बकपत्र उल्ट्याएर थुनामुक्त हुने योजनामा विराटनगरका कुख्यात मिटर ब्याजी मन्टु

मंगलबार, २० पुष, २०७८
डिजिटल संस्करण

विराटनगरका कुख्यात मिटर ब्याजी ‘मन्टु’ भन्ने सञ्जय रौनियारले जेलभित्रैबाट सबै बादीहरूको बकपत्र उल्टाउन लगाएर  जेलमुक्त हुने तयारी गरेका छन् । घरजग्गा राजीनामा पास गराएर अनि किर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै  अकुत ब्याज असुलेर आपराधिक कार्य गरेको आरोपमा पुर्पक्षका लागि ०७६ माघमा  मोरङ कारागार चलान भएका कुख्यात मिटर ब्याजी  विराटनगर– ९ का ४२ वर्षीय   रौनियारले जेलभित्रैबाट पीडितहरूलाई दबाब र प्रलोभनमा पारेर थुनामुक्त हुने योजना बनाएका हुन् ।

१७ जना पीडितले आफूहरूलाई धाकधम्की दिएर जालझेल गर्दै चर्को मिटरब्याज असुलेर धितो राखेको सम्पत्तिसमेत हडपिएको आरोप लगाउँदै मिटरब्याजी मन्टुविरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए । मोरङ प्रहरीले ०७६ मंसिरमा मन्टुलाई पक्राउ गरेर अनुसन्धान गरी ठगी र आपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत मोरङमा अलग अलग मुद्दा दर्ता गराएको थियो । 

अदालतको  आदेशबाट पुर्पक्षका लागि जेल चलान भएका  कुख्यात मिटरब्याजी मन्टुले जेलभित्रैबाट सबै पीडितको  सम्पत्ति फिर्ता दिएर अदालतमा बकपत्र फेर्न लगाइसकेका छन् । स्रोतका अनुसार मन्टुले सम्पत्ति फिर्ता दिँदा पनि बयान फेर्न नमान्नेहरूलाई गुण्डा प्रयोग गरेर धाकधम्की पनि दिएका थिए । यसैले अदालतमा बादी पक्षका सबैले बकपत्र उल्टाइसकेको अदालत स्रोतले बतायो ।   

यसैले सबैले बकपत्रमा बयान फेरेकाले कुख्यात मिटरब्याजी मन्टुले अदालतबाट सफाइ पाएर थुनामुक्त  हुने सम्भावना बढेको छ  । वर्षौँदेखि घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाएर मनमौजी चर्को ब्याज असुलेको आरोपमा मिटरब्याजी मन्टुविरुद्ध १७ जना  पीडितले अलगअलग आपराधिक लाभ लिएर ठगी गरेको आरोपमा  किटानी जाहेरी दिएका थिए । न्यायाधीश पराजुलीको इजलासले सुनुवाइ भएका १७ वटा अलगअलग मुद्दामध्ये चारवटामा धरौटी लिएर अनि बाँकी १३ वटा मुद्दामा पुर्पक्षका लागि चेल चलान गर्न आदेश दिएको थियो  । 

अभियोगपत्रमा मिटरब्याजी मन्टु रुद्ध एक करोड ९२ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको छ ।  मन्टुले सर्वसाधारणबाट ९२ लाख कर्जाको सात करोड ७० लाख रुपैयाँ असुली गरेको पीडितहरूको जाहेरीबाट खुलेको छ । यसैगरी मिटरब्याजी मन्टु र उनकी श्रीमतीले जिल्ला मातपोत कार्यालय मोरङबाट तीसजनाभन्दा बढीबाट जग्गा आफ्नो नाममा राजीनामा नामसारी गराएको फेला परेको थियो । कुख्यात मिटरब्याजी मन्टुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी दर्ता भएको थियो । मन्टु कतिसम्म धूर्त थिए भने उनले मरिसकेका बाबुको सही किर्ते गरेर भाइलाई वञ्चित गर्दै  एकलौटी घरबहाल सम्झौता गरेर भाडा खाँदै आएका थिए । विराटनगर बुद्धचौकमा रहेको घर अस्पताललाई  भाडा लगाएर  मासिक डेढ लाख भाडा लिए पनि मन्टुले ४० हजार मात्र लिएको भनेर कर छली गरेका थिए । 

पीडितलाई सहयोग गर्नेहरू भयभीत 
दबाब र प्रलोभनमा पारेर सबैलाई बकपत्र उल्टाउन लगाएर थुनामक्त हुन लागेको हल्ला चलेपछि पीडितलाई सहयोग गर्ने सहयोगीहरू कुख्यात मिटरब्याजी मन्टुदेखि भयभीत बनेका छन । जेलमुक्त भएपछि मन्टुले बदलाको भावना राखेर सहयोगीहरूलाई दुःख दिने मात्र नभएर ज्यानसमेत लिन सक्ने जोखिम बढेको सहयोगीहरू बताउँछन् । एक सहयोगीका अनुसार मिटरब्याजी मन्टुबाट ठगीनेहरू अझै धेरै छन् । यसैले थुनामुक्त भएमा उनीहरू पनि जोखिममा पर्नेछन् । 
 

See More On

सुझावित समाचार