सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय, गठबन्धनका सबै दललाई एकताबद्ध हुन आह्वान

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सामेल सबै दललाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३औँ बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । 

‘लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको  शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ ।’ बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

आगामी ३० वैशाखमा एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै समाजवादीले सरकारलाई धन्यवाद दिएको छ । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई पनि धन्यवाद दिने निर्णय गरेको भुसालले जानकारी दिए । 

पार्टीलाई सानदार रूपमा विजयी गराउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय गरेको छ ।

आगामी वर्ष निर्वाचन वर्ष भएको र यसको प्रारम्भ स्थानीय निर्वाचनबाट हुने भन्दै समाजवादीले पार्टीलाई सानदार रूपमा विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय पनि गरेको छ ।

सुझावित समाचार