कोरोना पजिटिभ देखिएकाहरू सीमानाकाबाटै भाग्न थालेका छन् । त्रिनगर भन्सार नाकामा एन्टिजेन परीक्षण गर्दा पजिटिभ देखिएकाहरू सम्पर्कविहीन हुनेकाे संख्या बढ्दो छ । बिहीबार मात्र एन्टिजेन पजिटिभ देखिएका २० जना सम्पर्कविहीन भएका स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । बिहीबार यो नाकामा भारतबाट आएका आठ सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जनामा कोरोना पजिटिभ देखिएको छ ।
भारतबाट फर्कनेको संख्या बढेसँगै संक्रमण फेला पर्ने दर पनि केही दिनयता तीव्र रूपमा बढिरहेकाको छ । भिड बढेका वेला संक्रमण देखिएकाहरू सम्पर्कविहीन हुने गरेका त्रिनगनर नाकाको हेल्थडेस्क इन्चार्ज अहेव गणेश साउदले बताए । ‘आज मात्र २० जनाजति भागेर गए । हिजो पनि केही संक्रमित सम्पर्कमै आएनन् । भिडभाड धेरै हुन्छ, यत्रो भिडमा को कतिवेला छलेर जान्छ थाहै हुँदैन,’ अहेव साउदले भने, ‘त्यसरी जानेहरू सार्वजनिक यातायातमै घर जान्छन् होला, यसले संक्रमण फैलने जोखिम बढेको छ ।’ कतिपय रिपोर्ट आउनुअघि नै र कतिपय रिपोर्ट लिएर सम्पर्कविहीन हुने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।
एन्टिजेन जाँच गर्ने स्थाननजिकै पजिटिभ देखिएकालाई तत्कालका लागि टेन्टभित्र बस्ने व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको भिड बढेका वेला टेन्टको छेउसम्मै परीक्षण गर्नेहरूको लाइन लाग्छ । भिड बढ्न थालेसँगै संक्रमितहरू बेपत्ता हुने क्रम बढेको हो ।
अस्तव्यस्त व्यवस्थापन
भारतबाट फर्कनेको घुइँचोले नाकामा व्यवस्थापन अस्तव्यस्त छ । भिडमा परीक्षण नगरेरै जानेको संख्या पनि ठूलो छ । नाकामा सुरक्षाकर्मीको संख्या कम हुँदा भिड व्यवस्थापन गर्न र संक्रमितलाई रोकेर राख्न हम्मेहम्मे भइरहेको देखिन्छ । त्रिनगर नाकामा सडकभन्दा केही तल त्रिपालको टेन्ट बनाएर एन्टिजेन परीक्षण गर्न हेल्थडेस्क राखिएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार कतिपय व्यक्ति परिक्षण नगरेरै आवातजावत गरिरहेका छन् ।
डेस्कमा भिड व्यवस्थापनमा दुईजना मात्रै सुरक्षाकर्मी खटिने गरेकाले व्यवस्थापनमा समस्या भइरहेको अहेव साउदले बताए । ‘दुईजनाले भारतबाट आउनेको लाइन व्यवस्थापन गर्ने कि पजिटिभ देखिएकालाई रोकेर राख्ने ?’ उनले भने, ‘लाइन व्यवस्थापनमा रेडक्रसका स्वयंसेवक पनि खटिएका छन्, तर धेरैले प्रहरीबाहेक अरूलाई टेर्दैनन् ।’ यात्रु पाउने आसमा नाकासम्मै पुग्ने रिक्साचालकले पनि संक्रमितलाई भगाउन मद्दत गर्ने गरेका उनले बताए । नाकामा केही दिनयता परीक्षणदर भने बढाइएको छ ।
नाकामा एन्टिजेन पजिटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका– १५ कनरीस्थित आइसोलेसनमा लग्ने व्यवस्था गरिएको छ । संक्रमित बोक्न एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । तर, उक्त आइसोलेसनमा जानेको संख्या न्यून छ । कतिपय घरमै आइसोलेसनमा बस्ने भनेर जाने गरेका छन् । कैलाली, कञ्चनपुर घर भएका संक्रमितलाई सम्बन्धित वडाको सिफारिसमा घर पठाउने गरिएको छ । त्यसरी जान चाहनेलाई निजी गाडीमा मात्र जान दिने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । तर, उनीहरू कसरी गए र घरमा आइसोलेसनमा बसे–बसेनन् त्यसको जानकारी कुनै निकायमा छैन ।
नाकामा भइरहेको लापरबाहीले समुदायमा पनि संक्रमण फैलने जोखिम बढेको छ । बिहीबार मात्रै सुदूरपश्चिममा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।