आज सहिद दिवस मनाइँदै

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ । वर्षको एकपटक सहिदलाई सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ ।

१० देखि १६ माघसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष १६ माघमा सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा १९९७ मा शुक्रराज शास्त्रीलाई १० माघमा काठमाडौंको टेकुस्थित पचली, १३ माघमा धर्मभक्त माथेमालाई सिफल र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । १६ माघमा सहिद दिवसका अवसरमा रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ । 

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।

०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ ।  

‘विकास र समृद्धिको आकांक्षा पूरा गर्नु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली’
राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएकी छिन् । सहिद दिवसका अवसरमा शुक्रबार सन्देश दिँदै उनले यो दिवसले सम्पूर्ण राजनीतिक दल, आमजनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छिन् । उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको बताएकी छिन् ।

सुझावित समाचार