उपत्यकाका नाकामा स्वास्थ्य जाँच शून्य

बुधबार, ५ माघ, २०७८
डिजिटल संस्करण

दिनमै १० हजार नाघ्दा काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन् । बढी जनघनत्व भएका कारण संक्रमण र जोखिम काठमाडौंमै बढी छ । तर, काठमाडौंमा भित्रिने र यहाँबाट बाहिरिने नाकामा भने कुनै स्वास्थ्य सतर्कता छैन ।

अघिल्ला दुई लहरमा चेकजाँच केही हदसम्म प्रभावकारी पारिएका उपत्यकाका चार नाका नागढुंगा, साँगा, तिनपिप्ले र फर्पिङमा अहिले स्वास्थ्य जाँचविना आउजाउ चलिरहेको छ । सामान्य अवस्थामा जस्तै प्रहरीले सवारीसाधनका नम्बर टिपेर भित्रिन र बाहिरिन दिइरहेका छन् । ‘बसमा यात्रा गर्नेलाई मास्क प्रयोग गर्न भनिरहेका छौँ, त्यसबाहेक त केही व्यवस्था छैन,’ साँगा प्रहरी चौकीका सइ रामप्रकाश यादवले भने । 

ट्राफिक प्रहरी प्रवक्ता सञ्जीव शर्मा दास कोरोना नियन्त्रणका लागि नाकामा गएका वर्षमा जस्तो कुनै अभियान सञ्चालन नभएको बताउँछन् । तर, केही दिनयता नाकामा आवतजावत गर्ने सवारीसाधन र यात्रुको संख्यामा कमी आएको उनले बताए । ‘यात्रुलाई मास्क, स्यानिटाइजर र फेससिल्ड प्रयोगका लागि मौखिक रूपमा भन्ने काम त भएको छ, अरू तयारी केही छैन । कोरोना बढ्न थालेपछि केही दिनयताको तथ्यांक हेर्ने हो भने उपत्यका भित्रिने तथा बाहिरिने यात्रु र सवारीसाधनको संख्यामा कमी भने आएको छ,’ प्रवक्ता दासले भने । विगतमा दैनिक १० हजारभन्दा धेरै सवारीसाधन भित्रिने र बाहिरिने चार नाकाबाट पछिल्ला दिन सात हजारजति मात्रै आउजाउ गरिरहेको बताए । 

स्थानीय तहले गरेनन् कुनै तयारी 
पहिलो र दोस्रो लहरको कोरोनामा स्थानीय तहले स्वास्थ्य जाँच, क्वारेन्टिन व्यवस्थापनलगायत काम सक्रियताका साथ गरेका थिए । तर, यसपालि खोप अभियान सञ्चालन गर्नेबाहेक संक्रमण रोक्न कुनै प्रयास गरेका छैनन् । क्वारेन्टिन वा आइसोलेसनको व्यवस्था गरेका छैनन् । नागढुंगा नाका पर्ने चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विद्यालयमा फाइजरको खोप दिनेबाहेक अन्य काम नगरिएको बताए । फर्पिङ नाका भर्ने दक्षिणकाली नगरपालिकाकी उपमेयर वसन्ती तामाङले पनि नाकामा चेकजाँच नभएको बताइन् ।

यात्रुले खोप लगाए–नलगाएको विषय भने प्रहरीको समन्वयमा बुझ्ने काम भएको उनले बताइन् । त्यस्तै, मास्क र स्यानिटाइजर लगाउन आग्रह गर्ने गरिएको उनको भनाइ छ । नागार्जुन नगरपालिकाले तिनपिप्ले नाकामा दुई प्रहरी खटाएर मास्क लगाए–नलगाएको चेक गर्न थालेको छ । त्यस्तै, यात्रुको ज्वरो जाँच पनि सुरु गरेको छ । ‘हामीले प्रहरी खटाएर ज्वरो नाप्ने र मास्क लगाउन कडाइ गर्ने काम थालेका छौँ । जनचेतनाका लागि माइकिङ पनि गरिरहेका छौँ,’ उपमेयर सुशीला अधिकारीले भनिन् । नगरपालिकाले खोप नलगाएकालाई शुभेच्छा अस्पताल सीतापाइलामा लगाउने व्यवस्था गरेको छ ।

सुझावित समाचार