कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। ३ माघ २०६७ मा नेपालगन्ज उपमहानगरपालिका– १, पारिजात मार्गका २१ वर्षीय हिमाल बुढालाई अपहरण गरी बन्धक बनाई ज्यान लिएको मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका– १० भृकुटीनगरका ३० वर्षीय सौभाग्य मल्ललाई गोरखा जिल्लाबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
गोरखा जिल्लामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखासँग समन्वय गरी उनलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए। ‘कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका मल्ललाई गोरखाबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाएका छौँ,’ उनले भने ।