हराउँदै गयो गुन्द्री बुन्ने परम्परा

आइतबार, २ माघ, २०७८
डिजिटल संस्करण
हराउँदै गयो गुन्द्री बुन्ने परम्परा

गुन्द्री बुन्दै बागलुङ नगरपालिका–१३ पैयुँपाटाकी नन्दकली चपाई । तस्बिर : नयाँ पत्रीका

मंसिरको अन्तिम सातादेखि माघको पहिलो सातासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तन्किएका हुन्थे ।  ती तानमा सासू–बुहारी, आमा–छोरी वा दिदी–बहिनीले हतासोले ‘झ्याक–झ्याक’ गर्दै गुन्द्री कसिरहेका भेटिन्थे । गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्र्याउने वेलामै पराल छुट्याइन्थ्यो । यसरी नै हरेक वर्ष गुन्द्री बुन्ने गरिन्थ्यो । तर, यो परम्परा भने केही वर्षदेखि बिस्तारै हराउँदै गएको छ । हिजोआज भने गुन्द्री बुन्ने चलन फाट्टफुट्ट मात्र भेटिन्छ । गाउँमा कहीँ कतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियोको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । अचेल बाबियोको ठाउँमा जुट र प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन् ।

प्लास्टिकका गुन्द्री र म्याटले परम्परागत गुन्द्री विस्थापन

बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन् । पहिले पहिलेजस्तो चलन हराएको छ । तर, यस्तो अवस्थामा पनि जिल्लाको बाग्लुङ नगरपालिका– १३ की नन्दकली चपाईले भने परम्परालाई धानेकी छिन् । उनले हरेक वर्ष १० देखि १५ वटासम्म गुन्द्री बुन्दै आएकी छिन् । बाबियाको डोरी नबनाए पनि जुटको डोरी प्रयोग गरेर हरेक वर्ष गुन्द्री बुन्दै आएको उनले बताइन् । चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुने र बिस्कुन सुकाउन पनि सहज हुने हुँदा हरेक वर्ष आफूले पुरानो परम्परा धानेको उनको भनाइ छ । ‘गुन्द्रीले धेरै न्यानो बनाउँछ । खाटमा होस् वा पलाङमा हामी यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौेँ,’ उनी भन्छिन्, ‘अहिले पनि यो नओछ्याई निद्रै लाग्दैन । पाहुनलाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री नै हो ।’ 

झन्झटिलो मान्छन् नयाँ पुस्ता

विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ । परालबाट बन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी हुने चपाईले बताइन् । ‘हाम्रो पालामा त बाबियो काटेर र बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै गयो । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,’ चपाईले भनिन्, ‘पहिलेको तुलनामा अहिले धेरैले प्लास्टिकका गुन्द्री र म्याट प्रयोग गर्छन् ।’ 
  

गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको बाग्लुङ नगरपालिका– १४ नारायणस्थानकी देवी पौडेल बताउँछिन् । समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उनको बुझाइ छ । ‘गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ । गाउँको भन्दा सहरीया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ । तुलनात्मक रूपमा प्लास्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ,’ पौडेलले भनिन् । 

यसरी बुन्ने गरिन्छ गुन्द्री

कात्तिकमा धान भित्र्याउने क्रममा गुन्द्री बुन्नका लागि पराल छुट्याएर राखिन्छ । त्यस वेला लामो र दह्रो पराललाई गुन्द्री बुन्नकै लागि भनेर छुट्याइन्छ । हिउँदको वेला जब काम सकिन्छ, घरनजिकै समथर बारी, आँगनमा तलमाथि चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेर्स्याइन्छ । काठको हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ । सर्लक्क परेका लामो परालको त्यान्द्रा हाली हतासोले ठोकिन्छ अनि दायाँबायाँ हातैले बिट मारिन्छ । बिट मार्नका लागि पनि कला चाहिन्छ । यसरी नै गुन्द्री बुनिन्छ । लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने पौडेलले बताीन् । निरन्तर दुईजना भएर बुनेमा एकदिनमै एउटा गुन्द्री बुन्न सकिने भए पनि दिनभरि नै टुक्रुक्क परेर बस्नुपर्ने भएकाले केही सकस हुने गरेको उनकोे अनुभव छ । 

पुराना परम्परा र संस्कृतिको संरक्षण गर्न जरुरी

पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । इज्जत हुन्थ्यो । तर, अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ । यसले समाजको मौलिक परम्परालाई नै भुलाइदिएको छ  । गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्ख्याैली सीप हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको बाग्लुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल बताउँछन् । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सीप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको संख्या पनि घट्दै गएको छ । बलेवा क्षेत्रमा यसको मौलिकता भने अझै रहेका कारण यसलाई संरक्षणका निम्ति वडा कार्यालयले विशेष पहल थाल्ने पौडेलले बताए । 

‘आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री र चकटी साथै  डोका–नाम्लाहरू बुन्ने, प्रयोग गर्ने चलन संकटमा पर्छन् कि भन्ने पिर लाग्न थालेको छ,’ पौडेलले भने, ‘यसको संरक्षण गर्नका निम्ति अहिलेका स्थानीय सरकारले जोड दिन जरुरी छ । संरक्षण र प्रवर्द्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्याैली सीप हस्तान्तरण गर्न जरुरी रहेको छ ।’ नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा तथा संस्कृतिको संरक्षण गर्न कठिनाइ हुने उनले बताए । 

सुझावित समाचार