मतभेदहरूकै बीचबाट दलहरू एक हुन आवश्यक छ : जनमोर्चा उपाध्यक्ष पौडेल

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक दलहरूका बीचमा मतभेद रहे पनि त्यही मतभेदको बीचबाट दलहरू एक हुनुपर्ने बताएकी छिन्। काठमाडौंमा आजदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले यस्तो बताएकी हुन्। 

अहिले लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षतामाथि भइरहेको चौतर्फी हमलालाई परास्त गर्नका निम्ति दलहरूबीचको राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै उनले भनन्, ‘राजनीतिक दलहरूको बीचमा थुप्रै मतभेदहरू छन्। तर, मतभेद हुँदाहुँदै पनि आजको राष्ट्रिय आवश्यकता भनेको त्यो मतभेदको बीचबाट पनि उच्च र दृढ प्रकारको एकताको आवश्यकता छ। यो आन्दोलनलाई सफल बनाउनको निम्ति।’

प्रतिगमनको विरुद्धमा पाँचदलीय गठबन्धनले निर्णायक भूमिका खेलेको उनको भनाइ थियो। माओवादी केन्द्र गठबन्धनको महत्वपूर्ण घटक भएको र यस गठबन्धनलाई अगाडि लैजानुपर्ने आजको आवश्यकता रहेको पनि उनले बताइन्। 

राजनीतिक दलहरू एक नभएर देश प्रतिगमनतर्फ गयो भने इतिहासले माफी नगर्ने उनको भनाइ थियो। 

सुझावित समाचार