- तुलनात्मक रूपमा पहाडमा बलियो संगठनात्मक शक्ति रहेकाले एमालेले शक्ति सुदृढीकरण गर्दै चुनावी तयारीको केन्द्रबिन्दु तराई, अझ प्रदेश २ लाई बनाएको प्रस्ट देखिएको छ । प्रतिस्पर्धी दलहरू पार्टीको आन्तरिक काम, सरकार र संसद्तिरै अल्झिएका वेला एमालेले भने प्रदेश २ मा शक्ति सुदृढीकरणलाई प्रतिष्ठाको विषय बनाएको छ ।
- समाजवादीका नेताहरूले प्रदेश २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, रौतहट र बाराका एमालेको जिल्ला कमिटी अध्यक्षहरू आफ्नो समूहमा रहेकाले पनि एमालेको भन्दा संगठन बलियो रहेको दाबी गर्दै आएका छन् । विवादास्पद छविका व्यक्तिहरू एमालेमा जोडिँदैमा समाजवादीको अवस्था कमजोर नहुने उनीहरूको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओलीले ठूलो कार्यक्रमबीच गत ८ गते पर्साको जगरनाथपुरमा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित जालिम मियाँलाई पार्टीमा प्रवेश गराए । उनीसहित माओवादी, कांग्रेससहित अरू दलबाट समेत सयौँ नेता–कार्यकर्ता एमालेमा समाहित भए ।
कपिलवस्तुको बहादुरगन्जमा बृहत् जनसभा राखेर जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित सयौँलाई पार्टी प्रवेश गराएको दुई दिनमै प्रदेश २ को त्यस्तै कार्यक्रममा ओलीको उपस्थितिले कम्तीमा दुईवटा सन्देश दिएको छ ।
पहिलो, पार्टी विभाजनका कारण क्षयीकरण भएको शक्ति छिटै पार्टी प्रवेश अभियानसँगै चुनावी तयारी गरेर एमालेले पूर्ति गर्न खोजेको छ । त्यो क्षतिपूर्ति विभिन्न पार्टीसँगको एकीकरणबाट भन्दा पनि प्रभावशाली असन्तुष्ट व्यक्तिलाई व्यक्तिगत र समूहगत रूपमा भित्र्याएर गर्ने रणनीति देखिएको छ ।
एमालेले अन्तर्पार्टी निर्देशन नै जारी गरेर सबै जिल्ला र प्रदेशलाई पार्टी प्रवेशलाई राजनीतिक जागरणको अभियानका रूपमा बढाउने गरी व्यवस्थित कार्ययोजना बनाउन नै निर्देशन दिएको थियो । उनीहरूलाई प्रवेश गराउने रणनीतिदेखि दिइने जिम्मेवारीसहितका विषय पनि सर्कुलरमा समेटिएको छ ।
दोस्रो, तुलनात्मक रूपमा पहाडमा बलियो संगठनात्मक शक्ति रहेकाले एमालेले शक्ति सुदृढीकरण गर्दै चुनावी तयारीको केन्द्रबिन्दु तराई, अझ प्रदेश २ लाई बनाएको प्रस्ट देखिएको छ । सत्तागठबन्धनमा रहेका प्रतिस्पर्धी दलहरू पार्टीको आन्तरिक काम, सरकार र संसद्तिरै अल्झिएका वेला एमालेले भने प्रदेश २ मा पार्टीको शक्ति सुदृढीकरणलाई प्रतिष्ठाको विषय बनाएको छ ।
एमाले सचिव रघुवीर महासेठले पनि अबको निर्वाचनमा प्रदेश २ लाई पार्टीले प्रतिष्ठानकै विषय बनाएको संकेत गरे । अहिलेको सत्तारुढ गठबन्धन धेरै दिन टिक्ने अवस्थामा नरहेकाले एमालेले प्रदेश २ का जनतालाई बिहीबारको पार्टी प्रवेश कार्यक्रममार्फत कुनै पनि वेला चुनाव घोषणा हुन सक्ने भएकाले एमालेलाई जिताउने गरी तयारी अवस्थामा बस्न सन्देश दिएको उनले बताए ।
एमालेले अन्तरपार्टी निर्देशन नै जारी गरेर सबै जिल्ला र प्रदेशलाई पार्टी प्रवेशलाई राजनीतिक जागरणको अभियानका रूपमा बढाउने गरी व्यवस्थित कार्ययोजना बनाउन नै निर्देशन दिएको थियो
‘हाम्रो प्रदेशमा चोइटिएर गएकाहरूको कुनै प्रभाव छैन, केवल संख्या गणना गरेकै आधारमा एमालेलाई कमजोर भयो भन्नै मिल्दैन, अबको चुनावमा हामी बलियो शक्तिका रूपमा आउँछौँ,’ महासेठले भने, ‘हामीले जगन्नाथपुरको पार्टी प्रवेश कार्यक्रमबाट जनतालाई चुनावका लागि तयार बस्नुहोस्, यो गठबन्धन अब धेरै दिन टिक्दैन, कुनै पनि वेला चुनाव घोषणा हुन सक्ने भएकाले अहिल्यैदेखि तयारी भएर बस्नका लागि सन्देश दिएका छौँ ।’ उनले जगन्नाथपुरको कार्यक्रमले प्रदेश २ मा चोइटिएर जानेले कुनै प्रभाव जमाउन नसक्ने प्रस्ट सन्देश दिएकोसमेत बताए ।
पार्टी विभाजनपछि अरू प्रदेशका तुलनामा एमालेले प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा बढी क्षति व्यहोरेको छ । प्रदेशका २१ मध्ये १३ सांसद एकीकृत समाजवादीमा लागेका छन् भने आठजना मात्रै एमालेमा छन् । त्यस्तै, संघका सांसदमध्ये प्रत्यक्षतर्फ निर्वाचित लीला श्रेष्ठ र रघुवीर महासेठ एमालेमै बसेका छन् । तर, समानुपातिकतर्फ निर्वाचित चार सांसद भने समाजवादीतिर लागेका छन् । आठवटा स्थानीय तहका तीन सय १६ जना जनप्रतिनिधि पनि नेकपा एसतिर लागेका छन् । प्रदेश सभाको अंकगणितमा एमालेभन्दा बलियो देखिएकाले मात्र होइन, एसका अध्यक्ष माधवकुमार नेपाल स्वयं रौतहटबाट प्रतिनिधित्व गर्ने भएकाले पनि प्रदेश २ समाजवादीलाई प्रतिष्ठाको विषय छ ।
उता, अध्यक्ष नेपालको प्रदेश भएकाले मात्र होइन, विभाजनमा अन्य प्रदेशको तुलनामा बढी क्षति व्यहोर्नुपरेका कारण पनि एमाले अध्यक्ष ओलीले अहिल्यैदेखि प्रदेश २ को चुनावी तयारीलाई प्राथमिकतामा राखेका छन् । ओलीका विश्वासपात्र युवा नेता महेश बस्नेत प्रदेश २ मा बाक्लो सम्पर्कमा छन् भने पूर्वमाओवादी समूहबाट एमालेमै रहेका प्रभु साहलाई ओलीले राम्रो स्थान दिएका छन् । स्थायी समिति सदस्य साहका विश्वासपात्र चारजना एमाले केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने उनीनिकट जालिम शुक्रबार एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले जालिमजस्ता विवादास्पद छविका व्यक्तिहरू एमालेमा जोडिँदैमा समाजवादीको अवस्था कमजोर नहुने दाबी गरे । उनले आउने निर्वाचनमा प्रदेश २ मा एकीकृत समाजवादीले अहिलेभन्दा बढी सिट जित्नेसमेत बताए ।
‘विवादास्पद छविका मान्छेले त एमालेमा ठाउँ पाउँछन् नै, त्यसले खास प्रभाव पार्दैन, जात–वर्गअनुसार विवादास्पद व्यक्तिहरू त्यो पार्टीमा जोडिँदै छन्, यसले एमाले तस्कर र माफियाको पार्टी हो भन्ने चिनिँदै छ,’ साहले नयाँ पत्रिकासँग भने, ‘हामीले अबको निर्वाचनमा यसअघि एमालेले जति सिट जितेको थियो, त्यसभन्दा बढी त एकल शक्तिबाटै ५–६ सिट जित्ने स्थितिमा छौँ, गठबन्धन भयो भने त अझ राम्रो उपस्थिति हुनेछ ।’
समाजवादीका नेताहरूले आठ जिल्लामा पुराना जिल्ला कमिटीका पाँच जिल्ला अध्यक्षहरू सप्तरीका गोविन्द न्यौपाने, सिराहाका प्रमोद यादव, महोत्तरीका सुखीलाल यादव, रौतहटका कमल राय र बाराका सुन्दर विश्वकर्मा आफ्नो समूहमा रहेकाले पनि एमालेको भन्दा संगठन बलियो रहेको दाबी गर्दै आएको छ । समाजवादीमा प्रदेश २ बाट अध्यक्ष नेपाल, उपाध्यक्ष धर्मनाथप्रसाद साह, सचिव नागेन्द्र चौधरीसहित ५० जना केन्द्रीय सदस्य प्रतिनिधित्व गर्छन् । एमालेबाट सचिवमा रघुवीर महासेठ र स्थायी समिति सदस्य प्रभु साहसहित ३८ जना केन्द्रीय सदस्य छन् ।
नेकपा एसले पनि प्रदेश २ को पार्टी कामलाई प्राथमिकतामा राखेको छ । गत ७ गते धनुषामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले ८ गते सिराहामा पार्टी कार्यालय उद्घाटन गरेका थिए । नेकपा एकीकृत समाजवादीले शुक्रबार एक सय ७५ सदस्यीय प्रदेश कमिटीको शपथग्रहण जनकपुरमा गराउँदै छ । त्यसलगत्तै नेपालको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम चलाउने योजना रहेको स्थायी समिति सदस्य साहले बताए ।
सांसदहरू को–कता ?
एमालेबाट चुनाव जितेका प्रदेश सभा सदस्यमध्ये सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेनदेवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद भने एमालेमै छन् ।
तर, अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातुन भने नेकपा एकीकृत समाजवादीतिर लागेका छन् ।