नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी फरक नीतिका साथ प्रस्तुत हुन्छन् । दक्षिण अफ्रिकी देश मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले यस्तै प्रयोग गरेका छन् । उनले १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि बुधबार दुई किसिमको राष्ट्रिय टोली घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले पहिलो तथा दोस्रो खेलका लागि दुई टिम घोषणा गरेका हुन् ।
प्रारम्भिक छनोटमा बोलाइएका सबै ३४ खेलाडीलाई दुई टोलीमा बाँड्दै यो निर्णयले खेलाडीमा अन्तर्राष्ट्रिय खेल अनुभव थप्ने प्रशिक्षक अलमुताइरीको आशा छ । नेपाली राष्ट्रिय फुटबल टोलीमा यस किसिमको दुई थरीका खेलाडी घोषणा पहिलोपटक भएको हो । पहिलोपटक प्रारम्भिक छनोटमा परेका नौ खेलाडीले नै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।
गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नवीन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, आशिष राई, सुदीप गुरुङ तथा स्ट्राइकर प्रशान्त अवस्थी र सुशील राई पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा प्रदर्शन गरेको आधारमै खेलाडीहरूलाई राष्ट्रिय टोलीमा स्थान दिइएको जनाइएको छ ।
टोलीमा पहिलोपटक परेका खेलाडीले भने एक खेल मात्रै खेल्ने छन् । अनुभवी खेलाडीहरू भने दुवै टोली परेका छन् । यसपटक आयुष घलान, दिनेश हेन्जन तथा कमल थापा टोलीबाट बाहिरिएका छन् । यसैगरी जगजित श्रेष्ठ र विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । सन् २०१९ पछि विमल टोलीमा फर्किएका हुन् ।
गोलरक्षक किरण चेम्जोङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी, समुन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा र विमल पहिलो र दोस्रो खेलमा स्थान बनाएका छन् । यसैगरी दोस्रो खेलका लागि पुजन उपरकोटी, नवीन गुरुङ, सुभाष गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त र सन्तोष तामाङले स्थान पक्का गरेका छन् । यस खेलका लागि विशाल श्रेष्ठ र शत्रुधन चौधरी गोलरक्षकका रूपमा छन् । शनिबार हुने खेलमा पाँच हजार दर्शकले खेल हेर्न पाउनेछन् । भिआइपीतर्फ हजार तथा साधारण पाराफिटमा पाँच सय टिकट राखिएको छ । नेपालले पहिलोपटक आधिकारिक रूपमा दक्षिण अफ्रिकी देशविरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
१५ माघमा खेल्ने टोली
किरण लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनील बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ ।
१८ माघमा खेल्ने टोली
किरण लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ ।