म्यान अफ दी म्याच लोकेशले १० चौका र एक छक्का प्रहार गरी ५० रनको योगदान दिए, २४ बल खेलेका उनले केवल २१ बलमै अर्धशतक बनाए
लोकेश बमको विस्फोटक ब्याटिङको मद्दतमा विभागीय टोली एपिएफले मंगलबार बागमती प्रदेशलाई सात विकेटले हराउँदै प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।
त्रिवि मैदानमा बागमतीले पहिलो ब्याटिङ गरी आठ विकेटको क्षतिमा एक सय २५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा एपिएफले १८.४ ओभरमा तीन विकेट गुमाउँदै एक सय २६ रन जोड्यो । जितसँगै एपिएफले समूह बीमा चार अंक बनाएको छ । सहज लक्ष्य पछ्याएको एपिएफका लागि लोकेशले उत्कृष्ट ब्याटिङ गरेका थिए । खेलको म्यान अफ दी म्याचसमेत बनेका लोकेशले केवल २४ बलमा १० चौका र एक छक्का प्रहार गरी ५० रनको योगदान दिए । लोकेशले केवल २१ बलमा अर्धशतक बनाएका थिए । लोकेशले बागमतीका रामनरेश गिरीको एकै ओभरमा २६ रन लिए । उनले पहिलो, दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ बलमा चौका र चौथो बलमा छक्का प्रहार गरेका थिए ।
लोकेशले प्रदीप ऐरीसँग दोस्रो विकेटका लागि ४१ बलमा ५८ रनको साझेदारी गरेका थिए । एपिएफले ८३ बलमा सय रन बनाएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा प्रदीप र आसिफ सेखले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरे । प्रदीपले ५४ बलमा चार चौकाको सहयोगमा ३६ रनको योगदान दिए ।
यसअघि ब्याटिङ गरेको बागमतीका ब्याट्सम्यानले अविनाश बोहराको घातक बलिङ सामना गर्न सकेनन् । बोहराले चार ओभरमा ३२ रन खर्चेर बागमतीको चार विकेट हात पारे । कमल ऐरीले ३२ रनमा दुई विकेट लिए । बागमतीको ब्याटिङमा ईशान पाण्डे र सुवास खकुरेलले पहिलो विकेटका लागि ४.४ ओभरमा ३३ रनको साझेदारी गर्दै बागमतीलाई उत्कृष्ट सुरुवात दिलाए ।
तर, अविनाशले आफ्नो स्पेलमा महत्वपूर्ण विकेट लिँदा बागमतीले स्कोर बोर्डमा सोचे जस्तो योगफल तयार पार्न सकेन । ईशानले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरी २९ रन तथा सुवासले १८ बलमा तीन चौकाको सहयोगमा २१ रन जोडे । नन्दन यादवले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरी २४ रन बटुले ।
पुलिसले आर्मीलाई हरायो
त्रिवि मैदानमा भएको समूह एको खेलमा उपाधि दाबेदार त्रिभुवन आर्मीमाथि नेपाल पुलिस क्लबले चार विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको आर्मी १९.५ ओभरमा एक सय ३७ रनमा समेटियो । प्रत्युत्तरमा पुलिसले १८ ओभरमा ६ विकेटको क्षतिमा एक सय ४१ रन जोड्दै सानदार जित निकाल्यो । समूह एमा चार अंकका साथ पुलिस शीर्ष स्थानमा उक्लेको छ । आर्मीले दुई खेलमा समान एक जित र हार निकाली दुई अंक जोडेको छ ।
पुलिसको जितमा दिलीप नाथ र रसिद खानबीचको ४८ रनको साझेदारी नै जितको आधार बन्यो । दुवैले पुलिसलाई ७८–५ बाट १२६–६ को स्थितिमा राखे । दिलीपले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरी २५ रन तथा रसिदले १९ बलमा चार चौका र एक छक्का प्रहार गरी २८ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले २२ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन बनाए । यसअघि ब्याटिङ गरेको आर्मीका लागि ओपनर सोमपाल कामीले ३५ बलमा ६ चौका प्रहार गरी ४२ रन तथा कप्तान विनोद भण्डारीले ३६ बलमा समान तीन चौका र छक्का प्रहार गरी ४४ रन बनाएका थिए ।
प्रदेश २ को कठिन जित
मूलपानी मैदानमा समूह बीअन्तर्गत सम्पन्न खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई दुई विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको गण्डकीले ७ विकेट गुमाएर एक सय १६ रन बनाएको थियो । प्रदेश २ ले १८.१ ओभरमा आठ विकेट गुमाउँदै एक सय २० रन जोड्यो । प्रदेश २ को जितमा ओपनर सन्तोष कामीले २३ रन तथा कप्तान हसिम अन्सारीले २६ रनको योगदान दिए । प्रदेश २ ले अतिरिक्त २४ रन पाएको थियो । गण्डकीको ब्याटिङमा अर्जुन कुमालले ३९ बलमा ४१ रनको योगदान दिए ।