‘बयानिहान ऐन’ले दुतेर्तेलाई नागरिक समाजका दैनिक काम–कारबाही एवं निजी व्यापारिक गतिविधिमा समेत हस्तक्षेप गर्ने अधिकार दिएको छ
सामूहिक रूपमा गरिने कामलाई जनाउने आदिवासी फिलिपिनो चलन ‘बयानिहान’लाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफ्नो शक्ति बलियो बनाउन प्रयोग गरिरहेका छन् । इतिहास केलाउँदा बयानिहान चलनअनुसार फिलिपिनोहरू जम्मा भएर काठका घर एक ठाउँबाट अर्को ठाउँमा सार्थे । तर, अहिले यस शब्दले स्वयंसेवाको अर्थ दिन्छ । हालको विश्वव्याधिका वेला जब सामूहिक गतिविधि नै संक्रमणको मुख्य कारण बन्न पुग्यो, तब बयानिहान फिलिपिनोहरूका लागि महामारीको चुनौती सामना गर्न काम लाग्दैन, इतिहासकार ग्रेग ब्यांकफ तर्क गर्छन् । ठीकविपरीत बयानिहानले मानिसमा संक्रमण फैलाउने जोखिम बढाउँछ । र, यही शब्द प्रयोग गरेर राष्ट्रपति दुतेर्तेले कोभिड–१९ नियन्त्रणसम्बन्धी ‘बयानिहान ऐन’ ल्याएका छन् ।
ऐनले दुतेर्तेलाई दुर्लभ एवं विशेषाधिकार उपलब्ध गराएको छ । ऐनअनुसार दुतेर्तेलाई नागरिक समाजका दैनिक काम–कारबाही एवं निजी व्यापारिक गतिविधिमा हस्तक्षेप गर्ने अधिकार दिन्छ । यति मात्र नभई आफ्नो आदेश नमान्ने व्यापारिक संस्थानलाई नियन्त्रण गर्ने अधिकारसमेत दिन्छ । यस ऐनलाई दुतेर्तेले भाइरसलाई ‘हतियार’ बनाएर आफ्नो अधिनायकवादी महत्वाकांक्षा लाद्ने अवसरका रूपमा दुरुपयोग गर्न सक्ने बताइँदै छ । पछिल्ला ६ महिनादेखि हामी योर्क, फिलिपिन्स र नटिंघम विश्वविद्यालयका शोधकर्ताले राजधानी मनिलाका सहरी विपन्न समुदायमा कोभिड–१९ को प्रभावबारे अध्ययन गर्दै आएका छौँ ।
हाम्रा अन्तर्वार्तामा स्थानीय नेताले कोभिड–१९ विरुद्ध दुतेर्तेको सैन्य प्रतिक्रियालाई ‘वार अन ड्रग्स’ अर्थात् लागुऔषधविरुद्धको युद्धजस्तै जनतालाई दुःख दिने रणनीतिका रूपमा लिएका छन् । स्मरण रहोस्, लागुऔषधविरुद्धको युद्धमा लागुऔषध प्रयोग गर्नेहरूलाई समाज एवं राज्यको खतराका रूपमा प्रस्तुत गर्ने अतिरञ्जनात्मक भाष्य प्रयोग गरिएको थियो ।
दुतेर्तेको ध्यान कोभिड–१९ नियन्त्रणका क्रममा तथाकथित ‘पासावे’ अर्थात् ‘अनुशासनहीन’ नागरिकको अपराधीकरण एवं बेइज्जती गर्ने भाष्य फैलाउनमा केन्द्रित छन् । पेन्डाककुई बस्तीमा लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायका तीन व्यक्तिसँग गरिएको व्यवहारलाई यस प्रकारको निरंकुश कानुन लागू गर्दाका खतराका रूपमा लिन सकिन्छ । यी तीन व्यक्तिलाई गाउँका अधिकारीले कफ्र्यु मिचेको र अवैधानिक यौनसम्बन्ध राख्न खोजेको आरोपमा गिरफ्तार गरेका थिए र यिनलाई फेसबुक लाइभमा एक–अर्कालाई चुम्बन गर्न, नाच्न र पुसअप गर्न बाध्य बनाएर सजाय दिइएको थियो ।
दुतेर्तेको कोभिड–१९ विरुद्धको प्रतिक्रियालाई ‘युद्ध’का रूपमा प्रस्तुत गरिएको छ, जहाँ शत्रु तथाकथित ‘पासावे’हरू छन् । मुलुकमा कोभिड–१९ का कारण प्रतिबन्ध लगाइएको समयमा एक टेलिभिजन सम्बोधनमा दुतेर्तेले क्वारेन्टिन उल्लंघन गर्नेलाई प्रहरीले गोली हानेर मार्नेछ भन्ने चेतावनी दिएका थिए । सैन्यकृत प्रतिक्रिया र क्रूर भाष्यले सहरी विपन्न समुदायमा गहिरो प्रभाव पारेको छ । दुतेर्ते सरकारले बयानिहान शब्दकै अर्थ फेरिदिएको छ, ब्यांकफको भाषामा बयानिहान शब्द अब ‘राज्य प्रायोजित’ संयन्त्र बनेको छ । स्थानीय समुदायका लागि ठूलो महत्व रहेको यस शब्दको मौलिक सार नै हराएको छ र राजनीतिक उद्देश्य पूरा गर्ने संयन्त्र बन्न पुगेको छ । सरकारको कोभिड–१९ प्रतिक्रियाको सैन्यकरणले नागरिकलाई बयानिहानको सारविरुद्ध जान प्रोत्साहित गरेको छ । एकअर्कालाई सहयोग गर्न एक ठाउँमा आउनुको सट्टा समुदायलाई तथाकथित ‘पासावे’हरूलाई भाइरस फैलाउनबाट रोक्नका लागि उजुरी गर्न प्रोत्साहित गरिएको थियो । कोभिड–१९ नियन्त्रण गर्न बनाइएको ऐनलाई बयानिहान नाम दिनु बयानिहान शब्दकै अपमान हो ।
हाम्रो अनुसन्धानले सरकारको अत्याचारी राजनीतिक नीतिकोे साटो समुदायका सदस्यले जीविकोपार्जन, खाद्य सुरक्षा र उचित स्वास्थ्य सेवा चाहन्छन् भन्ने देखाएको छ । दैनिक ज्यालामा निर्भर अनौपचारिक क्षेत्रमा सहरी विपन्न श्रमिकको संख्या अत्यधिक छ । मनिलाका मेयर फ्रान्सिस्को मोरेनो डोमागोसो (इस्को मोरेनो) सँगको अन्तर्वार्तामा जिप, रिक्सालगायत यातायात श्रमिक लकडाउनबाट सबैभन्दा बढी प्रभावित भएको बताएका थिए । राज्यको सख्त रबैयाको सामना गर्न सामुदायिक भण्डारा आन्दोलन, तदर्थ खाद्य बैंकलगायत आगन्तुकको सहयोगमा आधारित प्रयास नभएका होइनन्, तर यी सबै प्रयास अस्थायी हुन् भन्नेमा सबै जानकार थिए ।
अधिकांश परिवारमा सीमित बचत थियो, जुन महामारीका क्रममा धेरै टिकेन अर्थात् खाद्य सुरक्षा एक प्रमुख चिन्ताको विषय बन्न पुग्यो । सरकारी राहत प्याकेज पाउन पनि बासिन्दाहरू आधिकारिक सरकारी सूचीको हिस्सा हुनुपर्ने प्रावधान थियो । हामीलाई अन्तर्वार्ता दिनेहरूका अनुसार बरांगे (एक गाउँ) का नेतासँग ‘मित्रतापूर्ण’ सम्बन्ध नभएकाहरू सूचीमा नपर्ने जोखिममा थिए । राहत वितरणमा संलग्न रहेका उपराष्ट्रपति लेनी रोब्रेडेको सचिवालयका एक अधिकारीका अनुसार रोब्रेडोसँग राजनीतिक रूपमा नजिक नभएका क्षेत्रहरूमा सरकारी सहयोग मिसन पुर्याउन बन्द गरिएको थियो । महामारीको समयमा नियमित स्वास्थ्य सेवामा पनि जनताको पहुँच निकै कम थियो, अर्थात् नियमित स्वास्थ्य जाँच रद्द गरिएका थिए र स्थानीय स्वास्थ्य क्लिनिक पनि खोल्न दिइएको थिएन । अस्पताल र सामुदायिक सुडेनीलाई कोभिड–१९ नियन्त्रणमा खटाइएको हुनाले मातृस्वास्थ्यको हेरचाह पनि सीमित हुन पुगेको थियो । थुप्रै सहरी विपन्नलाई स्वास्थ्योपचारमा उपस्थित हुनै अप्ठ्यारो थियो किनभने अधिकांश विपन्न सार्वजनिक यातायातमा निर्भर थिए, जुन सञ्चालनमा थिएन । केही परिस्थितिमा समयमा स्वास्थ्य सेवाको उपलब्धता नहुनाले गर्भ तुहिने र मृत्युका घटनासमेत भए ।
समुदायलाई रोजगारी, खाना र स्वास्थ्य सेवाको आवश्यकता रहेको छ, न कि राजनीतिक हतकण्डाहरू, जसले बयानिहानको मर्मलाई बिगार्छ वा ‘पासावे’का झुटा भाष्यलाई मलजल गर्छ । द कन्भर्सेसनबाट