपले अगाडि बढ्ने उनले बताए । लिङ्देनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै । तर, यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आगामी जीवनमा अगाडि बढ्ने गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’

थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुन उनले नेता तथा कार्यकर्तालाई आह्वान गरे । पार्टीलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे । 

लिङ्देनले थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रहसमेत गरे । थापाको पछिल्लो निर्णयले उनकै राजनीतिक भविष्यसमेत नरहेको भन्दै लिङ्देनले राप्रपामै फर्किन आग्रह गरे ।

सुझावित समाचार